भोजपुर । भोजपुर नगरपालिका १० को महभिर खोलामा मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ । महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु। दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो ।
२० मिटर लम्बाई रहेको पुलको सुनसरी ४ का प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका हुन् । पुलको उद्घाटन गर्दै सांसद कार्कीले यसले यहाँको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘जनताको घरदैलोमा पुग्ने क्रममा यो खोलाले धेरै पटक मलाई पनि रोकेको थियो’ उनले भने, ‘स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर यहाँ पक्की पुल निर्माण सम्पन्न गरेका छौँ । अबका बाँकी दिनमा यो पुलले यहाँको विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।’
खोलामा काठे पुलबाट ओहोर दोहोर गर्दा स्थानीयबासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । धेरै मेहनतपछि यहाँ पुल लगाउन सफल भएको स्थानीयबासी नेपाली काङ्ग्रेसका जिल्ला सचिव तथा काङग्रेसको केन्द्रिय विभाग अन्तर्गत नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विषय विज्ञ चक्रबहादुर कार्कीले बताए ।
‘महभिर खोलामा पुल नहुँदा धेरै समस्या थियो’ कार्कीले भने, ‘धेरै समयको मेहनतपछि यहाँ पक्की पुल निर्माण गर्न सफल भएका छौँ । अव हामीलाई आवत जावतमा सहजता छपिएको छ । म आफैँले पनि धेरै ठाउँमा पहल गरेपछि निर्माण गर्न सफल भएका छौँ ।’
काफ्ले– महभिर –खुरिला सडक खण्डमा पर्ने यो स्थानमा २०७५ सालबाट पुल निर्माण शुरु गरिएको थियो । यहाँ नेपाल सरकार सरकारको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो ।