सरकारदेखि आफ्नै पार्टीसम्म कांग्रेस सभापति गगन थापाको कडा सन्देश – Naya Bikalpa
November 24, 2026, Tuesday      Epaper

सरकारदेखि आफ्नै पार्टीसम्म कांग्रेस सभापति गगन थापाको कडा सन्देश

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारलाई पाँच वर्षसम्म निर्वाध रूपमा काम गर्ने वातावरण दिनुपर्ने बताएका छन् । तर, सरकारका कामकारबाहीप्रति प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर निगरानी राख्ने, प्रश्न उठाउने र आवश्यक परे प्रतिरोधसमेत गर्ने उनको भनाइ छ ।

मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारलाई काम गर्न दिने र सरकारका गलत कदमविरुद्ध खबरदारी गर्ने दुवै जिम्मेवारी प्रतिपक्षको भएको बताए । कांग्रेस तत्काल अन्य प्रतिपक्षी दलसँग गठबन्धन गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले सरकारसँग सहकार्य गर्नुपर्ने विषयमा सहकार्य र विरोध गर्नुपर्ने विषयमा विरोध गर्ने नीति पार्टीले लिने बताए ।

‘हामी प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छौँ । जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ, त्यहाँ हातेमालो गर्छौं । जहाँ खबरदारी गर्नुपर्ने हो, त्यहाँ खबरदारी गर्छौं । जहाँ प्रश्न सोध्नुपर्ने हो, त्यहाँ प्रश्न सोध्छौँ,’ थापाले भने, ‘जहाँ प्रतिरोध गर्नुपर्ने हो, त्यहाँ प्रतिरोध पनि गर्छौं ।’

उनले सरकारको जिम्मेवारी जति महत्त्वपूर्ण छ, प्रतिपक्षको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण हुने बताए । सरकारलाई असफल बनाउने उद्देश्यले नभई राज्य सञ्चालनलाई सही दिशामा अघि बढाउन कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

लोकतान्त्रिक व्यवस्था सुधार्नुपर्छ, नयाँ व्यवस्था खोज्ने होइन

सभापति थापाले मुलुकको राजनीतिक व्यवस्था परिवर्तनभन्दा पनि विद्यमान लोकतान्त्रिक व्यवस्थालाई सुधार गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

२०६२ देखि २०७२ सालसम्म मुलुक समग्रमा सकारात्मक दिशामा अघि बढेको उल्लेख गर्दै उनले २०७२ पछि राज्य सञ्चालनमा क्रमशः विचलन देखिँदै गएको बताए । राज्यका संस्थाहरूको कार्यशैली, राजनीतिक नेतृत्वको व्यवहार र शासन सञ्चालनमा देखिएको कमजोरीले नागरिकमा असन्तुष्टि बढ्दै जाँदा २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अवस्था सिर्जना भएको उनको विश्लेषण छ ।

थापाले लोकतान्त्रिक व्यवस्था पूर्ण रूपमा प्रभावकारी हुन नसकेको स्वीकार गर्दै त्यसको विकल्पमा अर्को व्यवस्था खोज्नुभन्दा यसैलाई सुधार गर्नुपर्नेमा जोड दिए ।

‘लोकतान्त्रिक व्यवस्था छ पनि, छैन पनि भन्ने अवस्था देखिएको छ । त्यसैले नयाँ व्यवस्था खोज्ने होइन, यही व्यवस्थालाई सुधारेर अघि बढ्नुपर्छ,’ उनको भनाइ थियो ।

कांग्रेस राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै उनले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने जिम्मेवारी पार्टीले लिनुपर्ने बताए ।

जेनजी आन्दोलनका दुवै दिनका घटनाको छानबिन हुनुपर्छ

थापाले २०८२ भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । भदौ २३ गते राज्यबाट भएको दमन र भदौ २४ गते भएका आपराधिक घटनालाई अलग-अलग रूपमा हेरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको धारणा छ ।

आन्दोलनका क्रममा राज्यको बल प्रयोगबाट भएका घटनाको जवाफदेहिता खोजिनुपर्ने र त्यसपछिका दिनमा भएका हिंसा, तोडफोड तथा अन्य आपराधिक गतिविधिको पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने उनले बताए ।

राजनीतिक आस्था, निकटता वा पहुँचका आधारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने उनको भनाइ थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजिक भएको वा प्रधानमन्त्रीसँग सम्बन्धित व्यक्ति भएकै आधारमा राज्यले कसैलाई छुट दिन नमिल्ने उनले स्पष्ट पारे ।

राज्य नातावाद र कृपावादबाट चल्न नसक्ने भन्दै थापाले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धिबारे जानकारी दिन माग

सभापति थापाले प्रधानमन्त्री वालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका उपलब्धिबारे सरकारले औपचारिक जानकारी गराउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे कांग्रेसले हतारमा टिप्पणी नगर्ने स्पष्ट पार्दै उनले भ्रमणका क्रममा दीर्घकालीन महत्त्वका विषयमा ठोस उपलब्धि हासिल भएको नदेखिएको प्रारम्भिक धारणा व्यक्त गरे ।

‘प्रधानमन्त्रीले भारत भ्रमणको उपलब्धिबारे जानकारी गराउनुपर्छ । हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौँ, तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन,’ थापाले भने ।

दुई देशबीचको सम्बन्ध र राष्ट्रिय हितसँग जोडिएका विषयमा प्रधानमन्त्रीको भ्रमण महत्त्वपूर्ण हुने भएकाले त्यसको उपलब्धि सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यादेशबाट मात्रै मुलुक चलाउन पाइन्छ ?

थापाले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन् ।

संसद् र लोकतान्त्रिक प्रक्रियालाई प्रभावकारी बनाउनुको सट्टा अध्यादेशबाटै मुलुक सञ्चालन गर्न खोज्नु उचित नहुने उनको तर्क छ । लोकतान्त्रिक शासन व्यवस्थामा संसद्को भूमिका महत्त्वपूर्ण हुने भएकाले सरकारले कानुन निर्माणका नियमित प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

सरकारले गरेका निर्णय र नीतिगत कामकारबाहीमा पारदर्शिता तथा जवाफदेहिता हुनुपर्नेमा जोड दिँदै उनले अध्यादेशको प्रयोगबारे पनि कांग्रेसले प्रश्न उठाउने बताए ।

सभापति थापाले सरकारसँग निकट सम्बन्ध भएका व्यक्तिहरूलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिन नहुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी वा प्रधानमन्त्रीसँग निकट रहेकै आधारमा कसैले राज्यबाट विशेष सुविधा पाउन नहुने उनको भनाइ थियो । राज्यका निकायले राजनीतिक दबाब वा व्यक्तिगत सम्बन्धका आधारमा निर्णय गर्न नहुने उनले बताए ।

कानुन उल्लंघन गर्ने जोसुकैलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै उनले आफूले बोल्न नछाड्ने पनि स्पष्ट पारे ।

‘सरकारले पक्राउ गर्ने हो भने खाली हात जान्न । समाउँछ भनेर बोल्न छाडिँदैन,’ उनको भनाइ थियो ।

सरकारको आलोचना गर्नु र प्रश्न उठाउनु प्रतिपक्षको लोकतान्त्रिक अधिकार भएको भन्दै उनले दबाब वा कारबाहीको डरले कांग्रेस आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताए ।

प्रतिपक्षको जिम्मेवारी पूरा गर्न जनतामाझ पुगेको दाबी

थापाले कांग्रेसले प्रतिपक्षको भूमिका केवल संसद् र राजनीतिक मञ्चमा सीमित नराखी नागरिकका समस्यासँग प्रत्यक्ष जोड्ने प्रयास गरिरहेको बताए ।

सरकारका कामकारबाहीको निगरानी गर्न र जनताका समस्या बुझ्न कांग्रेसका नेताहरू पटक-पटक भोटेकोसीदेखि धादिङसम्म पुगेको उनले उल्लेख गरे ।

प्रतिपक्षले जनताका समस्या उठाउने, सरकारलाई जवाफदेही बनाउने र आवश्यक विषयमा दबाब सिर्जना गर्ने काम गर्नुपर्ने उनको भनाइ थियो ।

पार्टीको महाधिवेशनका क्रममा पनि सरकारलाई खबरदारी गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको उनले बताए ।

महँगीले नागरिकको भान्सा महँगियो, स्वास्थ्य बीमा बेहाल

थापाले पछिल्लो तीन–चार महिनायता नागरिकको भान्सामा पर्ने आर्थिक भार झन् बढेको बताएका छन् ।

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको जीवनयापन कठिन बनाएको उल्लेख गर्दै उनले महँगी नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताए ।

कांग्रेसले विगतमा निकै प्रयास गरेर सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो ।

‘हामीले निकै जोडबल गरेर, दुःखले स्वास्थ्य बीमा सुरु गर्‍यौँ । तर आज बेहाल बनाइएको छ, लथालिंग बनाइयो भनेर सोध्ने र खोज्ने जिम्मेवारी हाम्रो हो,’ उनले भने ।

स्वास्थ्य बीमाजस्तो नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउनु सरकारको दायित्व भएको उनले बताए ।

सुकुम्बासीको अवस्था नाजुक, समाधानमा सरकार गम्भीर हुनुपर्ने

सभापति थापाले सुकुम्बासी तथा भूमिहीन नागरिकको अवस्था नाजुक रहेको भन्दै उनीहरूको समस्या समाधानमा सरकारले गम्भीरता देखाउनुपर्ने बताएका छन् ।

भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्या केवल प्रशासनिक विषय नभई नागरिकको आवास, जीविकोपार्जन र सामाजिक सुरक्षासँग जोडिएको विषय भएको उनको भनाइ थियो ।

सरकारले समस्या समाधान गर्दा नागरिकको मानवीय पक्षलाई समेत ध्यान दिनुपर्ने र वास्तविक सुकुम्बासीलाई अन्यायमा पार्न नहुने उनको धारणा छ ।

कोप सम्मेलनमा नेपालले के पायो ?

थापाले जलवायु परिवर्तनका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाउँदै आएका मुद्दा र त्यसबाट प्राप्त उपलब्धिबारे पनि प्रश्न गरेका छन् ।

जलवायु परिवर्तनको असरबाट नेपाल उच्च जोखिममा रहे पनि अन्तर्राष्ट्रिय जलवायु सम्मेलनबाट देशले के उपलब्धि हासिल गर्‍यो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

विशेषगरी जलवायु वित्त, क्षतिपूर्ति, अनुकूलन र हिमाली क्षेत्रको संरक्षणका विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग उठाएका मुद्दाले व्यवहारमा कस्तो परिणाम दिए भन्नेबारे सरकारले जानकारी गराउनुपर्ने उनले बताए ।

सबै राजनीतिक दलसँग संवाद आवश्यक

सभापति थापाले राष्ट्रिय महत्त्वका विषयमा प्रमुख राजनीतिक दलका नेताहरूसँग संवाद र परामर्श गर्नु स्वाभाविक राजनीतिक प्रक्रिया भएको बताएका छन् ।

पार्टी सभापति भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँचपटक भेट गरिसकेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार अन्य दलका नेताहरूसँग पनि छलफल हुने बताए ।

‘कांग्रेसको सभापति भएपछि केपी ओलीलाई पाँचपटक भेटिसकेँ । सभापति हुँदा एमाले, माओवादी, रास्वपा सभापतिसँग पनि भेट हुन्छ । यो स्वाभाविक प्रक्रिया हो,’ उनले भने ।

मधेश प्रदेश सरकारको विषयमा पनि केपी शर्मा ओली, उपेन्द्र यादव र पुष्पकमल दाहालसँग छलफल हुनु स्वाभाविक भएको उनको भनाइ थियो ।

राष्ट्रिय राजनीतिमा देखिने जटिलता समाधान गर्न प्रमुख दलका नेताहरूबीच संवाद आवश्यक हुने उनले बताए ।

देउवालाई राजनीतिक कदअनुसार अभिव्यक्ति दिन आग्रह

सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक उचाइ र मर्यादाअनुसार अभिव्यक्ति दिन आग्रह गरेका छन् ।

देउवा पार्टीका वरिष्ठ नेता तथा अभिभावक भएको उल्लेख गर्दै उनले राजनीतिक विषयमा असहमति राख्न पाइने भए पनि त्यसलाई मर्यादित र जिम्मेवार ढंगले व्यक्त गर्नुपर्ने बताए ।

विशेष परिस्थितिमा पार्टी विधानअनुसार विशेष महाधिवेशन गरिएको दाबी गर्दै उनले त्यसबारे असहमति राख्ने नेताहरूले पनि राजनीतिक मर्यादा कायम गर्नुपर्ने धारणा व्यक्त गरे ।

जेनजी आन्दोलनका क्रममा देउवाको घर गगन थापाले जलाएको हो भनेर सोध्दा देउवाले टाउको हल्लाएर सहमति जनाएको दृश्य आफूले एउटा भिडियोमा देखेको प्रसंग पनि उनले सुनाए ।

‘त्यो उमेर र कदको नेताको बोली राजनीतिक हुनुपर्छ । असहमति पनि राजनीतिक हुनुपर्छ । सीमा र मर्यादाभित्र हुनुपर्छ,’ थापाले भने ।

देउवाप्रति आफ्नो कुनै व्यक्तिगत गुनासो नभएको स्पष्ट पार्दै उनले माया र चिन्ताका कारण यस्तो सुझाव दिएको बताए ।

‘उहाँ अग्लो हुनुहुन्छ, अग्लाइमै बस्नुस् । तपाईंले आफ्नो लेभल मेन्टेन गर्नुस्,’ थापाले भने ।

अदालतमा चलखेल भएको भन्ने देउवाको अभिव्यक्तिप्रति पनि उनले प्रश्न उठाए । अदालतमा कसले वारेस राखेको छ भन्ने विषय खोज्न आग्रह गर्दै राजनीतिक विषयमा तथ्य र मर्यादाका आधारमा बोल्नुपर्ने उनको भनाइ थियो ।

पार्टीभित्र देखिएको विवाद र असन्तुष्टिलाई संवादमार्फत समाधान गर्न आफू तयार रहेको सभापति थापाले बताएका छन् ।

नेपाली कांग्रेस कुनै एक व्यक्तिको मात्रै पार्टी नभएको उल्लेख गर्दै उनले कसैको व्यक्तिगत असन्तुष्टि वा अहंकारका कारण पार्टीलाई कमजोर बनाउन नहुने बताए ।

‘नेपाली कांग्रेस मेरो मात्रै होइन । इगो हर्ट भएको छ भने वार्ता गरौँ,’ उनको भनाइ थियो ।

पार्टीका विषयमा असहमति राख्ने नेताहरूसँग छलफल गर्न आफू तयार रहेको उनले बताए । तर, व्यक्तिगत गालीगलौज र अनावश्यक टिप्पणी गरेर आफ्नो व्यक्तिगत वा व्यावसायिक स्वार्थ पूरा गर्न खोज्नेहरूका अभिव्यक्तिलाई आफूले महत्त्व नदिने उनको भनाइ थियो ।

पूर्वसभापति देउवाको आलोचना गर्दै थापाले पार्टीका अन्य नेताहरूले जस्तो व्यक्तिगत आरोपप्रत्यारोपमा नउत्री वरिष्ठ नेताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताए ।

सभापति थापाले कांग्रेसको आधिकारिकता र चुनाव चिह्नका विषयमा भ्रम सिर्जना नगर्न पनि आग्रह गरेका छन् ।

सम्मानित अदालतको पूर्ण इजलासबाट पाँचपटक निर्णय भइसकेको उल्लेख गर्दै उनले पार्टीको आधिकारिकताबारे अनावश्यक विवाद सिर्जना गर्नु उचित नहुने बताए ।

एउटै राजनीतिक दलका दुईवटा महाधिवेशन हुन नसक्ने तर्क गर्दै उनले कांग्रेसको चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरी निर्वाचित भएका व्यक्तिहरूले अर्को पार्टीको गतिविधिमा संलग्न हुन नमिल्ने धारणा राखे ।

कांग्रेसको सदस्यता कायम राखेर अर्को पार्टीमा जान नपाइने उल्लेख गर्दै उनले पार्टीको विधान र कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताए ।

पार्टीको चुनाव चिह्न र आधिकारिकताबारे भ्रम फैलाउने काम बन्द गर्न पनि उनले आग्रह गरे ।

कांग्रेसले सामाजिक अभियान सुरु गर्ने

सभापति थापाले कांग्रेसलाई संगठनात्मक गतिविधिमा मात्रै सीमित नराखी सामाजिक अभियानसँग पनि जोड्ने बताएका छन् ।

नागरिकका दैनिक समस्या, सामाजिक न्याय, सुशासन र सार्वजनिक सेवाको प्रभावकारितासँग सम्बन्धित विषयमा पार्टीले अभियान सञ्चालन गर्ने उनको संकेत थियो ।

कांग्रेसले अब राजनीतिक प्रतिस्पर्धासँगै नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा काम गर्नुपर्ने उनको भनाइ थियो ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले सरकारको कामकारबाही, राष्ट्रिय राजनीति, जेनजी आन्दोलन, पार्टीको आन्तरिक अवस्था र आगामी राजनीतिक कार्यदिशाबारे आफ्नो धारणा राखेका हुन् ।

बैठकमा उनले कांग्रेसलाई जिम्मेवार राष्ट्रिय शक्तिका रूपमा अघि बढाउँदै सरकारलाई काम गर्न दिने तर गलत काममा निरन्तर खबरदारी गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
  • २०८३ मंसिर ९, १५: ५४

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ...

सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन
सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन
  • २०८३ मंसिर ९, १५: ५४

काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन...

अयोध्याबाट छुटेको रेल जनकपुरधाममा आइपुग्यो
अयोध्याबाट छुटेको रेल जनकपुरधाममा आइपुग्यो
  • २०८३ मंसिर ९, १५: ५४

काठमाडौं : भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम आइपुगेको...