
दैलेख । दैलेखमा पेट्रोलियम अन्वेषणको कामले तीव्रता लिँदै गएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण र स्थानीयलाई मुआब्जा वितरण गरेसँगै कामले तीव्रता लिएको हो ।
पेट्रोलियम पदार्थ अन्वेषण क्षेत्रका २७ घरपरिवारले ४५ रोपनी अधिग्रहण गरी प्रतिव्यक्तिले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा पाएसँगै अन्वेषण स्थलले गति लिएको हो । मुआब्जा वितरण भएर खानी तथा भूगर्भ विभागका नाममा लालपुर्जासमेत आइसकेकाले बाहिरी क्षेत्रमा कुनै समस्या छैन । अन्वेषणको काम सुरु गर्ने अन्तिम तयारी भइरहेको छ ।
जग्गा प्राप्तिले धेरै बाटो खुलेको र अबको चार महिनामा ४ किलोमिटर गहिराइमा पुग्ने योजना बनाएको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले बताए । चार महिनाभित्र ग्यास निस्कने आशामा रहेको उनको भनाइ छ ।
‘अब ज्वाला बलेको स्थानका तीन ठाउँमा ड्रिलिङको काम सकिन्छ, वर्षौंदेखि ग्यास बलेको पादुका, श्रीस्थान र नाभीस्थानमा कम्तीमा ४ किलोमिटर गहिरो ड्रिलिङ गर्नेगरी काम अघि बढाइएको छ,’ उनले भने ।
मुलुककै आर्थिक अवस्था सुधार गर्ने लक्ष्य लिएको पेट्रोलियम पदार्थ अन्वेषणको कामले तीव्रता लिएपछि छिट्टै प्रतिफल निस्कनेमा जिल्लावासी आशावादी छन् । अन्तिम तथा निर्णायक सर्वेक्षणका लागि अन्वेषणस्थलको काम तीव्र गतिमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।
कामदार बस्ने क्याम्प लगायतका काम धमाधम सुरु भइरहेका छन् । जमिनमुनि ४ किलोमिटर डिलिङ गरेर अध्ययन गरिनेछ । धार्मिक आस्था मान्दै आएका जिल्लाका शिरस्थान, नाभिस्थान र पादुकाको भूभाग पेट्रोल र ग्यासको स्रोतका रूपमा संसारकै महत्वपूर्ण स्थान हुनसक्ने अध्ययनले देखाएको खानी तथा भूगर्व विभागका आयोजना प्रमुख नापितले बताए ।
‘अन्तिम ड्रिलिङबाट के कति परिमाणमा ग्यास र पेट्रोल छ भनेर अन्वेषणले देखाउँला, तर अहिलेको अध्ययनअनुसार ग्यास र पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लागिसकेको छ, यो ड्रिलिङ परिमाण पत्ता लगाउने अन्तिम चरण हो,’ नापितले भने ।
ड्रिलिङका लागि ठूलो मेसिन चीनबाट हिँडिसकेको उनको भनाइ थियो । कलकत्ता बन्दरगाहसम्म आउन एक महिना लाग्ने र त्यहाँबाट १५ दिनभित्र दैलेख आइपुग्ने उनले बताए । ठूला सवारीसाधन ल्याउनका लागि कर्णाली राजमार्ग र साँगेतडाको सडक फराकिलो गर्ने कार्य धमाधम भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिए ।
दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपालबीच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनीबीच अन्वेषण र उत्खनन गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो । सो क्षेत्रको २० हजार २० वर्गमिटरमा गरिएको सर्भेका आधारमा अब ड्रिलिङको काम गरिने विभागले जनाएको छ ।
अबको ड्रिलिङले पेट्रोलको भण्डारण र गहिराइ मापन हुने । चिनियाँ टोलीले इन्धन अन्वेषणका लागि यसपटक ड्रिलिङ गर्ने सबैभन्दा उपयुक्त स्थानको छनोट गरिसकेको विभागका भूगर्भविद् गणेशनाथ त्रिपाठीले बताए ।
‘अघिल्ला चरणको अध्ययनले सकारात्मक सम्भावना देखाएकाले ड्रिलिङको काम अघि सारिएको हो, विभिन्न चरणमा गरिएका सर्भेका आधारमा अन्तिम चरणको काममा पुग्न सक्षम भएका हौं, यसपटकको ड्रिलिङले पेट्रोलको भण्डारण र गहिराइ मापन हुनेछ,’ त्रिपाठीले भने ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...