
काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुर्खेतमा आयोजना गरेको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ मा पुगेर सभापति गगन थापाले पार्टी एकढिक्का रहनेमा नेता कार्यकर्तालाई आश्वस्त पारेको चार दिनपछि सोही ठाउँबाट इतर समूहका नेतासमेत रहेका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुटको डिलमा रहेको खुलासा गरेका छन् । देउवालाई भजाएर बनेको सात भाइमध्येका समूहले समूहगत परामर्श बिना प्रतिनिधित्वका नाममा सभापति थापाले केन्द्रीय समितिमा १९ जना नेतालाई मनोनित गरेपछि रुष्ट बनेको सो समूहका नेताहरुले आन्तरिक एकताको वातावरण बिग्रदै गएको निष्कर्ष निकालेका छन् । देउवा समूहमात्र होइन, अर्का नेता डा. शेखर कोइराला समूहले पनि सभापति थापाले केन्द्रीय सदस्यमा गरेको मनोनयनप्रति असन्तुष्टी जनाएको छ । पार्टी फुटको डिलमा रहेको भन्ने नेता खड्काको अभिव्यक्तिलाई त्यसैको एउटा कडीका रुपमा लिइएको छ ।
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले शनिबार वीरेन्द्रनगरमा गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा खड्काले थापा सानेपाको मात्रै सभापति भएको भन्दै सिंगो पार्टीको सभापति बन्न नसकेको बताए । उनले तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए । केही दिनअघि सभापति र उपसभापतिहरूसँगको छलफलमा पनि आफूले त्यो कुरा भनेको खड्काले स्मरण गराए ।
पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय कार्यक्रमहरू सञ्चालन गरिरहेका बेला देउवा समूहले आन्तरिक रणनीति तय गर्न सात वटै प्रदेशमा भेला गरिएको थियो । खड्का समूह प्रदेशस्तरीय भेला आयोजना गरेर आसन्न १५औं महाधिवेशनको तयारीमा जुटेको हो । ‘विचार समूहको प्रदेशस्तरीयभेलाको उद्देश्य पार्टी संगठन सुदृढ बनाउने, १५औं महाधिवेशनको तयारी अघि बढाउने र निराश बनेका साथीहरूलाई पुनः सक्रिय र एकताबद्ध बनाउने’ भनिएता पनि विना आयोजक समिति गरिएको भेला सके भागबण्डा लिने नसके पार्टी टुक्र्याउने जस्ता धम्कीहरु सो समूहका नेताहरुले भाषण मार्फत चिच्याइरहेका छन् । खड्का समूहले प्रदेशस्तरीय भेलाका लागि कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्दप्रसाद ढुंगानालाई समन्वयको जिम्मेवारी दिएको छ । यस्तै, गण्डकीमा मेखलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र डा. प्रकाशशरण महतले समन्वय गरिरहेका छन् । यसैगरी, लुम्बिनीमा निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई जिम्मा दिइएको छ ।
त्यसक्रममा देउवा समूहले वैशाख २९ गते कोशीमा प्रदेशबाट भेलाको शुभारम्भ गरेको छ । नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कोशी प्रदेशस्तरीय भेला गरेको १४औँ महाधिवेशन पक्षधरले वैशाख ३० गते बागमती भेला गरेको छ । राजधानीको कार्की व्यांकेटमा भएको भेलाका संयोजक प्रकाशमान सिंहले १४औँ महाधिवेशनका प्रतिनिधिको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । पार्टीको विधि र विधानमा भएको व्यवस्था मिचेर पार्टीलाई कमजोर बनाउने कार्य टुलुटुलु हेरेर नबस्ने धम्की दिएका छन् ।
यसरी कांग्रेसभित्र संस्थापन र १४औं महाधिवेशनबाट निर्वाचित समूहबीच भेलाका नाममा आफू निकटहरुलाई एकताबद्ध गर्ने प्रयास भइरहेको छ । संस्थापनले कैलालीको धनगढीमा २६ र २७ वैशाखमा सुदूरपश्चिम प्रदेशस्तरीय भेला गरेको थियो भने २८ र २९ वैशाखमा कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा सम्पन्न गरेको छ । ३१ वैशाख र १ जेठमा गण्डकी प्रदेशस्तरीय भेला पोखरामा गरेको कांग्रेसले ४ र ५ जेठमा बागमती प्रदेशस्तरीय भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा गर्दैछ । त्यसैगरी, मधेश प्रदेशको भेला ६ र ७ जेठमा महोत्तरीको बर्दिबासमा, कोशी प्रदेशको ८ र ९ जेठमा सुनसरीको लौकही तथा लुम्बिनी प्रदेशको तिलोत्तमामा १४ र १५ जेठमा आयोजना हुदैछ । अर्कातिर, कोशी , बागमती र कर्णाली प्रदेशमा भेला गरिसकेको देउवा समूहले पनि मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुपश्चिम प्रदेशमा महाधिवेशनको तयारीका नाममा भेला गरेर जता रुख र झण्डा उतै कांग्रेस भनेर बस्ने नेता तथा कार्यकर्ताहरुलाई भ्रमको जालो फाक्दै हिँडेको छ ।
यसरी पार्टीका समान प्रकृतिका कार्यक्रमहरु फरक फरक व्यानरमा समानान्तर ढंगले अघि बढ्नुले कांग्रेस इतिहासको अर्को एउटा कठिन मोडमा आइपुगेको छ । जब जब लोकतन्त्र खतरामा पर्छ तब कांग्रेस बिभाजनतिर मोडिने गरेको छ । २०५९ सालमा राजा ज्ञानेन्द्रका कारण लोकतन्त्र खतरा परेका बेला कांग्रेस दुई चिरा भएको थियो । त्यसकारण हिजोका घटनाबाट पाठ सिकेर कांग्रेसलाई एकढिक्का बनाउनु दुबै समूहका नेताहरुको जिम्मेवारी हुन आउँछ । हुन त दुवै पक्षका नेताहरुले पार्टी एकढिक्काको मन्त्र उच्चारण गर्न भने छाडेका छैनन् ।
देउवा समूहले १५औँ महाधिवेशनका लागि साझा संयन्त्र र पूर्वमहासमिति बैठकको माग गरेको छ ।
सो समूहले १५औँ महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्न सहमतिको साझा संयन्त्र निर्माण माग गरेको छ । पार्टीको बृहत् एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्णमहासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको सो समूहको माग छ । प्रतिशोधको भावनाबाट प्रेरित देखिने निर्णयहरूले पार्टीको बृहत् एकता, आपसी विश्वास र सहकार्यमा समस्या सिर्जना गर्न सक्ने भएकाले त्यस्ता प्रवृत्तिबाट बच्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ । उनीहरूले क्रियाशील सदस्यता १५ औं महाधिवेशनका लागि नवीकरण गरिसकिएकोले अद्यावधिक नगर्ने पनि निर्णय गरेका छन् । उता संस्थापन पक्षीय नेताहरुले भने साझा संयन्त्रको कुरा नगरी केन्द्रीय समितिमा आएर काम गर्न र महाधिवेशनमा सहभागी हुन आह्वान गरेको गरिहेका बेला देउवाको नाम भजाएर हिजोको दिनमा पार्टी कब्जा गर्नेहरु यतिबेला निकै अतालिएको देखिन्छ ।
यसैवीच, संस्थापनइतर समूहका युवाहरूको पार्टीमा बृहत्तर एकताका नाममा आइतबार राजधानीमा भेला गरेका छन् । उनीहरुले पार्टीले तरूण दल, महिला संघलगायत भ्रातृ संस्था विघटन गर्दा पार्टीको बृहत्तर एकतामा आघात पुगेको भन्दै संस्थापन इतर समूहले समानान्तर गतिविधि गर्न चेतावनी दिएका छन् । अघिल्लो हप्ता नेपाली कांग्रेसले समयमै महाधिवेशन नगरेका ५ भ्रातृ संस्थाका तदर्थ समिति हालै कांग्रेसले विघटन गरेको थियो । (नयाँ विकल्प साप्ताहिकबाट)
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...
काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...