
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा छुटेका योग्य नेताहरूलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाउने बताएका छन्। उनले पार्टीको कार्यशैली, संगठन सञ्चालन र सोच्ने तरिकामै परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै आफू नियमित प्रशासनिक कामबाट अलग रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवादमा जुट्ने योजना सार्वजनिक गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आन्तरिक निर्वाचनलाई जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने प्रक्रियाका रूपमा बुझ्न नहुने बताए। प्रतिस्पर्धामा सहभागी नभएका वा निर्वाचित हुन नसकेका सक्षम नेताहरूलाई पनि जिम्मेवारी दिएर पार्टीको हितमा परिचालन गरिने उनको भनाइ छ।
थापाले केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै छुटेका नेताहरूलाई समेटेर सामूहिक नेतृत्व र सहकार्यको अभ्यास अघि बढाउने प्रतिबद्धता जनाए। पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिने प्रक्रिया पनि छिट्टै अघि बढाइने उनले बताए।
सभापति थापाले कांग्रेसलाई समसामयिक राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको समाधान दिन सक्ने पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। विगतका नेताहरूको योगदानबाट प्रेरणा लिनुपर्ने भए पनि वर्तमान समाजका आवश्यकता र नागरिकका अपेक्षालाई सम्बोधन गर्ने नयाँ दृष्टिकोण आवश्यक रहेको उनको भनाइ छ।
उनले बीपी कोइराला र गणेशमान सिंहको राजनीतिक योगदान महत्त्वपूर्ण भए पनि आजको समाजका प्रश्न समाधान गर्न वर्तमान पुस्ताले आफ्नै समयका चुनौतीअनुसार नीति र कार्यक्रम निर्माण गर्नुपर्ने बताए। रोजगारी, वैदेशिक पलायन, आर्थिक विकास, सुशासन, सामाजिक विभेद र वातावरण संरक्षणजस्ता विषयलाई कांग्रेसले प्राथमिकतामा राख्नुपर्ने उनले उल्लेख गरे।
थापाले ‘समुन्नति’ को अवधारणालाई पार्टीको राजनीतिक उद्देश्यसँग जोड्दै लोकतन्त्र, नागरिक अधिकार, आर्थिक विकास, सुशासन र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताए। सामाजिक सञ्जालमा केन्द्रित भएर मात्रै राजनीतिक उद्देश्य पूरा नहुने उल्लेख गर्दै उनले गम्भीर छलफल, बहस र चिन्तनमार्फत नागरिकका समस्याको समाधान खोज्नुपर्ने धारणा राखे।
पार्टीको नियमित प्रशासनिक तथा दैनिक कामको जिम्मेवारी वरिष्ठ उपसभापति र महामन्त्रीहरूलाई दिएर आफू देशभरका नागरिकसँग प्रत्यक्ष संवादमा जुट्ने थापाको योजना छ। पार्टीका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणका कुरा सुन्ने, उनीहरूका समस्या बुझ्ने र समाधानका उपाय खोज्ने उद्देश्यले देशभर पुग्ने उनले बताए।
कांग्रेसलाई नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सक्ने संगठनका रूपमा स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाइ छ। त्यसका लागि पार्टीको संरचनामा मात्र नभई काम गर्ने शैली र राजनीतिक सोचमा समेत सुधार आवश्यक रहेको उनले औँल्याए।
थापाले कांग्रेस कुनै व्यक्ति विशेषको निजी सम्पत्ति नभई लाखौँ नागरिकको साझा संस्था भएको उल्लेख गर्दै पार्टीभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने बताए। नेता तथा कार्यकर्ताको व्यक्तिगत आचरण र आर्थिक पारदर्शिताको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उनको धारणा छ।
कुनै व्यक्तिले गरेको गलत कामको दोष सिंगो पार्टीले बोक्न नहुने र त्यस्ता गतिविधिको बचाउसमेत गर्न नहुने उनले स्पष्ट पारे। नेतृत्वलाई समर्थन गर्नुको अर्थ व्यक्तिका गलत कामको संरक्षण गर्नु नभई पार्टी र जनताका पक्षमा गरिएका सकारात्मक कामलाई बलियो बनाउनु भएको उनको भनाइ छ।
पार्टीभित्र देखिएका विकृति हटाउन सानै तहबाट सुधारको प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिँदै थापाले कांग्रेसलाई स्वच्छ, जिम्मेवार र जनउत्तरदायी राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने बताए।
उनले सञ्चारमाध्यमलाई पनि कुनै व्यक्तिको व्यक्तिगत कमजोरीका आधारमा सिंगो पार्टीलाई दोषी ठहर नगर्न आग्रह गरे। व्यक्तिको गलत आचरणको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने र पार्टीले त्यस्ता कार्यको बचाउ गर्नुको सट्टा सुधारका लागि पहल गर्नुपर्ने उनको तर्क छ।
पार्टीभित्रको आन्तरिक एकता, सक्षम नेतृत्वको सहभागिता र संगठनात्मक सुधारलाई प्राथमिकतामा राख्दै कांग्रेसलाई बदलिँदो समाजका अपेक्षाअनुसार अघि बढाउने थापाको भनाइ छ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...
ललितपुर : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख समेत रहनुभएका चिरीबाबु महर्जन सर्वाधिक मत प्राप्त गर्दै...
काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक...