माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी

भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब चार महिनापछि प्रभावितहरूले विरोध कार्यक्रम गरेका हुन् ।

मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गर्दै भदौ १२ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने चेतावनी दिएको छ ।

‘आवास अधिकार, भूस्वामित्व र सामाजिक न्यायका लागि’ भन्दै मोर्चाले सरकारसमक्ष तीन मुख्य माग अघि सारेको । विस्थापित परिवारलाई भूस्वामित्वसहित स्थायी पुनर्स्थापना गर्नुपर्ने, घरटहरा तथा सामान भत्काउँदा भएको क्षतिको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति दिनुपर्ने तथा प्रभावित परिवारसँग तत्काल संवाद गरी समयसीमासहितको पुनर्स्थापना योजना सार्वजनिक गर्नुपर्ने मोर्चाको माग ।

मोर्चाले होल्डिङ सेन्टरलाई दीर्घकालीन समाधानका रूपमा नभई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित राख्नुपर्ने बताएको । साथै, होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको विशेष संरक्षण सुनिश्चित गर्न पनि सरकारसँग माग गरिएको छ ।

त्यस्तै, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन, प्रमाणीकरण, नापजाँच तथा निस्सा वितरणको प्रक्रिया तत्काल अघि बढाउन मोर्चाले आग्रह गरेको छ ।

मोर्चाले साउन २२ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार विभिन्न स्थानीय तह तथा भूमि समस्या समाधान समितिका कार्यालयमा ज्ञापनपत्र बुझाउने, राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउने, भदौ ४ गते माइतीघर मण्डलामा खबरदारी सभा गर्ने र भदौ ७ गते नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्मी, कानुन व्यवसायी, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने तय गरिएको छ ।

मोर्चाले भदौ १२ गतेदेखि अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने जनाएको छ। माग सम्बोधन नभए आन्दोलनलाई थप कठोर बनाउने चेतावनीसमेत उसले दिएको छ ।

मोर्चाका अनुसार थापाथली, शान्तिनगर, गैरीगाउँ, मनहरा र जडीबुटीलगायतका क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्थापन र कानुनी प्रक्रिया पूरा नगरी बलपूर्वक विस्थापित गरिएको छ ।

मोर्चाका इन्चार्ज दल मर्दन कामी, अध्यक्ष कुमार राई र सचिव अरुण बस्नेतले जारी गरेको घोषणापत्रमा आवासलाई संवैधानिक अधिकारका रूपमा सुनिश्चित गर्दै सम्मानजनक भूस्वामित्वसहितको पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २३, १९: ४४

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २३, १९: ४४

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २३, १९: ४४

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...