ओली–प्रचण्ड सत्तायुद्धको खुला मैदानमा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

ओली–प्रचण्ड सत्तायुद्धको खुला मैदानमा

केदार सुवेदी
यो साता

नेपाली नेताहरुले नेपालको सत्ताका बारे किन भारतको भूमीमा बढी महत्व दिन्छन् भन्ने फेरी एकपटक प्रश्न खडा भएकोे छ । यो पनि आफुलाइ राष्ट्रवादी भनी प्रचार गर्ने र बाँकी अरु सबैलाई राष्ट्रघाती भनी सज्ञा दिने नेपाल कम्युनिष्ट पार्टीबाट ।

जुन बेला भारतको कान नेपालतर्फ सोझिन्छन् त्यसपछि यी नेताहरु आफना कुरा धौ फुकारै खोल्न थाल्छन् भलै ती जतिसुकै गोप्य हुन् । यसको पछिल्लो उदाहरण भएको छ एमाले र माओवदी हुदा गरिएको सत्ताको बाडफाडको प्रसंग ।

यसलाई पहिले नेताहरुले गेप्य राखेका थिए । कसैले यस्तो सम्झौता भएको छ भनी वताए त्यसलाई देखाइदिन चुनौतीने दिन्थे तर पछि उनीहरु आफैले त्यसको पोल खोले । पहिले प्रचण्डले भारतमा गएर बताइदिउ भने अहिले अर्का नेता भारत गएका बेला उनले प्रचण्डले नेपालबाटै त्यही कुरा दोहो¥याए भारतसम्म पु¥याए ।

यसको निश्कर्ष थियो आलोपालोको बेला भयो भन्ने । यद्यपि भनिएजस्तो आलोपालोनै हो भने ओलीको पहिलो आधा समयको शासन काल पुरा हुन अझै १५ महिना बाकी छ । ०७४ फागुन ३ मा यो सरकारले सपथ खाएको हो ।

नेपालको सत्ताचलाउने यस्तो आलोपालको पहिलो खुलासा भारत भूमिमा भएको थियो । गत २१ भदौमा भारत भ्रमणमा गएका बेला त्यहाँको अनलाइन द प्रिन्ट डट इनकी पत्रकार ज्योति मल्होत्रासँग कुराकानी गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अघिल्लो दिन भएको पाँचबुँदे सहमतिको खुलासा गरेका थिए ।

पहिलोपटक आलोपालोबाट प्रधानमन्त्री बन्ने सहमति भएको खुलाएका उनले यो पटक अर्का अध्यक्ष केपी ओलीको भारत भ्रमणको सन्दर्भमा नेपालमानै थप विवरण खुलाए । त्यसबेला भ्रमण सकेर उनी नेपाल फर्किदासम्म यो विषयले एउटा ठुलो आकार लिइसकेको थियो । अर्का अध्यक्ष केपी शर्मा ओलिले त्यसबेला प्रचण्डसँग एकप्रकारले प्रस्टिकरण लिएका थिए जसमा प्रचण्डले अखवारमा त्यसै छापिदिएको भनी खण्डन गरे ।

तर त्यो यसै छापिएको भने थिएन । यो पटक फेरी त्यही आलोपालोको कुरा आयो । अर्का अध्यक्ष ओली भारत भ्रमणमा निस्कने अघिल्लो दिन यता प्रचण्डले त्यही कुरा निकाले आधाआधा समय प्रधानमन्त्री खाने भनेर । यो पटकभने यसले खण्डन होइन । नेकपामा चर्को सत्तायुद्धको रुप देखायो । प्रचण्डको भनाइ विस्तृतमानै थियो र उनले आफनो भनाइलाई पुष्टी गर्न सम्झौता पत्रनै सार्वजनिक गराइदिए पो पटक ।

यसै भएर होला ओली फर्किएर आउदा यो बारेमा प्रश्न सोधिएपनि कुनै उत्तर दिएनन् तर बालुवाटारबाट पाचसातदिनमाने हट्छु भनेर जवाफ दिए । यो भनाइ उनको पहिले जस्तै तुक्का थियो होला तर स्थिर भनिएको सरकारको प्रधानमत्रीपद भागवण्डामै खानेगरी सम्झौता गरिएको रहेछ भन्ने स्थापित भयो ।

नेपालको सत्ता भारतमा
यसले के पनि देखायो भने नेपालको सत्तालाई यो तहको नेतृत्वले दिल्लीसँगनै जोडने गरेको छ । पहिले प्रचण्डले आलोपालोको कुरा देशभित्र नभएर दिल्लीमा खुलासा गरे भने यो पटक अर्का नेता दिल्लीमा रहेका बेला समय किटान गरेरनै आफ्नो पालो आइसकेको भनी दिल्लीलाई विशेष रुपले जानकारी गराए । दिल्ली भ्रमणको अघिल्लो दिन यस्तो कुरा आएबाटनै धेरै खुलासा हुन्छ । यो भनेको सत्ताकालागि नेकपा भित्रको चरमयुद्ध प्रकट भएको अवस्था नै हो ।

दिल्लीबाट फर्किएपछि सत्तारुढ दल नेकपाभित्र शुरु भएको सत्ताको नेतृत्व गर्ने विवादमा पछिल्लो पटक प्रधानमन्त्री ओलीले जवाफ दिए । प्रधानमन्त्री ओलीले यो सहमतिको विषय पहिला नै बाहिर आइसकेकाले यो पटक–पटक भनिरहनु पर्ने विषय नभएको बताउदै आफु ५ बर्ष नै प्रधानमन्त्री बन्ने बताए । भारतबाट फर्किने क्रममा विमानस्थलमा मिडियासँग नबोलेका प्रधानमन्त्री पछिल्लो घटनाक्रमबाट खुशी नभएको बुझाउँछ यसले । यसअघि प्रधानमन्त्री ओलीले भारतबाट फर्किने बेलामा विमानमानै कुरा गर्न रुचाए । जेठ १७ मा उनको भनाइ यसरी आयोः

ओलीको भनाइ
‘यो अहिलेको कुनै विषय नै होईन, जुनबेला म विदेश भ्रमणमा हुन्छु त्यस बेलामा कुनै न कुनै यस प्रकारका कुरा निस्किन्छन् । स्थिरता भनेको नीतिमा हो । स्थिरता भनेको बहुमतको सरकारमा हो । र, स्थिरता भनेको नेताहरुका बीचको सहमति र सहकार्यको कुरा हो ।

यसलाई अनेक ढंगले टिप्पणी गरिरहनुपर्ने, उछालिरहनुपर्ने यो हाम्रा बीचमा के कुरा भएको छ ? भनेर उचालि रहनुपर्ने आवश्यकत्ता नै छैन् । जुन कुरा, यो कुनै नयाँ कुरा त होईन । गतवर्ष हामीले जुन सहमति ग¥र्यौ । पार्टी एकता गर्यौं । त्यो कुरा त कुनै नयाँ कुरा होईन । अहिले आएर बेलुन बनाएर फुकिरहनुपर्ने कुनै आवश्यकता नै छैन् । त्यो त गत वर्षको सहमति हो ।

गत वर्षनै सार्वजनिक भैसकेको कुरा हो । अब यसलाई चाहीँ नयाँ विषयजस्तो गरेर उचालेर ठूलो समस्या आईप¥यो जस्तो गरेर यसलाई एउटा जनतामा सबैतिर कार्यकर्तामा आशंका र सन्देह पैदा हुनेगरी चर्चा गर्नुपर्ने नै विषय होईन ।

सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिका विषयमा म अहिले छलफल गर्न चाहन्न । यो सहमति के–कस्तो भएको हो ? भन्ने कुरा सहमतिमै उल्लेख छँदैछ । र, अभिप्राय के हो ? भन्ने कुरा पनि उल्लेख छ । यतिवेला यो चर्चा गर्ने, मैले आज विहानपनि एउटा सञ्चारमाध्यमलाई भने तपाईहरुलाई खुशी लाग्छ भने म चार–पाँच दिनमात्रै हो, चार पाँच दिनपछि हटिहाल्छु भन्दिन्छु ।

देशको विकासप्रति चिन्ता नहुने, त्यसतर्फ बहस नगर्ने, विकास कसरी हुन सक्छ ? स्थिरता र स्थायित्व कसरी हुन सक्छ ? त्यतापट्टि नहुने । मलाई आश्चर्य लाग्छ । हरेक कुराको विरोध हुनुपर्ने । नराम्रो भन्नुपर्ने । यस देशलाई माया गर्ने र देशलाई राम्रो होस् भन्ने कुरा खोई ? कतिपय मान्छेहरुको प्रवृत्ति म देखिरेको छु, त्यसमा मेरो खास टिप्पणी केही पनि छैन् । प्रचण्डसँगको सम्बन्धमा चिसोपन कहाँ आएको छ ? कसैले सोध्यो होला ।

हाम्रा बीचमा सहमति नभईकन त पार्टी एकता भएको छैन । एकता गर्दा केही सहमतिका पक्षहरु छन् । केही सहमतिहरु भएरनै एकता भएको हो । र, एकता भएपछि एकताबद्ध रुपमा पार्टी अघि बढेको छ । त्यसलाई कमजोर पार्नेगरी, एकता खलबलाउने गरी केही चर्चा गर्नुपर्ने त आवश्यकता छैन् । जे सहमति भएका छन् । ती सबै आफ्नो बाटोमा र कोर्समा अघि बढ्छन् ।’

प्रचण्डका भनाइ
प्रचण्डले यसको दुइदिन अघि जेठ १५ मा दुइ ठाउँमा व्यक्त गरेका भनाइका अंशः ‘पार्टी एकता गर्दा पक्कै पनि हाम्रो बीचमा समझदारी भएको छ । हामीले सहमतिबाटनै निर्णय गरेर जानुपर्छ । पार्टीमा र सरकारको नेतृत्व पनि हामीले आलोपालो गर्नेनै भन्ने सहमति छ ।

त्यो लिखितै छ । त्यो बाहिरै आइसक्या छ । त्यो किताबमा छापिएरै आइसक्या छ । त्यसकारण यो के हो भनेर धेरै प्रश्न गरिराख्न आवश्यक म ठान्दिनँ । आलोपालोमा जाने सहमति भएकै छ । केपीजी र मेरो कुरा हुँदा हामी सहमतिअनुसार नै जाने भन्ने कुरामा नै हामी प्रतिवद्ध छौं । त्यसकारण अहिले म आशंका गर्न पनि चाहन्न ।

यो विषय फेरि के हो भने उहाँ र मवीच सहमति भयो, पार्टीभित्र सहमति भयो भने पाँचै वर्ष केपी ओली हुन पनि हुन्छ । मलाई चैं प्रधानमन्त्री लिन हतारो विल्कुलै छैन । देशमा सुशासन र विकासले गति लियो र जनतामा सन्तुष्टि आयो भने मैले पार्टीलाई मुख्य रुपमा हेर्ने र अर्को चाहिँ अध्यक्षले प्रधानमन्त्री मुख्य रुपमा हेर्नेगरी काम मिलायो भने मलाई सहज हुन्छ । मलाई प्रधानमन्त्री नभई नहुने, चाहिने भनेर मैले सोचेको छैन ।

मानिसहरुले त्यसै हो कि भन्छन्, कतिपय अलिकति संकीर्ण, अलिकति पूर्वाग्रही आँखाले हेर्नेहरुले चाहिँ मैले थोरै जनताका गुनासो, जनताका कुराहरु बोलें भने प्रधानमन्त्री हुन बोल्या हो कि भन्ने पनि मान्छे छन् ।

तर, मेरो त्यो कुरा होइन । राम्रोसँग पार्टी रन भयो, राम्रोसँग सरकार रन भयो भने त्यो आलोपालो भनिएको भए पनि पाँचै वर्ष केपीजी बस्दा पनि मलाई आपत्ति हुँदैन । म समर्थन गरिराख्छु ।
म एउटा कुरालाई फेरि दोहो¥याउँछु– सुशासन र विकासले गति लियो, सरकार दिन प्रतिदिन अझ बढी लोकप्रिय कामहरु गर्दै अगाडि बढ्यो भने हामीले सहमति गरेकोमा प्रधानमन्त्री फेरि राख्नुपर्छ भन्नेमा म छैन ।

तर, म पनि एउटा नेताको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित त हुनुपर्छ । त्यसो भयो भने सरकारको नेतृत्व एउटा अध्यक्षले, पार्टीको नेतृत्व एउटा अध्यक्षले ग¥यो भने सन्तुलन मिल्छ र म फेरि प्रधानमन्त्री भइराख्न पनि पर्दैन ।

मैले खेल्ने पार्टी अध्यक्षका रुपमा राम्रोसँग भूमिका खेल्छु । अहिले यो छलफलको विषय छ । हाम्रो पार्टी पंक्तिमा पनि, लिडरसिप लेबलमा पनि छलफल चलिराखेकै छ । तर, एउटा कुरा के हो भने फेरि विभिन्न परिस्थितिले काम पनि गर्छ । त्यो सबै परिस्थितिमा हिजो हामीले एकता गर्दा जे सहमति गरेका थियौं, त्यो सहमतिप्रति हामी सबैले इमान्दार त हुनैपर्छ ।

म अहिले कसैप्रति आशंका गर्दिनँ । म के विश्वास गर्छु भने कामरेड केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न उहाँले नै अप्ठ्यारो मान्नुहुन्न । मैले लिन नि अप्ठ्यारो मान्दिनँ । राम्रो काम भयो र सहमति पार्टीभित्र भयो भने उहाँलाई नै पाँचै वर्ष चलाउन दिन मैले केही नै अप्ठ्यारो मान्दिनँ । उहाँले पनि पार्टी सञ्चालन तपाईले राम्रोसँग गर्नुहोस् भनेर दिन उहाँले अप्ठ्यारो मान्न हुँदैन ।

सबै चिज सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ । त्यो त पार्टीले गर्ने कुरा हो । त्यस्तो कुराको म अहिले कल्पना गर्न चाहँदिनँ । मैले प्रधानमन्त्रीजीलाई दुःख–सुख, अप्ठ्यारो सबैमा रक्षा गर्न मैले मेरो ठाउँबाट बल गरिराखेकै छु । मैले सरकारको पक्षमा, प्रधानमन्त्रीजीको पक्षमा जनताका वीचमा, पब्लिक कार्यक्रमहरुमा सरकारले गरेका राम्रा कामहरु के–के हुन् भन्ने कुरा पनि मैले भनिराखेकै छु । त्यसकारण, तपाईको यो प्रश्नमा म अहिले जान चाहँदिनँ ।

त्यसो गर्नु वास्तवमा उचित पनि हुँदैन । किनभने, हामी सहज ढंगले कुराकानी गरी पनि राख्या छौं । हामीमा केही कमी छन् भने त्यसलाई सच्याउनुपर्छ भन्नेतिर हामी गई पनि राखेका छौं । त्यसकारण भोलि उहाँले छोड्नुहुन्न भन्ने म कल्पना गर्न चाहन्न ।’

दोष पत्रकारलाई
यी भनाइ रेकर्डका लागि यहाँ प्रस्तुत भएका हुन । यो सम्झौता हुँदा सत्ता बाँडफाँडकाबारे वा भनौ यो आधाआधा समयकाबारे त्यसबेला कुनै गोप्य सम्झौता नभएको भन्ने भनाइ आइरहेका थिए नेताहरुबाट तर यतिबेला त्यो सम्झौताको छायाकपी नै सार्वजनिक भएपछि त्यसलाई सोच्न चाहि थालियो ।

तर फेरीपनि पत्रकारलाई आरोप लगाउन भने छाडिएको छैन । जस्तो यो दलका एक अध्यक्ष प्रचण्डले पहिला दुइदिन आफनै स्वरमा व्यापक व्याख्या गरे । त्यसपछि अर्का अध्यक्षबाट प्रतिकृया आयो । यी सत्तायुद्धका आह्वान जस्ता थिए त्यसबेला । माथि उल्लेख भएका दुइ अध्यक्षका ती भनाइ उनकै स्वरमा नै टेलिभिजनमा प्रसारित भएका थिए ।

तर त्यसपछि के भयो, यता त िभनाइपत्रकारले उत्पादन गरेका भन्न थालियो । त्यसको पनि रेकर्ड राख्नुपर्ने भएको छ । किनभने सत्तारुढदलका दुई अध्यक्षका भनाइ भनेका सामान्य होइनन् ।

जेठ १८ मा प्रकाशित समाचारको एउटा अंश ः
‘धरान– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गरेका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्नुहुने बताए । ‘हामी निरन्तर संवादमा छौं ।

पाँच वर्षनै केपीजीले सरकार चलाउन सक्नुहुन्छ’, दाहालले भने, ‘सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।’ उनले करीब पाँच मिनेट मात्र कार्यकर्तालाई सम्बोधन गरेका थिए । अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नकारात्मक प्रवृत्ति बढ्दै गएको भन्दै दुःख व्यक्त गरेका छन् । पोखरामा नेपाल स्काउटको राष्ट्रिय रोभर मुट (युवा सम्मेलन) उद्घाटन गर्दै उनले राम्रो कुराको पनि विरोध गर्ने, जेको पनि विरोध गर्ने प्रवृत्ति बढ्दै गएको बताए । उनले नेकपा पार्टीभित्र देखिएको दुई अध्यक्षको द्वन्द्वलाई इंगित गर्दै एकता हुन नदिने, एकता गरेकालाई पनि फुटाउन खोज्ने, फाटो बढाउने प्रवृत्ति बढ्दै गएको बताए ।

माथिपनि उल्लेख भयो आफ््ना भनाइले यी नेतहरुलाइ अनुकुल परिणाम दियोभने त्यो आफुले गरेका भन्ने र प्रतिकुल भयोभने मिडियालाई दोष दिएर उम्कने चलन छ । यही घटनामा भारतीय मिडियाहरुसमेत प्रचण्डबाट यसरी आफुले नभनेको कुरा छाप्नेमा परेका छन् गएको वर्षमात्रै । नेपालीले त यो रोग सधै झेल्न परिरहेकै छ ।

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ जेष्ठ २१, ०८: १३

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७६ जेष्ठ २१, ०८: १३

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७६ जेष्ठ २१, ०८: १३

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...