
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधिको विकास र उद्योगका रूपमा विस्तार भइरहेको अवस्थालाई सम्बोधन गर्न चलचित्र विधेयक ल्याइएको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रका वर्तमान आवश्यकता र विकसित प्रविधिअनुसार कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
उनले चलचित्र क्षेत्रको स्वरूप र कार्यशैलीमा व्यापक परिवर्तन आइसकेकाले पुराना कानुनी व्यवस्थाले अहिलेका आवश्यकता सम्बोधन गर्न नसक्ने बताए । विधेयकले चलचित्र क्षेत्रका नयाँ अभ्यास, प्रविधि र सम्भावनालाई समेट्ने प्रयास गरेको उनको भनाइ छ ।
मन्त्री तिमिल्सिनाका अनुसार चलचित्रलाई विगतमा मनोरञ्जनको माध्यमका रूपमा मात्र हेरिने गरे पनि पछिल्लो समय यो आर्थिक गतिविधि र रोजगारी सिर्जनासँग जोडिएको उद्योगका रूपमा विकसित हुँदै गएको छ ।
‘चलचित्रमा नयाँ प्रविधि आएका छन् । चलचित्र के हो भन्ने बुझाइ नै परिवर्तन भएको छ । चलचित्र मनोरञ्जनको साधन मात्र नभई उद्योगका रूपमा विकास हुन थालेको छ । यसले योगदान गर्ने क्षेत्रको दायरा पनि बढेको छ,’ उनले भने ।
उनले चलचित्र क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउने उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । यसका लागि नीतिगत तथा कानुनी सुधारसँगै लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा समेत पुनर्विचार गर्नुपर्ने धारणा राखे । प्रविधि हस्तान्तरण, पुँजी परिचालन र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारका सम्भावनालाई ध्यानमा राखेर चलचित्र क्षेत्रको विकाससम्बन्धी नीति अघि बढाउनुपर्ने उनको जोड थियो ।
चलचित्र विधेयकमार्फत क्षेत्रको बदलिँदो आवश्यकता सम्बोधन गर्दै नेपाली चलचित्र उद्योगलाई थप व्यवस्थित, प्रतिस्पर्धी र व्यावसायिक बनाउने सरकारको प्रयास रहेको उनले बताए ।
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने बताएका छन्...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारलाई पाँच वर्षसम्म निर्वाध रूपमा काम गर्ने वातावरण दिनुपर्ने बताएका छन् ।...
काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ...