काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित बिदाइ – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित बिदाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका गुरागाईँलाई महानगरपालिकाले औपचारिक रूपमा बिदाइ गरेको छ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ भदौ २७ गतेको निर्णयअनुसार गुरागाईँले २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गरेका थिए।

बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, महानगरका प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्य, विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायबीच सहकार्य, समन्वय तथा सहअस्तित्व कायम गर्न गुरागाईँले खेलेको प्रशासनिक नेतृत्व महानगरका लागि सधैं स्मरणीय रहने बताइन्।

उनले भनिन्, “पद अस्थायी हो, सेवा स्थायी हो। पदीय जिम्मेवारी समाप्त भए पनि सेवाको भावना समाप्त हुँदैन। सेवा निवृत्तिपछिको जीवनमा पनि उहाँको अनुभव र योगदान समाजका लागि उपयोगी हुने विश्वास लिएका छौँ।”

सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पनि महानगरपालिकाको संस्थागत विकासमा गुरागाईँको ज्ञान, सीप र अनुभव भविष्यमा समेत उपयोगी हुने अपेक्षा व्यक्त गरे।

बिदाइ समारोहमा गुरागाईँले आफ्नो साढे ३२ वर्ष लामो निजामती सेवा जीवनमध्ये काठमाडौं महानगरपालिकामा बिताएको समय सबैभन्दा स्मरणीय रहेको बताए।

उनले भने, “प्रशासनिक सेवामा आउने उतारचढाव कर्मचारीका लागि स्वाभाविक हुन्। मैले ती सबै अवस्थालाई सहज रूपमा स्वीकार गरेको छु।”

वि.सं. २०५१ पुस १९ गते शाखा अधिकृतका रूपमा संघीय निजामती सेवामा प्रवेश गरेका गुरागाईँले आफ्नो सेवा अवधिको अधिकांश समय स्थानीय प्रशासनमा बिताएका थिए। उनले करिब २१ वर्ष स्थानीय तहमा र करिब दुई वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सेवा गरेका थिए।

काठमाडौं महानगरपालिकाको इतिहासमा प्रमुख प्रशासकीय अधिकृत पदबाट अनिवार्य अवकाश लिने पहिलो अधिकारीका रूपमा पनि गुरागाईँले नयाँ इतिहास कायम गरेका छन्।

सम्बन्धित समाचार

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ श्रावण २१, ०९: ०८

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण २१, ०९: ०८

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ श्रावण २१, ०९: ०८

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...