इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो

काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) सबै प्रकारका जहाजहरूको आवतजावतका लागि अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार अमेरिकी सेनाले बुधबार राति इरानमाथि गरेको आक्रमणलाई तेहरानले आफ्नो सार्वभौमिकतामाथिको आक्रमण भन्दै कडा प्रतिक्रिया जनाएको हो। अमेरिकाले भने उक्त कारबाही इरानको “अनुचित र निरन्तर आक्रामक गतिविधि” को जवाफ भएको दाबी गरेको छ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार होर्मुज जलमार्ग आसपासका क्युसिम टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भीषण विस्फोट भएका छन्। दक्षिणी सहर करगानमा पनि बमबारी भएको बताइएको छ, जसमा कम्तीमा दुई जना घाइते भएका छन्।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकाले गत अप्रिलमा भएको युद्धविराम सम्झौताको बारम्बार उल्लंघन गरेको आरोप लगाउँदै होर्मुज जलमार्ग बन्द गर्ने निर्णय गरिएको जनाएको छ। आईआरजीसीका अनुसार तेल ट्यांकरसहित सबै व्यापारिक जहाजहरूको आवतजावतमा प्रत्यक्ष असर पर्नेछ।

यसैबीच, इरानले जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न आफूले सहयोग गरिरहेको भन्ने अमेरिकाको अघिल्लो दाबीलाई पनि अस्वीकार गरेको छ।

अमेरिकी ‘अपाचे’ हेलिकोप्टर होर्मुज क्षेत्र नजिकै खसालिएको घटनापछि अमेरिका र इरानबीच सैन्य तनाव लगातार बढ्दै गएको छ। त्यसको भोलिपल्ट दुवै पक्षबाट भएका कारबाहीले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका थिए। ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “सम्झौताबारे के हुन्छ, त्यो हेरौँला। हामी सम्झौताको निकै नजिक पुगेका थियौँ, तर उनीहरूले हामीलाई अल्झाउने र झुक्याउने प्रयास गरिरहेका थिए।”

उता, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्पको अभिव्यक्तिको कडा आलोचना गरेका छन्। उनले इरानमाथि बाह्य दबाब स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

होर्मुज जलमार्ग विश्वको करिब एक-पाँचौं तेल आपूर्तिको प्रमुख मार्ग मानिन्छ। यस क्षेत्रमा उत्पन्न तनावले विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमा व्यापक प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार

दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
  • २०८३ जेष्ठ २८, ०८: ०१

काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...

डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
  • २०८३ जेष्ठ २८, ०८: ०१

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  • २०८३ जेष्ठ २८, ०८: ०१

काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...