भतभेद छाडेर मिल्नु नै अबको विकल्प – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
जेनजी आन्दोलन र निर्वाचनपछि कांग्रेस इतिहासकै कठिन मोडमा, लोकतन्त्र कमजोर बन्दै जाने त्रास

भतभेद छाडेर मिल्नु नै अबको विकल्प

काठमाडौं । पछिल्लो समय विकसित आन्तरिक मतभेदका कारण नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायवाची मानिने दल नेपाली कांग्रेसमा यतिबेला इतिहासकै कठिन मोडमा आइपुगेको छ । कांग्रेस पार्टीभित्र उत्पन्न यस्तो परिस्थितिबाट कांग्रेसजनमात्र होइन, संपूर्ण लोकतन्त्रबादीहरु चिन्तित हुन पुगेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले बेहोर्नु परेको पराजयका पछाडि केही हदसम्म यहि मतभेदले काम गरेको बुझ्न सकिन्छ ।

कांग्रेसभित्र आजका दिनमा देखिएको मतभेद कुनै एक दिनमा, कुनै एकजना व्यक्ति र कुनै एउटा घटना विशेषका कारण उत्पन्न भएको पक्कै पनि होइन । लामो समयदेखि नेतृत्व चयन प्रक्रियामा विवाद, क्रियाशील सदस्यता वितरणमा हुँदै आएको अपारदर्शी निर्णय, अवसरको असमान वितरण, कार्यकर्तामाथि काखापाखाको व्यबहार अनि विचारधारात्मक अस्पष्टता जस्ता कारणले गुटगत राजनीतिलाई मलजल दिदै आएको छ । यसो हुँदा आफ्नो गुटका नेताले गरेका गलत निर्णयको प्रतिवाद गर्नु त कता हो कता त्यसको साक्षीका रुपमा बसी ढाकछोप गरेर बफादारपन देखाउँदै आएका छन् । यो सवालमा कुनै गुट विशेषका नेता नभई हरेकले आफूलाई इमान्दार देखाउने प्रयास गरेको अहिलेसम्मका घटनाक्रमहरुलाई मसिनो ढंगबाट नियाल्दा प्रष्टै हुन्छ ।

भित्रभित्रै भुसको आगो जसरी सल्किएको विवादलाई भदौ २३ र २४ गतेको जेन जी विद्रोहले मलजल गर्ने काम गरेको थियो । जेन जी विद्रोहपछि पुरानो पुस्ताका नेतृत्वप्रति आम रुपमा बितृष्णा बढेको कुरा साँचो हो । यो कांग्रेसका सबालमा मात्र होइन, अन्य दलका नेताका सबालमा पनि भएको हो नै । कांग्रेसका सबालमा विशेषतः विशेष महाधिवेशनको मागका लागि गरिएको हस्ताक्षर संकलन र त्यसपछि विकसित घटनाक्रमले पार्टी प्रष्ट रुपमा दुई धारमा बिभाजित हुन पुग्यो । परिणाम के भयो भने विशेष महाधिवेश पक्षधर महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई कांग्रेसले कार्बाही गर्यो भने त्यस लगत्तै भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा चयन भए । पुरानो संस्थापन आफूहरुलाई आधिकारिकता दिनुपर्ने भन्दै निर्वाचन आयोगको ढोका ढक्ढक्याउन पुग्यो ।

तर निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नेतृतव आधिकारिक भएको बताएपछि सो समूह आधिकारिकता आफूले पाउनु पर्ने भन्दै सर्वोच्च अदालत पुगेको छ । जसको फैसला सर्वोच्चबाट अझै भइसकेको छैन । निर्वाचन आयोगले आधिकारिकता दिएपछि सानेपास्थित पार्टी कार्यालयमा पुगेर थापा नेतृत्वको कार्यसमितिले आफ्ना गतिबिधि अघि बढाएको हो । थापाले नै गत निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई टिकट बितरण पनि गरेका थिए । थापाको हस्ताक्षर भएको टिकट लिएर पुरानो संस्थापन र कोइराला समूहका नेताहरु चुनाबमा भाग लिन गएका पनि हुन् । निर्वाचनमा पार्टीले बेहोर्नु परेको पराजयपछि कांग्रेसभित्रको गुटले थप मौलाउने मौका पाएको हो ।

निर्वाचनपछि पुरानो संस्थापनका तर्फबाट निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीको एक होटलमा समानान्तर केन्द्रीय कार्यसमितिको बैठक राखेर बृहत छलफल गरेका थिए । जुन छलफलमा देउवा समूहका अधिकांश नेताहरुको उपस्थिति रहेको थियो । बैठकपछि कांग्रेसको लेटरप्याड प्रयोग गरी कार्यबाहक सभापतिका हैसियतमा उनले बैठकका निर्णयहरु सार्वजनिक गरेका थिए । यतिमात्र होइन, प्रतिनिधिसभा र राष्टिय सभामा कांग्रेसका तर्फबाट निर्वाचित सांसदहरुलाई दोसल्ला ओढाएर स्वागत गर्ने कार्यक्रम समेत गरेका थिए । यसबाट असन्तुष्ट बनेका सभापति थापाले केन्द्रीय कार्य समितिको बैठकबाट खड्कालाई यस किसिमका समानान्तर भेला नगर्न चेतावनी दिदै अनुशासन समितिबाट अनुशासनको कार्बाही गरिने चेतावनी दिएपछि समानान्तर बैठक रोकिएको हो ।

यसरी नेतृत्व–केन्द्रित राजनीति र भागबण्डाको प्रवृत्तिले आम कार्यकर्ता तहमा निराशा बढाएको छ । पार्टीभित्र देखिएको गुटबन्दी, नेतृत्वप्रतिको असन्तुष्टि, नीति तथा कार्यदिशामा देखिएको अस्पष्टता जस्ता कारणहरूले कांग्रेसको एकतामाथि प्रश्न उठिरहेको छ । यस्तो अवस्थामा पार्टीलाई पुनः एकीकृत, सुदृढ र जनमुखी बनाउन के–कस्ता उपाय आवश्यक छन् भन्ने विषयमा गम्भीर बहस हुन जरुरी देखिन्छ । आजको दिनमा कसैले पनि एकअर्कामाथि दोष थोपरेर आफूलाई पानीमाथिको ओभानो साबित गर्ने प्रयास नगरे पनि हुन्छ । किनभने को कति पानी माथिको ओभानो छ भन्ने कुरा वर्षौदेखि कांग्रेसलाई नजिकबाट नियाल्दै आएका आम कार्यकर्ताले राम्रोसंग बुझेका छन् ।

समानान्तर गतिविधि गर्दै अघि बढेको कांग्रेसलाई एकढिक्का बनाउनका लागि सबैभन्दा महत्वपूर्ण भूमिका शीर्ष नेतृत्वको नै हुन्छ । त्यसका लागि नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको समग्र हितलाई प्राथमिकतामा राख्नुपर्छ । संवाद, सहमति र सहकार्यको संस्कृतिलाई प्रवद्र्धन गर्न नसकेसम्म यस्ता मतभेद हल हुन सक्दैन । मतभेद हल गर्नका लागि नेतृत्वबीच भेटघाट र संवाद हुनुपर्छ । जति बाक्लो भेटघाट र संवाद हुन सक्यो त्यति नै मतभेदहरु साँघुरिदै जान्छन् । त्यसकारण कांग्रेसभित्र देखिएको समस्या समाधान गर्नका लागि पार्टीभित्र संस्थागत सुधार अपरिहार्य देखिन्छ । त्यसका लागि पार्टीको निर्णय प्रक्रियालाई पारदर्शी बनाउनै पर्छ । यतिमात्र होइन, आन्तरिक लोकतन्त्रलाई मजबुत गर्ने र योग्यताको आधारमा जिम्मेवारी बाँडफाँड गर्ने प्रणाली विकास गर्न‘पर्छ । यसो हुँदा गुटगत प्रभाव घटाउन र पार्टीभित्र विश्वासको वातावरण सिर्जना गर्न मद्दत पुग्छ ।

सरसर्ती हेर्दा कांग्रेसलाई एकताबद्ध बनाउने काम सजिलो जस्तो देखिदैन तर पनि नेतृत्वले चाहने हो भने यो काम असम्भव पनि होइन । स्पष्ट नीति, सक्षम नेतृत्व, पारदर्शी प्रणाली र समावेशी सहभागिताको नीति अबलम्बन गर्न सक्दा मात्र पार्टीको आन्तरिक मतभेद हटाएर पुनः मुलुककै बलियो राजनीतिक शक्ति बनाउन सकिन्छ । कांग्रेस जस्तो लामो राजनीतिक इतिहास भएको दल एउटा निर्वाचनमा पराजय हुदैमा सधैका लागि पछाडि पर्न सक्दैन । धेरै टाढा जानै पर्दैन २०६४ को संविधान सभा निर्वाचनमा माओवादीको देशव्यापी रुपमा कस्तो राप र ताप थियो । त्यो राप र ताप भएको राजनीतिक दलको नाम आजका दिनमा हराएर गएको छ ।

जतिबेला कांग्रेसको अवस्था राम्रो थिएन । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा ठूलो दल बनेको कांग्रेसका तत्कालनी सभापति सुशील कोइराला नेतृत्वको सरकारबाट संविधान जारी गर्न संभव भयो । तत्कालीन माओवादी र एमालेबीच कम्युनिष्ट एकतापछि भएको २०७४ को निर्वाचनमा कांग्रेसको अवस्था कस्तो भएको थियो ? झण्डै दुई तिहाई मत पाएका यी दुई दलबीच फाटो आएपछि २०७९ को निर्वाचनमा पुनः कांग्रेस ठूलो दल बन्न सक्यो । त्यसकारण फागुन २१ को निर्वाचनपछि संसदमा साँघुरिएको कांग्रेसको हैसियतलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि दुवै खेमाका नेतृत्वले हिजोका दिनमा भएका गल्ती कमजोरीको जिम्मा लिनुपर्छ । साथै समयमै आत्मसमीक्षा र सुधारको बाटो अपनाएर अघि बढ्दा आगामी दिनमा कांग्रेसलाई कुनै पनि शक्तिले रोक्न सक्दैन । त्यसो नगरी मेरो गोरुको बाह्रै टक्का भन्ने दम्भ बोकेर हिड्ने हो भने कांग्रेसले भविष्यमा अझ ठूलो चुनौती सामना गर्न‘पर्ने हुन सक्छ । नेतृत्वलाई चेतना भया ।

सम्बन्धित समाचार

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८२ चैत्र ३०, १६: ५०

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ चैत्र ३०, १६: ५०

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०८२ चैत्र ३०, १६: ५०

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...