कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय कार्यसमिति बैठक डेढ महिना गुज्रँदासमेत निष्कर्षमा नपुगेको भन्दै नेतृत्वप्रति गम्भीर प्रश्न उठाएका छन्। विशेष महाधिवेशन माग गर्दै काठमाडौंमा आयोजित भेलामा सम्बोधन गर्दै उनले विश्वमै कुनै पनि पार्टीको बैठक यति लामो समय नबसेको टिप्पणी गरे।

घिमिरेका अनुसार पार्टीका नेता देवराज चालिसेले दलहरूको इतिहास खोज्दा चिनियाँ कम्युनिस्ट पार्टीको बैठक २३ दिनसम्म चलेको पाएका थिए।
‘हाम्रो त डेढ महिना भयो। भोलिको बैठक पनि सर्ने हल्ला छ, र यहाँ भएको हल्ला प्रायः सत्य हुने गर्छ,’ उनले व्यंग्य गर्दै भने।

असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन भन्नेबारे अझै सहमति जुटाउन सकेको छैन।

नेता घिमिरेले मुलुकलाई स्पष्ट राजनीतिक निकास दिन कांग्रेसले विशेष महाधिवेशन गर्नैपर्ने दाबी गरे। विगतका महाधिवेशन समयमै हुन नसकेको उल्लेख गर्दै उनले भने,
‘४ वर्षमा भएन, ५ वर्षमा भएन। अब यस्तो चल्दैन। विधानले दिएको प्रक्रिया सुचारु गर्नुपर्छ भनेर ३ वर्षदेखि भन्दै आएका छौँ, तर सुनिएन।’

उनका अनुसार विशेष महाधिवेशन माग गर्दै २४८८ प्रतिनिधिको हस्ताक्षर केन्द्रीय कार्यालयमा बुझाइसकिएको छ।

‘यो झगडा हैन, अनुशासनहीनता पनि हैन। संस्थापक नेताहरूले देखाएको बाटो नै हो,’ उनले कार्यवाहक सभापतिलाई आफूहरूले भनेको स्मरण गराए।

घिमिरेले कांग्रेस ३६ वर्ष सत्तामा रहेर पनि कमजोरीबाट मुक्त हुन नसकेको आरोप लगाए। गलत निर्णय र राजनीतिक दिशाहीनताले पार्टी कमजोर बनेको दाबी गर्दै उनले गम्भीर आत्मसमीक्षाका लागि विशेष महाधिवेशन अनिवार्य भएको बताए।

भेलामा बोल्दै घिमिरेले १५औँ महाधिवेशन समयमै नहुने देखेपछि विशेष महाधिवेशन अभियान चलाउन बाध्य भएको बताए।

‘झन्डै ५५ प्रतिशत प्रतिनिधिको हस्ताक्षर दर्ता भइसकेको छ,’ उनले दाबी गर्दै भने, ‘यसले नेतृत्व परिवर्तनको जनचाहना स्पष्ट देखाउँछ।’

घिमिरेले कांग्रेस अब ‘सत्ताको आहालमा बस्दा लागेको हिलो पखाल्दै’ सुधारको मार्गमा अघि बढ्नुपर्ने टिप्पणी गर्दै आफ्नो सम्बोधन टुङ्ग्याए।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको भेला २०१४ सालको पहिलो विशेष महाधिवेशनमा सहभागी पुर्व केन्द्री सदस्य एवम् पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठको अध्यक्षतामा सुरु भएको हो। भेलामा जेनजीका प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८२ मंसिर १०, १४: २३

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८२ मंसिर १०, १४: २३

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ मंसिर १०, १४: २३

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...