जबज र २१सौँ शाताब्दिको समाजवादको विवाद चुलियो – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

जबज र २१सौँ शाताब्दिको समाजवादको विवाद चुलियो

एमाले–माओवादी केन्द्रबीच एकतामा सैद्धान्तिक विचलन्


काठमाडौँ । नेकपा एमाले र माओबादी केन्द्रबीच पार्टी एकीकरण होला कि नहोला भन्ने जिज्ञासा अहिले आम जनमानसमा देखिन्छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि नै एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने तयारी गरेका दुवैदल अन्तिम समयमा भने चुनावमा सहकार्य मात्रै गर्ने भन्दै छुट्टा छुट्टै चिन्हमा चुनाव लड्ने निष्कर्षमा पुगेका थिए । दुवै पार्टीका अध्यक्षले शुरुवातबाटै पार्टी एकता गर्ने भनेर प्रचार गर्दै हिँडे पनि अहिले सम्म पार्टी एकताको कामले शुरुवात समेत पाउन नसक्नुले पार्टी एकता गर्ने काममा दुवै पार्टी भित्रैको विवादले रोकिएको भन्ने चर्चा शुरु भएको छ ।

एकतामा किन ढिलाई ?
दुवै दललाई एउटै पार्टी बनाउने भन्दै निर्वाचनमा समेत जनतासँंग मत मागेका एमाले माओबादीले उतिबेलै पार्टी एकता समायोजन समिति समेत बनाएको थियो । समिति बनेको झण्डै २ महिना बित्न लाग्दा समेत समायोजनको खाका कोर्न सकेको छैन । निर्वाचन सकिएको पनि १ महिना नागिसकेको छ । समितिको बैठक गत सोमबार पहिलो पटक बसेको भए पनि राष्ट्रिय सभाकालागि हरेक प्रदेशबाट उम्मेद्वार उठाउने र प्रदेश सरकार बनाउन आवश्यक भूमिका तयार पार्ने काम गर्ने निर्णय बाहेक पार्टी एकता गर्ने कुनै तयारी नहुनुले एकता प्रकृया अब नहुने र दुवै दल सरकार बनाउने खेलमा मात्रै यो प्रचारबाजी गरेको बुझ्न थालिएको छ ।

एमाले र माओबादीका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टी भित्र नै निर्णय नगरी आपसमा सहमति गर्दै जाने प्रबृत्तिले आफूहरुको राजनीतिक भविष्य के हुने हो भन्ने बारे दुवै पार्टीका दोस्रो पुस्ताका नेताहरु चिन्तित हुन थालेका छन् । एमालेमा महासचिव इश्वर पोखरेल, उपमहासचिव घनश्याम भुषाल, सचिव योगेश भट्टराई तथा माओबादीमा कृष्णबहादुर महरा, जनार्दन शर्मा लगायतका दोस्रो तहका नेताहरु असन्तुष्ट छन् भने केही दिन अघि मात्रै माओबादीका विश्वभक्त दूलाल “आहूती” पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै पार्टी नै त्यागेको घोषणा गरिसकेका छन् ।

यस्तै एमाले सँगको एकताको विपक्षमा पार्टीका केन्द्रिय सचिवालय सदस्य गोपाल किराँती नेतृत्वको समूहले माओवादी पार्टीको महाधिवेशनकै माग गर्दै आइरहेका छन् । माओबादीका केन्द्रिय सचिवालय सदस्य किराँतीले पार्टी एकता हुँदा माओवाद, लेनिनवाद र माक्र्सवाद उल्लेख नभए एकता प्रकृया अघि बढ्नै नदिने चेतावनी नै दिइसकेका छन् ।
एमालेका नेता घनश्याम भुषालले एमालेमा पनि अब जबजको च्याप्टर क्लोज भएको र माओबादीले भन्ने गरेको २१ औँ शताब्दिको समाजवाद पनि अब काम नलाग्ने र दुवै पार्टी मिल्ने हो भने नयाँ विचारको प्रतिपादन गर्नुपर्ने औँल्याउँदै अहिलेकै अवस्थामा एकता स्वीकार गर्न नसकिने प्रष्ट पारेका छन् ।

त्यस्तै महासचिव इश्वर पोखरेलले मदन भण्डारीले प्रतिपादन गरेका जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले छाड्नु जनतालाई धोका दिनु जत्तिकै भएको भन्दै त्यो हुन नसक्ने बताउँदै आएका छन् । दुवै दलका नेताहरुको परस्परविरोधी टिप्पणीले अन्य कुरामा एक भएपनि सैद्धान्तिक रुपमा सिद्धान्त र पार्टीको नीतिमा एक हुन नसक्ने प्रष्ट पारिसकेको छ । कुनै बेला माओबाद लेनिनबाद र प्रचण्डपथ भन्ने माओबादी अहिले एकाएक जबजमा जानै नसक्ने मात्रै होइन त्यसरी गए पार्टी नै भताभुंग हुने अध्यक्ष प्रचण्डलाई पार्टी भित्रका नेताहरुले चेतावनी नै दिइसकेका छन् । पद बाँडफाँडमा प्रधानमन्त्री ओलीलाई र नयाँ बन्ने एमाले माओबादी सम्मिलित एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्ने भन्ने आन्तरिक तयारी बुझिएपनि त्यसको एमाले भित्रैबाट विरोध शुरु भइसकेको छ ।

एमालेका महासचिव इश्वर पोखरेलले ओली नै प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलका नेता हुने र प्रचण्ड उनका सहयोगी मात्रै हुने भनेर खुलेरै अभिव्यक्ति दिइसकेकाले यसको पुष्टि हुन्छ । ६०÷४० को भागबण्डा गरेर चुनावी तालमेल गरेको माओबादीलाई एमालेले आफुमा विलय गराउने गरि थालेको षड्यन्त्रका रुपमा माओबादी भित्रका नेताहरुले एमाले महासचिव पोखरेलको अभिव्यक्तिलाई लिएका छन् ।

पार्टी एकताबारे आपसी गृहकार्य जारी रहे पनि दुवै पार्टीका अधिकांश तल्लो तहदेखि कै नेता तथा कार्यकर्ताहरुले आशंका गर्न थालेका छन् । दुई पार्टीबीच वैचारिक, सांगठनिक र शक्ति बाँडफाँडको विषयको विवाद सतहमा छताछुल्ला हुन थालेको छ । सम्मानजनक र भावनात्मक पक्षलाई आत्मसात् गरी एकताको प्रक्रियामा जुटेका यी दलमा केन्द्रदेखि स्थानिय तहसम्म नै पदीय बाडफाँडको विषय पेचिलो बन्दै गएको छ । अध्यक्षहरुले भने जस्तैगरी दुवै पार्टीका कार्यकर्ताहरु एक अर्काको अस्तित्व सहज रुपमा स्विकार्न तयार छैनन् । उनीहरुले केन्द्रिय तहमा मात्र नभएर तल्लो तहसम्म नै सबै वषयको निकर््योल गर्नुपर्ने भन्दै तिव्र असन्तुष्टि जनाउन थालेका छन् ।

दुवै दलको पछिल्लो टिकाटिप्पणीहरुले एमाले र माओवादी केन्द्र एकता नहुने होकी ? भन्ने शंकाका स्वरहरु पनि सुनिन थालेका छन् । कतिपयले यसलाई क्षणिक स्वार्थसिद्धका लागि गरिएको गठबन्धन भन्दै यसले दिगो परिणाम नदिने विश्लेषण गर्न थालेका छन् । कतिपय कार्यकर्ताहरुले १० वर्ष जनयुद्ध लडेर आएको पार्टीलाई प्रचण्डले एकीकृत कम्युनिष्ट पार्टी बनाउने नाममा एमालेसँग विलय गर्न लगेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले एकता गर्नु भन्दा पार्टीलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने माग गरेका छन् ।

फरक विचार बोकेर आएको पार्टीसँग एकता गर्न हुँदैन भन्ने मत पनि एमालेमा बलियो हुँदै गएको छ । दुवै दलमा कतिपय नेता तथा कार्यकर्तारुले एकताको विरुद्ध विद्रोह गर्ने चेतावनी समेत दिएका छन् । कार्यकर्ताहरुको फरक–फरक अभिव्यक्तिले आम सर्वसाधारणमा एकता होला त भन्ने आशंका जन्माएको छ ।

एकतिर पार्टी एकताको कुरा गर्ने र अर्काेतिर पछिल्लो समय बढ्दै गएको दुई दलको फरक फरक धारणाले एकता पक्रिया संकटमा पर्दै गएको देखिन्छ । जन्मिन नपाउँदै समस्यामा परेको एकता प्रक्रिया गर्भमै तुहिने हो की भन्ने संभावना बढ्दै गएको छ । एमाले अध्यक्ष ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीचको छलफलले एकता भन्दा पनि सत्तासमिकरणलाई नेतृत्वले जोड दिएको आम कार्यकर्ताको बुझाई छ ।

यसकारण आफ्नौ पार्टीका शिर्षतहका नेताहरुबाट आफुहरु ठगिएको भन्दै कार्यकर्ताहरुमा निराशा छाएको छ । लामो समयदेखि पार्टीलाई योग्दान दिदै आएका कार्यकर्तामा ठुलाबडा नेताहरुको कुर्सीको लुच्छाचुडिमा आफुहरुको राजनीतिक जीवन नै धरापमा पारेको उनीहरको बुझाई छ ।

एमाले अध्यक्ष ओलीले बुधबार बैंकक जानुअघि एकीकृत पार्टीको अध्यक्ष को हुन्छ भन्ने अहिलेसम्म प्रष्ट नभएको बताउनुले पनि एकता पक्रियालाई अर्थपूर्णरुपमा हेरिएको छ । कुनै अदृश्य शक्तिको आशिर्वाद पाए मात्र एकता पक्रियाले मुर्तरुप लिन सक्ने, नत्र तत्काल यसको संभावना कम रहेको जानकारहरुको भनाई छ । स्मरण रहोस् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले–माओवादीबीच भएको बामगठबन्धनलाई बाह्य शक्तिको इशारामा बनेको कुराले चर्चा पाएको थियो ।

 

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०७४ माघ १, ०९: ४२

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०७४ माघ १, ०९: ४२

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०७४ माघ १, ०९: ४२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...