
तुर्कमेनिस्तान : प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गरेका छन् । उनले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने संकल्प पनि प्रस्तुत गरे ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको प्लेनरीसत्रमा अल्पविकसित (एलडिसी) मुलुकहरूको समूहका साथै नेपालका तर्फबाट आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गाढारूपमा क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरको सहकार्य बढाएमा समृद्धिको गन्तव्य पुग्न यी मुलुकका भूगोल लामो समयसम्म अवरोधक हुन नसक्ने स्पष्ट पारे ।
जलवायु परिवर्तन र विपद् जोखिमका खतराका कारण भूपरिवेष्टित मुलुक प्रताडित भएको उल्लेख गर्दै उनले डिजिटल अर्थतन्त्रमा अगसर हुँदै समावेशी र अनुकूलन आर्थिक वृद्धिको यात्रामा दृढ संकल्प र स्पष्ट योजना ल्याउन आवश्यक भएको बताए ।
उनले बलियो राजनीतिक इच्छाशक्ति, कुनै पनि देशलाई पछाडि नछाड्ने नवीकृत र बलियो विश्वव्यापी साझेदारी, सबै तहमा समन्वयात्मक कार्य गर्न भूपरिवेष्टित मुलुकलाई सुझाव दिए । उनले भने, “म दृढ विश्वास छ, सही नीति, बलियो ऐक्यबद्धता र समर्थनको साथ यी मुलुकले भूपरिवेष्टितबाट भूजडितमा, पारवहन आश्रितबाट व्यापार प्रतिस्पर्धी र जलवायु जोखिमपूर्णबाट जलवायु अनुकूलनमा रूपान्तरण गर्न उत्कृष्टता प्रदर्शन गर्नेछन् ।”
उनले थप भने, “हामीले संरचनात्मक रूपान्तरण, व्यापार सहजीकरण र क्षेत्रीय एकीकरण, पारवहन, यातायात र कनेक्टिभिटी, जलवायु अनुकूलनका नीति लिएर समानता, समावेशीकरणसहित साझा अवसरको लागि मार्ग समात्नुपर्नेछ ।”
उनले भूपरिवेष्टित मुलुकको परिवारको सदस्यका रूपमा सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्दै यस रूपान्तरणको लाभग्राही मात्र नभइ एक साझेदारका रूपमा नेपाल रहने बताए । उनले नेपालले ‘आवाजा कार्यक्रमको कार्यढाँचा’ लाई समर्थन गर्दै यसलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई जोडर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
आजदेखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई सम्बोधनको क्रम जारी रहेको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता पनि गर्नेछन् ।
काठमाडौं : सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त भएका छन् । न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको...
सर्लाही : मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने...