सुनसरी तनावग्रस्त : गोलीकाण्डपछि कर्फ्यु, प्रदर्शन र तोडफोड भने जारी – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

सुनसरी तनावग्रस्त : गोलीकाण्डपछि कर्फ्यु, प्रदर्शन र तोडफोड भने जारी

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच उत्पन्न विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि क्षेत्रको सुरक्षा अवस्था अत्यन्त तनावग्रस्त बनेको छ । घटनापछि स्थानीय प्रशासनले दक्षिणी सुनसरीका विभिन्न बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू गरिएको जानकारी दिएका छन् । कर्फ्यु सोमबार बिहान ७ बजेदेखि लागू भएको हो, जसअन्तर्गत आवतजावत, भेला, जुलुस, सभा तथा प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

आइतबार राति दुई समूहबीच विवाद चर्किँदै हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । सो क्रममा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा आठदेखि नौ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ । साथै, सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएको सुरक्षा स्रोतले जनाएको छ । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक रूपमा सोमबार बिहान अवस्था सामान्यजस्तो देखिए पनि केही घण्टामै कर्फ्यु आदेश उल्लंघन गर्दै ठुलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । करिब ४ देखि ५ सय जनाको समूहले कप्तानगञ्ज चोकमा टायर बालेर नाराबाजी गर्नुका साथै स्थानीय पसलहरूमा तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ । एक फार्मेसी, एक मोटरसाइकल ग्यारेज र तीन किराना पसलमा क्षति पुगेको छ । प्रदर्शनकारीले पसलबाट सामान बाहिर निकालेर आगो लगाएको समेत जनाइएको छ ।

घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने बजार क्षेत्रमा भागदौडको स्थिति सिर्जना भएको छ । प्रदर्शन चर्किँदै गएपछि अर्को पक्षका मानिसहरू पनि भेला हुन थालेका छन्, जसले थप हिंसाको जोखिम बढाएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई सम्झाइबुझाइ गरेर स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका भए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी मनीष थापाका अनुसार अवस्था नियन्त्रणका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसबीच, घटनाको विरोधमा सुनसरीको लौकही र फूलचोक क्षेत्रमा पनि टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ, जसले यात्रुहरूलाई समस्या परेको छ ।

आइतबार राति युवाहरूको एक समूह डिजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै अवरोध गर्न खोजेपछि विवाद सुरु भएको थियो, जुन पछि हिंसात्मक झडपमा परिणत भएको हो ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०८३ श्रावण ११, ११: ४७

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०८३ श्रावण ११, ११: ४७

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०८३ श्रावण ११, ११: ४७

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...