सुदुरपश्चिममा देउवा समूहभित्र ठूलै ‘भूकम्प’ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
कांग्रेसको ‘जरा’ अभियानमा नेता कार्यकर्ताको देशभर आकर्षण, देउवा कोइराला गुट भत्कँदै

सुदुरपश्चिममा देउवा समूहभित्र ठूलै ‘भूकम्प’

 

काठमाडौं । विशेष महाधिवेशनमार्फत निवर्तमान महामन्त्री गगन थापाको नेतृत्व पाएको नेपाली कांग्रेसले पछिल्लो समय संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीब्रता दिएको छ । फागुन २१ को निर्वाचनमा भोग्नु परेको पराजयपछि आगामी निर्वाचनलाई लक्षित गरी कांग्रेसले संगठन सुदृढीकरणलाई प्राथमिकता दिएको हो । यो अभियानका पक्षमा देशभर माहौल सिर्जना गर्नका लागि कांग्रेसले जरा अभियान शुरु गरेको छ ।

सभापति गगन थापाले काठमाडौं महानगरपालिका ३० बाट आफ्नो कृयाशील सदस्यता अद्यावधिक गरेसँगै वैशाख १ गतेदेखि जरा अभियान सुरू भएको थियो । वैशाख महिनाभर चल्ने अभियानका क्रममा राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रवाह गर्ने तथा स्थानीय तहसम्म पार्टी जागरण र रूपान्तरण स्वरुप क्रियाशील सदस्यता अधावधिक गर्ने अभियान चलाइएको छ । आफ्नो चुनाव चिन्ह रूखको जरा गोडमेल गर्न र पार्टीमा ताजगी अभिवृद्धि गर्न यो अभियानले मद्दत पु¥याउने कांग्रेसको विश्वास छ । जरा अभियानमार्फत पार्टीको भूमिका सबल बनाउँदै देश, प्रणाली र समाज सबल बनाउने नेतृत्वको अपेक्षा रहेको छ ।

जरा अभियानकै क्रममा कांग्रेसले गत शनिबार सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा विशाल कार्यक्रम आयोजना गर्यो । निवर्तमान सभापति शेरबहादुर देउवाको पकड मानिने यो प्रदेशमा देउपा पक्षीय नेताहरुले जरा अभियानको कार्यक्रम संचालन गर्न नदिइने धम्की समेत दिएका थिए । तर कार्यक्रममा सहभागी भएका यो प्रदेशका ९ वटै जिल्लाका कांग्रेसजनहरुले सुदुरपश्चिम अब हिजोका दिनमा जस्तो कुनै व्यक्ति बिशेषको पकडमा अब नरहने सन्देश दिएका छन् । अर्थात् देउवा समूहका नेताहरुको अनुपस्थितिलाई कतिपयले ओइलाएका पात सानो बतासका कारण झर्न थालेको रुपमा अथ्र्याएका छन् ।

आफ्ना समूहका नेता कार्यकर्तालाई कार्यक्रम बहिष्कार गर्नका लागि देउवा समूहले जारी गरेको उर्दीको वेवास्ता गर्दै नेता कार्यकर्ताको उत्साहजनक उपस्थितिका कारण सुदुरपश्चिममा देउवा पक्षका नेताहरु नराम्ररी झस्कन पुगेका छन् । कतिपयले यसलाई देउवा समूहमा आएको भूकम्पका रुपमा लिएका छन् । प्रदेशका आठ जिल्ला सभापति सहभागी रहेको कार्यक्रममा कैलाली सभापति हिरादत्त भट्टमात्र सहभागी थिएनन् ।

पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ सुदुरपश्चिमको कार्यक्रममा कांग्रेस प्रदेश सभापति बीरबहादुर बलायर उपस्थित भएनन् । सभापति बलायर मात्र होइन, देउवा पक्षीय नेताहरु रमेश लेखक र एनपी साउद पनि सहभागी भएनन् । बलायर, लेखक र साउदको अनुपस्थितिले कांग्रेस एक नभएको प्रष्ट सन्देश यो प्रदेशमा पनि पुगेको छ ।
भेलालाई सम्बोधन गर्दै सभापति थापाले नेता कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आ–आफ्नो जिम्मेवारीअनुसार सङ्गठनको काममा लाग्न निर्देशन दिए । सभापति थापाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारीभन्दा बाहिर राखिने पनि उल्लेख गरे । पार्टीका उपसभापति एवं प्रशिक्षण

प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ पार्टीलाई सम्हालेर अघि बढ्ने समय आएको बताए । उनले भने,“अब कांग्रेसले नयाँ ढङ्गले सोच्नुपर्ने समय आएको छ । अब पार्टी मात्र होइन, समाजलगायत सबैलाई सम्हालेर साझा सङ्गठन बनाउने जिम्मेवारी आएको छ ।” महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र कसैप्रति कुनै आग्रह पूर्वाग्रह नराखेर पार्टी सङ्गठन एकीकृत र सुदृढ पार्दै अघि बढ्ने बताए । पार्टीमा कुनै अवसर नपाएर किनाराकृत गरिएका क्षमतावान् र निष्ठावान् नेता कार्यकर्ताको उचित मूल्यांकन गरिने पनि उनको भनाइ थियो ।

कार्यक्रम उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगनकुमार थापासँग प्रश्न गरे । यतिमात्र होइन, मुख्यमन्त्री शाहले जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएको लगायतका विषयमा प्रश्न गरेका थिए ।

उनले देउवालाई टिकट दिनबाट बञ्चित गराइनुको कारण सोध्दै अब देउवाको स्थान के हुने ? भन्नेबारे पनि प्रश्न गरेका थिए । थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति नभएको बताउँदै सिंगो कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी पनि सभापति थापाकै काँधमा रहेको उनको भनाइ छ । ‘अबको १० बर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ तर, तपाईंको कार्यसमितिभित्र पनि भाइरसहरू छन् तिनले तपाईंलाई समाप्त पार्न सक्छन्,’ उनले भने । उनले सिंगो नेपाली कांग्रेसलाई एक बनाएर अघि बढ्न सुझाव पनि दिएका थिए ।(नयाँ विकल्प साप्ताहिकबाट
)

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ बैशाख २८, १५: ००

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ बैशाख २८, १५: ००

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ बैशाख २८, १५: ००

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...