
काठमाडौं। वि.संं. २०१२ मा जिल्ला प्रहरी कार्यालय काठमाडौं, महानगरीय प्रहरी परिसर हुँदै जिल्ला प्रहरी परिसर काठमाडौं स्थापनाको ७० वर्षपछि आजबाट आफ्नै अत्याधुनिक कार्यालयमा सरेको छ।
२०१२ मा वसन्तपुरस्थित हनुमानढोकामा रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंमा २०२३ मा ‘केरकार’ शाखाको रुपमा अपराध महाशाखा स्थापना भयो। त्यसपछि दुवै निकाय एकै ठाउँमा रहँदै आएका हुन्।
२०७२ को भूकम्पपछि काठमाडौं परिसर र महाशाखा पूर्णरूपमा विस्थापित भए। भूकम्पले प्रहरी कार्यालय दुवै जीर्ण बनाएपछि टेकुस्थित नेसनल ट्रेडिङको भवन (हाल नेपाल आयल निगमको स्वामित्व) र खाली रहेको जग्गामा अस्थायी रूपमा बस्दै आएका थिए।
संघीय राजधानी काठमाडौंको सुरक्षा जिम्मा पाएको जिल्ला प्रहरी परिसर काठमाडौं अहिले भने आफ्नै जग्गामा बनेको सुवायुक्त भवनमा सरिसकेको छ।
असार २६ गतेदेखि कार्यालयले भद्रकालीस्थित निर्माण भएको नयाँ भवनबाट सेवा दिँदै आएकोमा आज भने औपचारिक रुपमा उद्घाटन भएको छ।
७० वर्षसम्म अरुको जग्गा कब्जा गरेर सेवा दिइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंको आफ्नै भवन बन्नुमा तत्कालीन एसएसपी रविन्द्र धानुकको महत्वपूर्ण योगदान छ।
२०७४ भदौ ७ गते परिसर प्रमुखको जिम्मेवारी सम्हालेका उनले त्योबेलाका गृहमन्त्री जनार्दन शर्मालाई जग्गाका बारेमा आग्रह गरेपछि सरकारले काठमाडौं प्रहरीको भवन निर्माणको जग्गा खरिदका लागि एक अर्ब २० करोड निकासा गरेको थियो।
त्यसपछि भद्रकालीमा रहेको नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गामा काठमाडौं प्रहरीको अत्याधुनिक कार्यालय भवन निर्माण कार्य सुरु भएको हो।
८० करोड रुपैयाँमा कूल लागतमा बनेको भवन ८ तलाको छ । कूल क्षेत्रफलमध्ये भवनका स्ट्रक्चर मात्रै ६ रोपनीमा फैलिएको छ।
काठमाडौं परिसरअनुसार भवनको मुख्य भागमा परिसरमा कार्यरत एसएसपीदेखि प्रहरी निरीक्षकसम्मको छुट्टाछुट्टै कक्ष छन्।
पिलरअनुसार विभाजन गरिएका कार्यकक्ष दर्ता हुने मुद्दा र सेवाग्राहीको चापका दृष्टिले निर्माण गरिएका छन्। भवनभित्र प्रहरीका लागि ब्यारेक र हिरासत कक्ष निर्माण गरिएको छ।
पार्किङका लागि अन्डरग्राउन्डमा ठाउँ छुट्याइएको छ। जहाँ एक सय गाडी र दुई सयभन्दा बढी मोटरसाइकल अटाउँछन्। भवनभित्र एकैपटक दुई सयजना अटाउने कन्फरेन्स हल छ।
एक सयजना अटाउने अर्को बैठक कक्ष पनि छ । प्रहरीका लागि सुविधासम्पन्न मेस, टेलरिङ कक्ष, नास्ता कक्ष तथा मनोरञ्जन कक्ष पनि भवनभित्र निर्माण गरिएका छन्।
भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेका हुन्।
ओलीले आफूले हनुमान ढोकाको हिरासतमा सास्ती भोगेको स्मरण गराउँदै अहिलेको सुवाधासम्पन्न भवन बन्नु ठूलो उपलब्धी भएको बताए। उनले प्रहरीलाई काम गर्न पूर्ण स्वतन्त्रता रहेको समेत बताए।

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...