डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको राजनीतिमा यता न उता हुने भएका छन् ।

१४औं महाधिवेशनमा कोइराला थापा एउटै क्याम्पबाट महाधिवेशनमा होमिएका थिए । १४ औं महाधिवेशनमा होमिदा देउवा समूहबाट कोइरालालाई सभापतिमा हराउन प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिमा देउवाकै रणनीति अनुसार उम्मेदवारी दिएको त्यतिबेलै राजनीतिक वृत्तमा चर्चा थियो । जसअनुसार सभापति पदको लागि भएको पहिलो चरणको निर्वाचनमा चार जनामध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचनमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा विमलेन्द्र निधिले २५०, प्रकाशमान सिंहले ३७१, डा. शेखर कोइरालाले १७०२ र शेरबहादुर देउवाले २२५८ मत पाएका थिए ।

५१ प्रतिशत मत चारै जनामध्ये कसैले पनि प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गरेर कोइरालालाई हराएका थिए । जसअनुसार कोइरालाले १८५५ र देउवाले २७५८ मत प्राप्त गरी देउवा सभापति पदमा निर्वाचित भएका थिए । दोस्रो चरणको निर्वाचनमा निधि र सिंहलाई आफुसँग ल्याउन सकेको भए सभापति बन्ने बलियो सम्भावना थियो ।

तत्पश्चात कोइराला पार्टीभित्रको विकृति, विसंगति र एकाधिकारवादको विरुद्ध भन्दै देशव्यापी दौडाह गरेर चर्चा कमाएका थिए । कांग्रेसको नियमित महाधिवेशन समयमै हुनुपर्छ भन्दै देश दौडाह गरेका कोइरालाले पछिल्लो समय कांग्रेसका केन्द्रीय समितिको समय सकिँदा नसकिँदै समय थपमा देउवा पक्षलाई साथ दिएर युवा पुस्ताको पुस्तान्तरण र हस्तान्तरणको प्रक्रियालाई ब्रेक लगाइदिएपछि देउवा निकट हुँदै गए । विशेष महाधिवेशनको सन्दर्भमा पनि दोहोरो भूमिका निभाउँदै कसैले हस्ताक्षर गर्नु कसैलाई नगर्नु भन्दै आएका कोइरालाले विशेष महाधिवेशनको समय तालिका प्रकाशित गरिँदा ठुलो आपत्ति जनाए । विशेष महाधिवेशनमा उपस्थित भएर विशेष महाधिवेशनको सभापति भइदिन गरेको आग्रहलाई पनि इन्कार गरे ।

देउवा निकट हुँदै गएपछि थापालाई एक्लाउन केही थान आफु निकट नेताहरुलाई राष्ट्रिय सभा र समानुपातिक सूचीमा पार्न सफल भएपछि नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनलाई पार्टी फुटको संज्ञा दिएपश्चात थापा कोइरालाबीच बोलचाल समेत बन्द भयो । फागुन २१ कै निर्वाचनमा थापाकै हस्ताक्षरबाट मोरङ ६ मा निर्वाचनमा होमिएका कोइराला विराटनगरमा कांग्रेसको उद्गमस्थल समेत बचाउन नसकेर कोइराला परिवारको लिगेसी माथि नै प्रश्न चिन्ह खडा हुँदा पनि कोइरालाले विगतका राजनीतिक अवस्थाको विश्लेषण गर्न सकेनन् । निर्वाचनमा रास्वपाकी चर्चामै नरहेकी रुविना आचार्यसँग ४२६६३ मतान्तरणले पराजित भए । जसअनुसार कोइरालाले १२८५० मत ल्याउँदा रुविनाले ५५५१३ मत ल्याएकी थिइन् ।

पटक पटक विभिन्न अवसर र चुनौतीको सामना गर्न चुकेका डा. शेखर कोइरालाका हस्तीहरु सर्वाेच्चको फैसलापछि गगन थापा नेतृत्वको कांग्रेसमा छिर्नका लागि जता रुख र झण्डा उतै कांग्रेसभन्दै सामाजिक सञ्जाल रंग्याइरहेका छन् । केही दिन अगाडि आफ्नै पार्टीभित्र वार्ता टोली भनेर डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोखरेललाई देउवा पक्षसँग वार्ता गर्न र जीवन परियार र बद्री पाण्डेलाई गगन विश्व पक्षसँग वार्ता गर्न भनेर वार्ता टोली गठन गरेर पार्टीभित्र गाईजात्रा नै देखाए । आफ्नो खेमाका नेताहरु धमाधम सभापति गगन थापाको सम्पर्कमा जान थालेपछि कोइराला यतिबेला कांग्रेसको राजनीतिमा यता न उती हुँदै गएको देखिन्छ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८३ बैशाख ८, १६: ४७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८३ बैशाख ८, १६: ४७

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८३ बैशाख ८, १६: ४७

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...