
काठमाडौं : बडादसैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । दसैं मनाउन अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू गाउँ फर्किन थालेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न नाकामा लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । परिवार र आफन्तसँग दसैं मनाउन घर फर्किने क्रम बढेसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या पनि बढेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएका छन् ।
उनका अनुसार फर्पिङ नाकाबाट पाँच हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरिएका छन् ।
घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा भने समस्या देखिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण सवारीसाधन व्यवस्थापनमा कठिनाइ भएको बताए ।
“दसैंको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौं आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,” उनले भने ।
असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमै रोकिएको गौतमले बताए । यसले यात्रु व्यवस्थापनमा थप समस्या सिर्जना गरेको उनको भनाइ छ ।
महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
दसैं परिवार, आफन्त र समुदायसँग भेटघाट गरी मनाइने प्रमुख चाड भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बस्दै आएका मानिसहरू हरेक वर्ष यो समयमा घर फर्किने गर्छन् । यस वर्ष पनि दसैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्न थालेको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस १५औं महाधिवेशन...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ ।...
काठमाडौँ — सरकारले उखु उत्पादक किसानहरूले पाउने प्रोत्साहन अनुदान वितरण प्रक्रियामा रहेको झन्झट र अपारदर्शिता अन्त्य गर्दै नयाँ नियम लागू...