जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) पुनः सक्रिय भएको छ। सञ्जालले मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक अधिकारको पक्षमा उभिन सबै लोकतन्त्रवादी शक्तिलाई आह्वान गरेको छ।

बुधबार जारी संयुक्त विज्ञप्तिमा पापडले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता भएको उल्लेख गर्दै वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्यहरूलाई संस्थागत रूपमा कमजोर बनाउने प्रयास भइरहेको दाबी गरेको छ।

पापडले लोकतन्त्र केवल निर्वाचनबाट प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली भएको स्मरण गराएको छ।

विज्ञप्तिमा पछिल्लो समय सुकुम्बासी बस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रतामाथि असर पर्ने गतिविधि, संसद्को भूमिकालाई कमजोर बनाउने प्रवृत्ति, नागरिक अधिकार संकुचन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप, सञ्चारमाध्यममाथि आर्थिक दबाब, पेशागत तथा ट्रेड युनियन अधिकारमा नियन्त्रणमुखी व्यवहार, विश्वविद्यालयको स्वायत्ततामाथिको हस्तक्षेप तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत अस्पष्टताप्रति असन्तुष्टि व्यक्त गरिएको छ।

सञ्जालले सरकारलाई नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संविधानको अक्षर र भावनाअनुसार शासन सञ्चालन गर्न आग्रह गरेको छ। साथै लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, प्रेस स्वतन्त्रता, न्यायपालिकाको स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिएको छ।

यस्तै, नागरिक अधिकार खुम्च्याउने तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि अंकुश लगाउने प्रयासको विरोधमा नेपाल पत्रकार महासंघले असार ५ गते दिउँसो ४ बजे माइतीघरमा आयोजना गर्न लागेको र्‍यालीप्रति पापडले ऐक्यबद्धता जनाएको छ। सञ्जालले उक्त र्‍यालीमा सहभागी हुन लोकतन्त्रवादी शक्ति, पेशागत संगठन, सञ्चारकर्मी, शैक्षिक समुदाय तथा नागरिक समाजलाई आह्वान गरेको छ।

विज्ञप्तिमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. रमेशकुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले हस्ताक्षर गरेका छन्।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८३ असार ३, २१: २४

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८३ असार ३, २१: २४

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८३ असार ३, २१: २४

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...