
काठमाडौं : आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला १५ असारमा दही चिउरा र १५ साउनमा खिर खाने प्रचलन प्राचीनकालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ ।
साउने झरी पर्नेबेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दुधमा गरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाईभैँसीले पनि धेरै दुध दिन्छन् । दुध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खुवाउने चलन चलेको विश्वास गरिन्छ ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दुध र दुधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने यसका जानकारहरूको भनाइ छ । तर, यसको कुनै शास्त्रीय वचन भने कतै पाइँदैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दुधमा पायस अर्थात् खिर बनाउँछन् ।
चामल, सावदाना, सेवइ, मकै, गाजरलगायतको खिर पनि बनाउने गरिन्छ । सावदानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउनमा हरिया मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन नेपाली समाजमा छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दुधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा १५ असारमा दही चिउरा, १५ साउनमा खिर, १५ भदौमा पोलेको मकै, १५ पुसमा घिउखट्टे, १५ माघमा मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन रहिआएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले १५ साउनलाई खिर खाने दिन अर्थात् खिर दिवसका रूपमा मनाउने निर्णय गरेको छ । प्रशोधित दुधमा ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ‘ल्याक्टोज’ र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ । यस वर्ष आठौँ खिर दिवस मनाउन लागिएको हो ।
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा...
काठमाडौं । आज साउन १५ गते देशभर खीर खाएर पर्व मनाइँदै छ। नेपाली समाजमा असार १५ मा दहीचिउरा र साउन...