सत्तापक्ष र प्रमुख प्रतिपक्ष ठीक बाटोमा नहिँडे आउने विकल्प कहालीलाग्दो हुनेछ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सत्तापक्ष र प्रमुख प्रतिपक्ष ठीक बाटोमा नहिँडे आउने विकल्प कहालीलाग्दो हुनेछ

हरिविनोद अधिकारी
१. नेपालको राजनीतिक वृत्तमा फेरि पनि नेपाली काँग्रेस र नेकपा नेकपा नै चर्चाको शिखरमा छन् । दुवै दलहरु चर्चाम हुनुको कारण हो —दलभित्रको आपसी खिँचातानी । नेकपा सत्तामा छ र त्यो पनि एमाले र माओबादीको संयोजनबाट । एकवर्ष भयो मिलेर निर्वाचन लडेको अनि सत्तामा पनि सहजताका साथ निरापदरुपमा प्रवेश गरेको ।

२. नेपाली काँग्रेस सत्तामा हुँदै निर्वाचन गरायो र सत्ताबाट असहज तरिकाले बाहिरियो । अर्थात् लाजमर्नु किसिमको उपस्थिति रह्यो सँसदमा । संघीय सँसदमा र प्रादेशिक सँसदमा पनि । सातओटा प्रादेशिक सँसद, संघमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी नौओटै सँसदमा न्यून संख्या रहेको प्रतिपक्ष भएको छ । कुनै कारणमा सँसदमा अविश्वासको प्रस्ताव पेस गर्नु नै परेमा आवश्यक मत छैन । संविधान बनाउन आफैँले नेतृत्व गरेको थियो, संविधान आएपछि सरकारबाट बाहिरिए पनि फेरि सरकारमा आएर आफैँले निर्वाचन गरेको थियो । एउटा अपगालबाट भने पार पाएको थियो धाँधली गरेको भन्ने कुरामा तर अरुले गरेको वैचारिक धाँधली र जसरी पनि काँग्रेसलाई पाखा लगाउने रणनीतिलाई बुझ्न नसक्दा दुर्गति भएको कुरामा पर्यवेक्षकहरु विश्वस्त देखिन्छन् ।

३.नेकपाको गठन जसरी भए पनि र जस्तो रणनीति तय गरेर सरकार गठन गर्न सफल भए पनि जनविश्वासको कदर गरेर सत्ता सञ्चालन गर्न नसकेको जगजाहेर भएको छ । मिलेका पुराना दलहरुका बिचमा देखिने झिना मसिना देखि वैचारिक विविधतासम्मको व्यवस्थापन हुन नसकेको अवस्था छ । प्रमुख प्रतिपक्षको भूमिकाविहीन अवस्थाले सत्ता पक्ष नै सत्ताधारी र विपक्षीको भूमिकामा देखिने गैरसँसदीय प्रक्रिया सुरु भएको छ । अर्थात् ठूला दुईओटा कम्युनिस्ट पार्टीहरुको संयोजनले नयाँ नयाँ विवाद जन्मन थालेको पाइन्छ । त्यसको व्यवस्थापन सहज पनि छैन , नगरी पनि हुँदैन । अध्यक्षको पद त दुईओटा बनाइएका छन् , अरु पनि थप्न मिल्ला तर प्रधानमन्त्रीको पद एउटै कल्पना गरिएकोले त्यहीँ गएर समस्या देखिएको छ । भएका एउटा अध्यक्ष जो प्रधानमन्त्री र अध्यक्ष पनि हुनुहुन्छ, उहाँको बढी नियन्त्रणमा पार्टी र सरकार देखिन्छ । सरकारको नियन्त्रण त प्रधानमन्त्रीको जिम्मा हुने नै भयो तर पार्टीमा बढी नै हैकम भयो भन्ने गुनासो पुराना माओबादीको देखिन्छ जसलाई अब पूर्व प्रधानमन्त्री माधव नेपालले नेतृत्व गरेर समाधानको बाटोमा लैजान लाग्नु भएको देखिन्छ । यहीँनेर सरकारको अवस्था र पार्टीको अवस्थामा केही फेरबदल आउन लागेको आभास हुन्छ ।

४. प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसमा हारको जिम्मा कसले लिने भन्ने द्विविधा अझै छ । नेतृत्वमा बस्नेले राम्रो र नराम्रो दुवै परिणामको जिम्मा लिने प्रजातान्त्रिक परिपाटीलाई प्रजातान्त्रिक दलले स्वीकार गर्न सकेको छैन र त्यसका सभापति शेरबहादुर देउवाजीले पानी माथिको ओभानो हुन रुचाउनु भएको छ। पार्टीलाई सहजरुपमा गतिशील बनाउने कुरामा काँग्रेसमा विवाद देखिन्छ र नैतिकताको प्रश्न गौण हुनुले भावी दिनमा जनताले कसरी फेरि सत्तामा पु¥याउने हुन् भन्ने चिन्ता एकातिर देखिन्छ भने पार्टी कब्जा गर्ने रणनीतिबाहेक नेतृत्व तहमा बसेकाहरुमा अरु कुनै नियत देखिँदैन । राजनीतिमा प्रवेश गरेको अपराधी प्रवृत्ति र अपराधी प्रवृत्तिबाट गाँजिएको राजनीतिको नमुना काँग्रेसभित्र देख्न र व्यवहारमा परिणत भएको परैबाट देखिन्छ । प्रजातन्त्रेतर सँस्थाहरुमा त्यो सहज कुरा हो तर प्रजातन्त्रवादी सँस्थाहरुमा यसरी खुलेआम राजनीतिक भ्रष्टाचारले प्रश्रय पाउँदा पनि आफूलाई स्वनामधन्य बुद्धिजीवीहरु कुनै न कुनै गुटमा आफूलाई केन्द्रित गरी प्रजातन्त्रको नैतिकताको खिल्ली उडाइरहेका पाइन्छन् । प्रायशः सहयोगी सँस्थाहरुको हालत त्यही छ । अब कसरी सबै सँस्थाहरुलाई प्रजातान्त्रिक सँस्थाको रुपमा विकसित गर्ने भन्ने कुरामा समेत एकमत हुन सकेको छैन र भावी पदहरुको बाँडफाँटमा विधानको चुरो अडिएको छ ।

५. विधान कस्तो हुनुपर्छ भन्नुभन्दा विधानमा अहिलेको सँस्थापन कसरी फेरि पनि पार्टी कसरी कब्जा गर्न सकिन्छ भनेर किचलो गरिरहने, अनि कब्जा गर्न नपाउनुहरु भने कस्तो विधान बनाए आफूहरुले कब्जा गर्न सकिन्छ भनेर बाटो हेरेको देखिन्छ । किन चाहियो क्रियाशील सदस्यता, सदस्यता खुला गरौँ तर प्रजातन्त्रवादी हुने आचार संहिता लागू गरौँ भनेर कोही भन्न सक्दैन । जानाजान आफ्नो उम्मेदवार हराउन लाग्नेहरुलाई कार्बाही गर्न पनि गुट र उपगुटको नाटकमा रमाएर बस्ने अनि गाउँमा दुःख गरेर बस्ने प्रजातन्त्रवादीलाई गाउँमै हराउने गरी तयार पारिएका क्रियाशील सदस्यहरुको जमघटले कस्तो परिणाम ल्यायो भनेर मूल्याङ्कन नगरी कसरी विधानले पूर्णता पाउला ? गैर काँग्रेसहरुको बाहुल्यतामा मात्र आफ्नो भविष्य देख्ने काँग्रेसहरुबाट कसरी भावी दिनमा मुलुकलाई प्रजातान्त्रिक धारमा डो¥याउने होला ?

६. सत्तामात्र राजनीतिको परिणाम होइन तर आफ्ना विचार कार्यान्वयन गर्नका लागि सत्ताको आवश्यकता पर्छ । सही कुरा गर्दा सत्तामा मात्र हुनुपर्छ भन्ने होइन, तर नाममा प्रजातन्त्रको दुहाई दिने अनि काममा प्रजातन्त्रका कुनै पनि तत्वको प्रयोग नगर्ने हुँदा काँग्रेसको यो हाल भएको भनेर गाउँ गाउँमा रहेका प्रजातन्त्रवादीहरुले भन्ने गर्छन् । मत माग्नका लागि छिरेका उम्मेदवारलाई खोज्न जनता सहरमा जानै पर्ने बाध्यता हुन्जेलसम्म यो अवस्था देखिने छ । सर्वप्रथम प्रजातन्त्रवादी हुनका लागि कस्तो आचार व्यवहार अपनाउने भन्ने हुनुपर्छ र त्यस्को कडाइका साथ पालना जरुरी छ ।

७. नेकपाका वारेमा पनि किन जनता बढी नै आलोचना गर्छन् भने त्यहाँ दुई भिन्न सँस्कृतिका मानिसहरु एकाकार भएका छन् । तर आफूलाई कम्युनिस्ट नै भन्छन् र पार्टीको नाम पनि कम्युनिस्ट नै राखेका छन् । सत्तामा जाने बित्तिकै सम्पत्ति नै कमाउनु पर्ने, भौतिक सामग्रीको जोहो गर्नैपर्ने अनि ठेक्का पट्टा गर्नैपर्ने जस्ता कामहरुका लागि बदनाम हुनु जरुरी छ र ? जनताको सेवा गर्ने भनेर राजनीतिमा आएका कतिपय नेताहरुको अवस्था र भर्खर राजनीतिमा प्रवेश गर्नेहरुका बिचमा देखिने भिन्नताले नयाँ सँस्कृतिको रुप लिएको छ ।

८.अहिलेको नेपालमा कम्युनिस्ट हुँ भनेर पनि हिजोमा साँस्कृतिक रुपको एकदलीय शासन आउन सक्दैन र प्रजातन्त्र मात्र प्रजातन्त्रको विकल्प हो भनेर आत्मसात गरिसकेको अवस्थामा प्रजातान्त्रिक प्रक्रियालाई अंगीकार गर्नु पर्छ । नेपालको संविधानमा लेखिएका कुराहरुको विरुद्धमा जान हुँदैन भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ । विश्वमा अब निर्दलीय र निरंकुश शासन सम्भव छैन भन्ने कुरामा विश्वस्त भएर नै नेपालमा कम्युनिस्टहरु पनि प्रजातन्त्रको पक्षमा लागेको कुरा घामजस्तै छर्लङ्ग छ ।

९. र अन्त्यमा, सत्ता पक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आफ्ना आफ्ना अवस्थामा पुनरावलोकन गर्नुपर्छ । जनताका लागि कसरी प्रजातन्त्र दिगो बनाउन सकिन्छ भनेर बहस गर्नसक्नुपर्छ । संविधान वाद नै प्रजातन्त्रको चुरो भएकाले अझ नेपाली काँग्रेसले त नेताको काम गर्नु पर्ने हो । आफैँ नेपाली काँग्रेस कुइराको काग भयो भने नेपाली राजनीति आफैँ गन्तव्यविहीन बाटोमा लाग्ने छ । बेलैमा चेतना राखौँ । नेपाली जनताले यदि विकल्प खोज्न थाले भने दुई तिहाईको सरकार पनि गल्र्यामगुर्लम ढल्ने छ र यहाँ अराजकताको राज्य थोपरिने छ । haribinodadhikari@gmail.com

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ आश्विन २२, १०: ५३

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७५ आश्विन २२, १०: ५३

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७५ आश्विन २२, १०: ५३

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...