
ताप्लेजुङ : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको संगठन सुदृढीकरण, भ्रष्टाचार विरोधी अभियान र मुलुकको आर्थिक समृद्धिका लागि युवा पुस्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् । हिमाली जिल्ला ताप्लेजुङमा विहीबार आयोजित अन्तरक्रियात्मक कार्यक्रममा सहमहामन्त्री डा. संग्रौलाले आजका युवा केवल भोट बैंक मात्र नभई नीति निर्माण र कार्यान्वयनका संवाहक हुनुपर्नेमा जोड दिइन् ।
सहमहामन्त्री डा. संग्रौलाले कांग्रेसको आधारस्तम्भलाई मजवुत बनाउन र जारी अभियानलाई सफल पार्न युवा वर्गको दायित्व र जिम्मेवारी उच्च रहने उल्लेख गरिन् । उनले पार्टीभित्र नयाँ ऊर्जा थप्नका लागि युवा र महिलाको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वको अध्यावधिक सुनिश्चितता अपरिहार्य भइसकेको स्पष्ट पारिन् । संगठनलाई जगैदेखि बलियो बनाउन अब ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
मुलुकमा व्याप्त बेथिति र भ्रष्टाचार विरुद्ध युवाहरूले नै अग्रसरता लिनुपर्ने धारणा राख्दै डा. संग्रौलाले भनिन्, “सुशासन र सदाचार स्थापनाका लागि युवा वर्गले एउटा सशक्त अभियानकै रूपमा नेतृत्व लिनु आवश्यक छ । जबसम्म युवाहरूले भ्रष्टाचार विरुद्ध औंला उठाउँदैनन् र सदाचारको पक्षमा उभिँदैनन्, तबसम्म समाजको रूपान्तरण सम्भव छैन ।” उनले कांग्रेसले जहिले पनि विधिको शासन र निष्पक्षताको वकालत गर्दै आएको भन्दै युवाहरूलाई सोही मार्गमा अघि बढ्न प्रेरित समेत गरेकी छिन् ।

वर्तमान समयमा देशको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको युवा जनशक्तिको पलायन र बढ्दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै उनले राज्य र पार्टीले ठोस नीति ल्याउनुपर्नेमा जोड दिइन् । नेपालमै उद्यमशीलताको विकास गरी युवाहरूलाई आयआर्जनका अवसरहरूसँग जोड्नुपर्ने उनको तर्क थियो । “दक्ष र ऊर्जावान् युवाहरू दिनहुँ विदेशिने क्रम रोक्न देशभित्रै रोजगारीको वातावरण सृजना गरिनुपर्छ,” “उनीहरूलाई उचित जिम्मेवारी दिएर उद्यमशीलताको पाटोमा लगाउन सके मात्र ‘समृद्ध नेपाल’ बनाउने राष्ट्रिय अभियानले सार्थकता पाउनेछ ” सहमहामन्त्री डाक्टर सग्रैालाले बताइन् ।
ताप्लेजुङको रैथाने उत्पादन र पर्यटनको सम्भावनालाई उजागर गर्दै डा. संग्रौलाले स्थानीय अर्थतन्त्रको विकासमा समेत युवाहरू जोडिनुपर्ने बताइन् । प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा र विश्वकै तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रको पर्यटन प्रवर्द्धनका साथै जिल्लामा अत्यधिक उत्पादन हुने अलैंची र अम्रिसोजस्ता नगदे बालीको उचित बजार व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ थियो । परम्परागत खेतीलाई आधुनिक प्रविधिसँग जोडेर बजार सुनिश्चित गर्न सके स्थानीय स्तरमै ठूलो संख्यामा रोजगारी सिर्जना हुने र आयआर्जनको बलियो स्रोत बन्ने उनले दाबी गरिन् ।
कार्यक्रममा ताप्लेजुङका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो ।
काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, कागजरहित (पेपरलेस) र पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय गरेको...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले नागरिकका वास्तविक समस्या समाधानभन्दा लोकप्रियता हासिल गर्ने प्रयासमा बढी ध्यान दिएको...