नागरिक लगानी कोषको नाफामा वृद्धि – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

नागरिक लगानी कोषको नाफामा वृद्धि

नयाँ विकल्प
काठमाडौं–नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७÷०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ ।

कोषले चालु आवको ६ महिनाको अवधिमा रु १ खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद मौज्दात रु एक खर्ब ६४ अर्ब ८८ करोड रहेको छ ।

सो अवधिमा कोषले मुद्दती निक्षेपमा रु १ खर्ब एक अर्ब ६६ करोड, नेपाल सरकारको ऋणपत्रमा रु एक अर्ब पाँच करोड, सङ्गठित संस्थाको शेयर÷धितोत्रपमा रु १२ अर्ब ८३ करोड, सहभागी सापटी तथा आवास कर्जामा रु २७ अर्ब ९३ करोड र समयकालीन कर्जामा रु १९ अर्ब ७२ करोड लगानी गरेको छ ।

कोषको अधिकृत पूँजी रु ८ अर्ब, जारी पूँजी रु ८ अर्ब र चुक्ता पूँजी रु तीन अर्ब रहेको छ । कोषमा सरकारको १०, नेपाल राष्ट्र बैंकको १३.३४, नेपाल स्टक एक्सचेन्जको १०, राष्ट्रिय बीमा संस्थानको ३१.५५, बैंक तथा वित्तीय संस्थाको १५.११ र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

मुलुकको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पूँजीको बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउन तथा पूँजीबजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापना भएको कोषले अवकास कोष सञ्चालन तथा व्यवस्थापन गर्ने, सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्य गरिरहेको छ ।

कोषले कर्मचारी बचत वृद्धि अवकास कोष योजना, आवास कर्जा, लगानीकर्ता हिसाब योजना, उपदान योजना, नागरिक एकाङ्क योजना, राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम र नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।

कोष स्थापनाको ३१औँ स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउने गरी काम गर्न निर्देशन दिए ।

पूर्वाधार विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई विस्तार गरेर आर्थिक पुनःउत्थान गर्नुपर्नेमा जोड दिँदै उनले कोषले सञ्चालनमा ल्याएका योजनालाई थप प्रभावकारी बनाउन सुझाव दिए ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले बचत सङ्कलनका लागि सञ्चालनमा ल्याइएका कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना तथा नागरिक एकाङ्क योजनाबाट सङ्कलित रकमलाई उच्च प्रतिफल प्राप्त हुने गरी जोखिम विश्लेषणका आधारमा लगानी गर्दै आएको बताए ।

बचत सङ्कलनको दायरालाई फराकिलो बनाउन नागरिक पेन्सन योजना शुरु गरिएको बताउँदै, यसबाट बचतकर्ताले सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट जीवनको उत्तरार्धमा सहायता पाउने अपेक्षा गरे । कार्यक्रममा सर्वोत्कृष्ट कर्मचारी र २० वर्षभन्दा बढी अविछिन्न सेवा गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
  • २०७७ चैत्र ५, १२: ४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार
नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार
  • २०७७ चैत्र ५, १२: ४६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १२.७९ अंकले घटेर...

सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँ
सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँ
  • २०७७ चैत्र ५, १२: ४६

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...