चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि आगो बाल्न दाउरा वितरण – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि आगो बाल्न दाउरा वितरण

नयाँ विकल्प

जलेश्वर – विगत १० दिनदेखि निरन्तररुपमा चलेको चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि नेपाली सेनाले आज बिहानै महोत्तरीको सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा दाउरा उपलब्ध गराएर न्यानोको लागि आगो बालेको छ ।

जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले जलेश्वर नपाको वडा नं १, २ र ६ का विभिन्न चोक र टोल बस्तीमा सर्वसाधारणलाई न्यानो बाँड्ने उद्देश्यले आगो बालेको गणपति शिवहरि केसीले बताए ।

नेपाली सेनाले जलेश्वरको नगरपालिका चोक, शङ्करचोक, दुर्गाचोक, खैराचोक, बुद्धिजीवि चोक, अस्पताल चोक, जिरोमाइल चोक, डोमटोल, दुषाध टोल, मुसहर टोललगायतका ठाउँमा आगो बालेर जलेश्वर नगरपालिकाका आम नागरिकलाई जाडोबाट जोगाउने काम गरेको छ । जिल्लाभरि नै जाडोले जनजीवन प्रभावित भइरहेका बेला नेपाली सेनाले सदरमुकाममा दाउराको व्यवस्था गरी ठाउँठाउँमा आगो बालेपछि स्थानीयले राहत महसुस गरेका छन् ।

आगलागीमा रु १० लाख क्षति महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति भएको आगलागीमा १० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार जलेश्वर नगरपालिका– ३ बस्ने लगन राय र मटिहानी नगरपालिका– २ बस्ने जकी शेषको घरमा भएको आगलागीमा रु १० लाख बराबरको क्षति भएको हो ।

राति १०ः३० बजेतिर लगन रायको घरमा विद्युत् चुहिएर भएको आगलागीमा परी नगद रु एक लाख, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, चार चौपाया र दुईकोठे घरसहित पाँच लाख ९५ हजारको क्षति भएको छ । मध्यरातमा जकी शेषको घरमा भएको आगलगीमा परी नगद, दुई वटा चौपाय, कुखुरा र चल्ला, साँखुको काठ, खाद्यान्न लत्ताकपडा, भाँडाकँुडा र दुई कोठे घरसहित तीन लाख ७४ हजारको क्षति भएको हो ।

दुवै आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरी तथा स्थानीय, प्रहरी र जलेश्वर नगरपालिकाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । न्यानो कपडा बाँड्दै स्थानीय तह लहान– चिसो बढ्दै गएपछि सिरहाका स्थानीय तहले सक्रियता बढाएको छ । शीतलहर र चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले न्यानो लुगा तथा आगो बाल्न दाउरा वितरणको कार्यलाई तीव्रता दिएको छ । सिरहाको विष्णुपुर गाउँपालिकाले विभिन्न स्थानमा आगो बाल्न आज बिहानैदेखि दाउरा वितरण कार्य शुरु गरेको छ ।

चिसो र शीतलहरका कारण विपन्न तथा गरिब परिवार समस्यामा परेपछि सामूहिकरुपमा आगो बाल्न चोक तथा बस्तीमा दाउरा वितरण शुरु गरेको गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले जानकारी दिनुभयो । पहिलो चरणमा जाडो छल्न दाउरा वितरण गरेको र केही दिनपछि न्यानो कपडा वितरणसमेत गरिने उनले बताए । यस्तै सिराहा नगरपालिकाले वडा नं १७ खैरटोलका विपन्न तथा दलित परिवारलाई कम्बल र त्रिपाल वितरण गरेको छ ।

बस्तीमै पुगेर नगरपालिकाका प्रमुख अशेश्वर यादवले १५ परिवारलाई कम्बल र त्रिपाल वितरण गरे । चिसोबाट जोगिन तत्काललाई दुई थान कम्बल र एक थान त्रिपालका दरले दलित विपन्न परिवारलाई वितरण गरेको नगरप्रमुख यादवले बताए । यस्तै नगरपालिकाको विभिन्न वडामा आगो बाल्न दाउरासमेत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

चिसो प्रभावित भएका सिराहाको सुखीपुर नगरपालिका– ८ र गोलबजार नगरपालिका–१३ का १५० परिवारलाई स्वदेश लघुबित्त वित्तिय संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको थियो । सुखीपुर नगरपालिका– ८ अस्पताल चोकका १३० र गोलबजार नगरपालिका– १३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो लुगा वितरण गरेको जनाइएको छ । केही दिनयता बढेको अत्यधिक चिसोका कारण विगत एक साताको अवधिमा सिरहामा पाँच जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७७ पुष ६, १२: ५६

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७७ पुष ६, १२: ५६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७७ पुष ६, १२: ५६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...