नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ


काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरेको राष्ट्रिय बाघ सर्वेक्षण–२०८२ को प्रारम्भिक नतिजाअनुसार देशभर बाघको संख्या ४०२ देखि ५०० को दायरामा रहने अनुमान गरिएको छ।

विभागका अनुसार बाघ पाइने पाँच राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा गरिएको सर्वेक्षणमा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै १४५ वटा बाघ रहेका छन्। त्यसपछि बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेको अनुमान गरिएको छ।

राष्ट्रिय बाघ सर्वेक्षणका लागि सन् २०२५ डिसेम्बर १६ देखि सन् २०२६ अप्रिल २३ सम्म पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको थियो।

सर्वेक्षणका क्रममा ७ हजार ३९३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका १ हजार ८४८ ग्रिडमा ३ हजार ६९६ वटा क्यामेरा जडान गरिएको थियो। ती क्यामेराबाट ११ हजार ९११ वटा बाघका तस्बिर प्राप्त भएका थिए भने ३७३ वटा फरक–फरक बाघको पहिचान गरिएको विभागले जनाएको छ।

उक्त तथ्याङ्कलाई वैज्ञानिक विश्लेषण विधिबाट मूल्याङ्कन गर्दा नेपालमा बाघको अनुमानित संख्या ४२९ पुगेको निष्कर्ष निकालिएको विभागको भनाइ छ। बाघको घनत्व, बासस्थानको अवस्था र आहारा प्रजातिसम्बन्धी विस्तृत प्रतिवेदन भने पछि सार्वजनिक गरिने जनाइएको छ।

विभागका अनुसार बाघको संख्या वृद्धि हुनु बासस्थान संरक्षण, चोरी सिकार नियन्त्रण, आहारा प्रजातिको संरक्षण तथा जैविक मार्ग व्यवस्थापनजस्ता संरक्षण प्रयासहरूको सकारात्मक परिणाम हो।

आगामी दिनमा प्रदेश तथा स्थानीय तह, स्थानीय समुदाय र संरक्षण साझेदार संस्थासँगको सहकार्यमा मानव–बाघ सहअस्तित्व, जनचेतना अभिवृद्धि, समस्याग्रस्त बाघको समयमै व्यवस्थापन तथा बाघमा आधारित पर्यापर्यटन प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाइने विभागले जनाएको छ।

सर्वेक्षण सफल बनाउन सहयोग गर्ने राष्ट्रिय निकुञ्ज कार्यालय, डिभिजन वन कार्यालय, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, जेडएसएल नेपाल, विभिन्न संरक्षण संस्था, अनुसन्धानकर्ता, विद्यार्थी, स्वयंसेवक तथा स्थानीय समुदायप्रति विभागले आभार व्यक्त गरेको छ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८३ श्रावण १३, १९: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८३ श्रावण १३, १९: १५

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८३ श्रावण १३, १९: १५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...