सङ्क्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा पुनः लकडाउन – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

सङ्क्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा पुनः लकडाउन

नयाँ विकल्प

कुस्मा -कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ ।

कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातिदेखि लकडाउन जारी रहेको छ ।

त्यसैगरी जलजला गाउँपालिकामा मङ्गलबार रातिदेखि लागू हुने गरी यह िकात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको छ । उता महाशिला गाउँपालिकाले पनि अर्को निर्णय नहुने बेलासम्म गाउँपालिकाले तोकेका अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र हिँड्डुल, सवारी साधन सञ्चालन, वित्तीय संस्था तथा सहकारी संस्था र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना सङ्क्रमण फैलन नदिन गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको बैठक बसेर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार, पछिल्लो समय समुदायस्तरमा दुई जनामा सङ्क्रमण देखिएपछि थप जोखिम नफैलियोस् भनेर लकडाउन गरिएको हो ।

यता जलजलाको मङ्गलबार सम्पन्न गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले गाउँपालिकाका वडामा सङ्क्रमण फैलन नदिनका लागि बुधबारदेखि लागू हुने गरी यही कात्तिक २५ गतेसम्म लकडाउन घोषणा गरिएको छ ।

पछिल्लो समय छिमेकी जिल्ला र स्थानीय तहमा लकडाउन घोषणा भएपछि जलजला गाउँपालिकामा पनि थप सङ्क्रमण नफैलियोस् भनेर लकडाउन गर्ने निर्णय गरिएको जलजलाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको मङ्गलबारको बैठकले आजदेखि यही कात्तिक २५ गतेसम्म गाउँपालिकाभरि लकडाउन गर्ने निर्णय गरेको अधिकृत शर्माले जानकारी दिए ।

बैठकले गाउँपालिकाभित्र सञ्चालित सबै वित्तीय संस्था, सहकारी संस्थाका कामकाज ठप्प पार्ने, मुख्य बजार क्षेत्र मिलनचोक, मोहनचोक, वारीवेनी, बगरफाँट, लस्तीलगायतका क्षेत्र बन्द गर्ने, निर्णय गरेको छ । त्यसैगरी, गाउँपालिका र वडा कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको जलजलाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए ।

त्यस्तै, अत्यावश्यक सामग्रीहरुका पसलहरु भने बिहान ७ः०० देखि १०ः०० बजे र साँझ ४ः०० देखि ६ः०० बजेसम्म सञ्चालन गर्न दिनेसमेत निर्णय गरिएको छ । जलजलामा हालसम्म सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ ।

कुुश्मा नगरपालिकाले सदरमुकाम कुश्माबजारभित्रका वडा नं ४, ५, ६ र ७ मा यही कात्तिक १५ गते रातिदेखि लकडाउन घोषणा गरेको छ । जसले गर्दा बजारका वित्तीय संस्था, बैंक, सहकारी, शैक्षिक संस्था र उद्योग व्यवसाय ठप्प बनेका छन् । सरकारी कार्यालय खुले पनि सेवाग्राहीको सङ्ख्या न्यून रहेको छ ।

सवारी साधन भने बन्द गरिएको छैन । एकै दिन समुदायका नौ जनामा सङ्क्रमण देखिएपछि कुश्माबजार लकडाउन गर्ने निर्णय गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । यसैगरी, मोदी गाउँपालिकामा र मोदी गाउँपालिकाको कार्यालय तथा मोदी गाउँपालिकाका सबै वडा कार्यालयहरुको अत्यावश्यक सेवाबाहेकको सेवा, शैक्षिक सङ्घसंस्थाबाट प्रदान गरिने सेवा, गाउँपालिकास्थित बैंक, वित्तीय संस्था एवम् सहकारीबाट प्रदान गरिने सेवा कात्तिक २२ गते राति १२ः०० बजेसम्म बन्द गरिएको हो ।

गाउँपालिकाको बेतनी, तिलाहार, डिमुवा, पातिचौर, भद्रखोला र अम्बोट जस्ता बजार क्षेत्रका अत्यावश्यक सेवा र वस्तु बाहेकका पसल पनि बन्द हुने भएका छन् भने मोदी गाउँपालिकाका विभिन्न शाखा सडकबाट सञ्चालन हुने यातायात सेवा बन्द गर्ने निर्णय भएको छ ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने गाउँपालिकाभित्रको लोकमार्गमा भने सवारी साधन सञ्चालनमा रोक नलगाइएको प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए । जिल्लाको फलेवास नगरपालिका, विहादी र पैँयु गाउँपालिकामा भने कुनै बन्द तथा सेवा अवरुद्ध गरिएको छैन ।

छिमेकी जिल्ला म्याग्दीको बेनी नगरपालिका र बागलुङ नगरपालिका पनि उच्च जोखिममा परेपछि एक साताका लागि लकडाउन गरिएको छ । पर्वतमा हालसम्म सङ्क्रमितको सङ्ख्या १९२ जना पुगेका छन् भने १५४ जना निको भइसकेका छन् । ३८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको छ । रासस

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ कार्तिक १९, १४: १८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ कार्तिक १९, १४: १८

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ कार्तिक १९, १४: १८

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...