संसद्‍मा कांग्रेसको आह्वानमा विपक्षी दलहरूले गरे ५ मिनेट मौनधारण – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

संसद्‍मा कांग्रेसको आह्वानमा विपक्षी दलहरूले गरे ५ मिनेट मौनधारण

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा पाँच मिनेट मौनधारण गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक निश्कल राईले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमाको रक्षाका लागि योगदान पुर्‍याएका शहीद तथा योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै पाँच मिनेट मौनधारण गर्न आह्वान गरेका थिए ।

त्यसलगत्तै कांग्रेससँगै नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नकेपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा अन्य विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर मौनधारणमा सहभागी भएका थिए ।

राईले प्रधानमन्त्री शाहले हालै दिएको ‘नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ’ भन्ने अभिव्यक्तिले देशको स्वाभिमानमा चोट पुर्‍याएको आरोप लगाए । उनले नेपालको सीमा पूर्वमा चिवाभञ्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम राख्न आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्मानमाथि प्रधानमन्त्रीको भनाइले प्रश्न उठाएको दाबी गरे ।

संसदमा धारणा राख्दै राईले नेपालको एकीकरणदेखि राष्ट्रिय स्वतन्त्रता र अखण्डताको रक्षा गर्न महत्वपूर्ण योगदान पुर्‍याएका ऐतिहासिक व्यक्तित्वहरूको स्मरण गरेका थिए । उनले पृथ्वीनारायण शाह, वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा र भीमसेन थापाजस्ता योद्धाहरूको योगदानलाई सम्झँदै प्रधानमन्त्रीले इतिहासको सही मूल्यांकन गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि प्रहार गरेको भन्दै त्यसबाट शहीदहरूको आत्मसम्मानसमेत आहत भएको टिप्पणी गरे । साथै लोकतन्त्र, नागरिक सर्वोच्चता, सुशासन र जवाफदेहिताका लागि भएका विभिन्न आन्दोलन तथा संघर्षमा ज्यान गुमाएका शहीदहरूको सम्मानमा मौनधारण गर्न सांसदहरूलाई आग्रह गरेका थिए ।

संसदमा शहीदहरूको सम्झनामा सामान्यतया एक मिनेट मौनधारण गर्ने प्रचलन रहे पनि यसपटक विपक्षी दलहरूको अगुवाइमा पाँच मिनेटसम्म मौनधारण गरिएको हो ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०८३ जेष्ठ २६, १४: ०६

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०८३ जेष्ठ २६, १४: ०६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०८३ जेष्ठ २६, १४: ०६

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...