काठमाडौं । पृष्ठभूमिमा जे-जस्तो घटना-परिघटनाहरू घटे पनि समग्रतामा जसपा–जनमतबीचको ‘वार’ मधेसमा को स्थापित हुने भन्ने मुख्य विषय रहेको विश्लेषकहरू बताउँछन् ।
त्यसो त मधेसमा मूलतः जसपा र जनमत नै ठूला पार्टीहरू हुन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने पछिल्लो निर्वाचनबाट झनै खुम्चिएको छ । राष्ट्रिय दलको मान्यता नै गुमाएको उसको राजनीतिक हैसियत मधेस प्रदेशमा मात्रै होइन, केन्द्रमा पनि टिठलाग्दो छ ।
बारम्बार टुटफुटको स्थितिबाट गुज्रिएका पुराना पार्टीहरू एकपछि अर्को गर्दै अस्तित्व नै गुमाउने अवस्थामा पुगेपछि मधेसमा मुख्यगरी जसपा जनमतबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । पछिल्लो निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाएपछि जनमतले मधेसमा जसपालाई राम्रैसँग टक्कर दियो । प्रतिस्पर्धाको तहमा उक्लिएपछि यी दुई दलबीच सङ्घर्ष चर्कियो । यद्यपि राजनीतिक सङ्घर्ष भने पहिल्यैदेखि नै थियो ।
निर्वाचनमा कुनै पनि गठबन्धनमा नरहेको राउत स्वयम्ले यादवलाई हराउँदा उनको दल जनमतले मधेसमा अप्रत्यासित मत पायो । प्रत्यक्षतर्फ ६ र समानुपातिक तर्फ ७ गरी १३ सिटसहितको पार्टी बन्दा जसपाले १६ सिट (प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ ७ सिट) मात्रै हात पार्यो ।
तर, लोकप्रिय मत (समानुपातिक) तर्फ जनमतले जसपालाई उछिन्यो । जनमतले तीन लाख २९ हजार १७७ (१६.८६ प्रतिशत) मत ल्याउँदा जसपाले दुई लाख ९८ हजार ७७४ (१५.३ प्रतिशत) मात्रै मत पायो । जनमतभन्दा धेरै सिट एमाले र कांग्रेसले मात्रै प्राप्त गरे ।
यसपछि जसपा जनमतसँग झस्किएको छ । त्यसो त पछिल्लो समय मधेसमा यादवभन्दा राउतको लोकप्रियता चुलिँदो छ । विखण्डकारी र विध्वंसकारी पृष्ठभूमिबाट आएपनि मूलधारको राजनीतिक बाटो समाएपछि राउतसँग मधेसले धेरै नै अपेक्षा गरेको छ भनेर बुझ्न सकिन्छ । राजनीतिक बाटो स्पष्ट भइनसके पनि जनमत अब मधेसको जबरदस्त शक्तिको रूपमा स्थापित भएको राजनीतिक विश्लेषक सीकेलाल बताउँछन् ।
“अब कसैले स्वीकारे पनि, नस्वीकारे पनि जनमत मधेसको एउटा जबरदस्त शक्ति हो । पछिल्लो निर्वाचनले यो स्थापित गरेको छ,” उनी भन्छन् ।
त्यसो त सहभागी भएको पहिलो निर्वाचनमै राष्ट्रिय दल बनेको सत्य हो । मधेसमा मात्रै ‘फोकस्ड’ भइ चुनावमा सहभागी भएर राष्ट्रिय दल बन्नु चानचुने कुरा नभएको विश्लेषकहरूले बताउने गरेका छन् ।
त्यसो त जसपा भने मधेसकेन्द्रित दल नभएको बुझाइ विश्लेषक सीकेलालको छ, भन्छन्,”बाहिर पनि सङ्गठन बनाउने भनेर लाग्यो । तर, सकेन र फेरि मधेस नै फर्कियो । त्यसैले ऊ मधेसकेन्द्रित होइन, मधेसआश्रित दल हो । उसको नेतृत्वप्रति जनताहरू आश्वस्त छैनन् ।” हुन पनि जसपा नेताहरू आफ्नो पार्टीलाई मधेसकेन्द्रित दल भन्न हिच्किचाउँछन् ।
मधेसको राजनीतिका जानकार हरेराम ठाकुरको बुझाइमा मधेस आन्दोलनबाट उदाएका जसपा अध्यक्ष यादवलाई टक्कर दिने नेताका रूपमा अब जनमत अध्यक्ष राउत ‘फ्रन्ट’मा देखा परेका छन् ।
“तराईको राजनीति पहिले जमिनदारी र ठाठू प्रवृत्तिको थियो । त्यसमा विस्तारै परिवर्तन आएको छ, जनता सुझबुझ युक्त भएका छन् । अब यहाँ विरासतको राजनीति चल्दैन भन्ने देखिएको छ । अन्ततः मधेसमा कुन दल स्थापित हुने भन्ने हो,” ठाकुर भन्छन् ।
जसपा,जनमतबीचको राजनीतिक टकराव मधेसमा को स्थापित हुने भन्नेबारेको ‘वार’ रहेको कुरामा ठाकुर सहमत हुन्छन् । “मुख्यगरी त्यही नै हो । अहिलेको प्रतिस्पर्धा पछिको स्पेश बनाउने कुरा हो,” उनी भन्छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...