
काठमाडौं । सत्तारूढ गठबन्धनमा खटपट देखिएको छ । राष्ट्रियसभा निर्वाचनको पूर्वसन्ध्यामा गठबन्धनसम्बद्ध दलहरूबीच खटपट देखिएको हो ।
मुख्यगरी राष्ट्रियसभा निर्वाचनकै सन्दर्भलाई लिएर दलहरूका बीचमा खटपट सुरू भएको हो । निर्वाचनमा ४ ठूला दलहरूले मात्रै सिट बाँडफाँट गरेपछि खटपट अझ बढेको हो ।
त्यसमा सत्ता साझेदार दल जनमत पार्टीले त प्रतिवाद गरेको छ । राष्ट्रिय सभामा एक सिट मागिरहेको उसले सिट नपाएपछि मधेस प्रदेशमा आफ्नै उम्मेदवार खडा गरेको छ । नजित्ने भएपनि गठबन्धनको भोट काट्ने उद्देश्यसहित उम्मेदवार खडा गरेको जनमतकै नेताहरूले बताएका छन् ।
“जित्न त जितिँदैन,” जनमत पार्टीका एक नेता स्वीकार्छन्, “तर, हामीमाथि पटक(पटक घात गरिरहने गठबन्धनको भोट काट्नका लागि उम्मेदवार खडा गरेका हौँ । एक हिसाबले जनताको बीचमा हाम्रो सहभागिता देखाएका पनि हौँ ।”
जनमत पार्टीसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा), लोकतान्त्रिक पार्टी (लोसपा) लाई पनि गठबन्धनले ‘बाइपास’ नै गरेको थियो । तर, उनीहरूले जनमत पार्टीले जस्तो प्रतिवाद गरेका छैनन् । उनीहरूले भागबन्डा पुगेका ठूला दलहरूकै निर्णयमा सहमति जनाइरहेका छन् ।
यसअघि आइतबार गठबन्धनको बैठक बसेको थियो । बैठकले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आह्वान गर्दै विज्ञप्ति जारी गर्यो । त्यसमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राष्ट्रिय जनमोर्चाले मात्रै हस्ताक्षर गरेका छन् ।
तर, जनमत पार्टीको हस्ताक्षर छैन । जनमत पार्टीलाई बैठकको सूचनासमेत पुगेन । जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव भन्छन्, “हाम्रो पार्टीलाई खबर नै भएन । किन भएन, त्यो गठबन्धन नै जान्दछ ।”
त्यसो त जनमत पार्टीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुसी छैनन् । आफ्नो नेतृत्वमा सरकार बन्दा खानेपानी मन्त्रालय लिन अटेर गरेको, सत्तारूढ हुँदा पनि सरकारी निर्णय नमानेकोलगायतका विषयले प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीप्रति सदाशयता देखाउन सकेका छैनन् ।
यसअघि गत १ गते पनि काठमाडौंको माइतीघरमा ‘धोती दिवस’ मनाउने क्रममा जनमत पार्टीबाट मन्त्री भएकी अनिता देवी, पार्टी अध्यक्ष डा. सीके राउतलगायतले निषेधित क्षेत्र नै तोडेका थिए । त्यसबेला पनि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा ‘सीकेजीले राम्रो गर्नुभएन’ भनेर भनेका थिए ।
बताइएअनुसार प्रधानमन्त्री प्रचण्ड जनमत पार्टीलाई सरकारबाट बिदा दिने मनस्थितिमा पुगेका छन् । तर, उनलाई सल्लाहकारहरूले भने बिदा नगरिहाल्न सुझाव दिएका छन् । राष्ट्रियसभा निर्वाचनलगत्तै मन्त्रिपरषद् पुनर्गठन गर्ने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।
त्यसो त जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीमाथि गठबन्धनले ‘दलतन्त्र’ र मनोमानी हाबी गरेको आरोप लगाउने गर्छन् । त्यसकारण आफूहरू गठबन्धन बसिरहन पनि अप्ठ्यारो लागेको उनको भनाइ छ ।
यही भाषा पूर्वमन्त्रीसमेत रहेका पार्टी उपाध्यक्ष अब्दुल खान पनि बोल्छन् । “गठबन्धनले हामीलाई पटक(पटक लत्याएको छ । हेप्दै आएको छ । हामीलाई राष्ट्रिय सभामा मात्रै ‘बाइपास’ गरेको होइन । पहिल्यैदेखि बाइपास नै गर्दै आएको छ । गठबन्धन गठबन्धन संस्कृतिमा रहेन,” उपाध्यक्ष खानले भने ।
नेताहरूले बताएअनुसार जनमत पार्टीमा सरकारबाट बाहिरिने सम्बन्धमा छलफल भइरहेको छ । एक नेता भन्छन्, “यस्तै विभेद सहेर गठबन्धन को बस्छ र ? हाम्रो पार्टीमा बाहिरिने कि भन्नेबारे छलफल भइरहेको छ । तर, टुङ्गिएको छैन ।”
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...