सरकारविरुद्ध थप आक्रामक बन्दै कांग्रेस, संसद् अधिवेशन बोलाउन र अध्यादेश फिर्ता लिन माग – Naya Bikalpa
November 29, 2026, Sunday      Epaper

सरकारविरुद्ध थप आक्रामक बन्दै कांग्रेस, संसद् अधिवेशन बोलाउन र अध्यादेश फिर्ता लिन माग

काठमाडौं : नेपाली कांग्रेसले सरकारको पछिल्लो कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध थप सशक्त प्रतिपक्षीय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारका गतिविधि स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकाल्दै संसद् अधिवेशन आह्वान गर्न र विभिन्न विषयमा जारी गरिएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो ।

मंसिर ८ देखि ११ गतेसम्म पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारका पछिल्ला गतिविधि, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण, भूमिहीन तथा सुकुम्बासीको समस्या र पार्टीका सांगठनिक विषयमा विभिन्न निर्णय गरेको छ ।

कांग्रेसले सरकार गठनको प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा बुझ्दै आफूले संयम अपनाएको भए पनि पछिल्ला गतिविधिले सरकार सञ्चालन गर्ने नेतृत्वको सोच, चरित्र र प्रवृत्तिमाथि नै प्रश्न उठाएको जनाएको छ ।

सरकारका सकारात्मक काममा सहयोग गर्ने आफ्नो प्रतिबद्धता यथावत् रहेको उल्लेख गर्दै कांग्रेसले संविधान, विधिको शासन र लोकतन्त्रविपरीतका गतिविधि तथा जनहितविपरीतका निर्णयविरुद्ध अब थप दृढतापूर्वक प्रस्तुत हुने चेतावनी दिएको छ ।

अध्यादेशबाट शासन सञ्चालन गर्न खोजेको कांग्रेसको आरोप

कांग्रेसले वर्तमान सरकारले संसद्प्रति निरन्तर उपेक्षा गरेको, संसदीय समितिप्रति जवाफदेही हुन नचाहेको र पछिल्लो समय संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाएको छ ।

कार्यपालिकाले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका विभिन्न अङ्गमाथि हस्तक्षेप र नियन्त्रण गर्न खोजेको कांग्रेसको ठहर छ ।

संविधानले दिएको अधिकार प्रयोग गर्ने तर त्यसले निर्धारण गरेका सीमा, मर्यादा र दायित्व स्वीकार नगर्ने प्रवृत्ति लोकतन्त्रका लागि गम्भीर चुनौती भएको कांग्रेसले जनाएको छ ।

विशेषगरी प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना अध्यादेश ल्याइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसले त्यस्ता अध्यादेश तत्काल फिर्ता लिन, संसद्को अधिवेशन आह्वान गर्न तथा संवैधानिक सीमा र संस्थागत मर्यादाको पूर्ण पालना गर्न सरकारसँग माग गरेको छ ।

यही संविधान र संसदीय व्यवस्थाबाट प्रधानमन्त्री बनेको सरकारले संसद्, राष्ट्रपति र संवैधानिक निकायको मर्यादा स्वीकार नगर्ने प्रवृत्ति देखाउनु विरोधाभासपूर्ण भएको कांग्रेसको टिप्पणी छ ।

राजनीतिक निकटताका आधारमा अनुसन्धान र कारबाही भएको आरोप

कांग्रेसले सरकारमाथि राज्यशक्तिको चयनात्मक प्रयोग गरेको आरोपसमेत लगाएको छ । कानुनको निष्पक्ष कार्यान्वयन गर्नुपर्नेमा व्यक्तिको राजनीतिक आबद्धता र सरकारसँगको निकटताका आधारमा अनुसन्धान तथा कारबाही भइरहेको आशङ्का उत्पन्न भएको उसको भनाइ छ ।

कानुनविपरीत काम गर्ने वा अपराधमा संलग्न हुने जोसुकैलाई कानुनी प्रक्रियाअनुसार अनुसन्धान र कारबाहीको दायरामा ल्याउनुपर्ने कांग्रेसको धारणा छ । तर सरकारको विरोधी भएकै कारण अपराध नगरेको व्यक्तिलाई जबर्जस्ती अनुसन्धानमा तान्नु राज्यशक्तिको दुरुपयोग हुने उसले जनाएको छ ।

त्यसैगरी, सरकारसँग निकट भएकै कारण अपराधमा संलग्न व्यक्तिले उन्मुक्ति वा संरक्षण पाउनु पनि विधिको शासनविपरीत हुने कांग्रेसको भनाइ छ ।

सुनकोशी–मरिन आयोजनासँग सम्बन्धित प्रकरण तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणले सरकारको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको कांग्रेसले उल्लेख गरेको छ । प्रहरी अनुसन्धानसँग सम्बन्धित प्रमाणमाथि हस्तक्षेप भएको भन्ने आरोपलाई समेत उसले गम्भीर रूपमा लिएको छ ।

कांग्रेसले यी प्रकरणको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न, अनुसन्धानमा राजनीतिक हस्तक्षेप नगर्न तथा दोषी देखिएका जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

महँगी नियन्त्रण र अर्थतन्त्र सुधार गर्न सरकारलाई दबाब

कांग्रेसले सरकारको आर्थिक नीति तथा जनजीविकासम्बन्धी कार्यसम्पादनप्रति पनि असन्तुष्टि जनाएको छ । राजनीतिक स्थिरताको लाभ आम नागरिकले महसुस गर्न नपाए त्यसको औचित्य पुष्टि हुन नसक्ने कांग्रेसको भनाइ छ ।

आम नागरिकको आम्दानी र खर्चबीचको खाडल फराकिलो हुँदै गएको, दैनिक उपभोग्य वस्तुको महँगीले सर्वसाधारणको भान्सा प्रभावित भएको र साना उद्यमी तथा व्यवसायीले व्यवसाय सञ्चालन गर्नसमेत कठिनाइ भोगिरहेको कांग्रेसले जनाएको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध भए पनि लगानी बढ्न नसकेको, बैंकहरूको खराब कर्जाप्रतिको चिन्ता बढेको र निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको कांग्रेसको निष्कर्ष छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने युवाले थप सास्ती भोग्नुपरेको, सहकारीपीडितका समस्या समाधान हुन नसकेको तथा किसानले मल, बीउ र उत्पादनको उचित मूल्य पाउन नसकेको विषयलाई पनि कांग्रेसले उठाएको छ ।

सार्वजनिक शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार हुन नसकेको, स्वास्थ्य बिमा कार्यक्रम अलपत्र परेको, सरकारी बजेटको प्रभावकारी कार्यान्वयन नभएको तथा भ्रष्टाचार नियन्त्रणमा संस्थागत सुधारको अनुभूति नागरिकले गर्न नपाएको कांग्रेसको आरोप छ ।

गलत काम गर्ने जोसुकैलाई कारबाही गर्नुपर्ने भए पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान नगरी पहिले पक्राउ गर्ने र त्यसपछि मात्रै प्रमाण खोज्ने प्रवृत्तिले उद्यमशीलता, लगानी र व्यावसायिक वातावरण प्रभावित हुने कांग्रेसको भनाइ छ ।

कांग्रेसले अर्थतन्त्रको वर्तमान अवस्थाबारे यथार्थपरक विवरण सार्वजनिक गर्न, अर्थतन्त्र चलायमान बनाउने समयबद्ध कार्ययोजना ल्याउन, निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न तथा साना र मझौला उद्यमीका समस्या सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै, पुँजीगत खर्च बढाउन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिन तथा महँगी नियन्त्रण गरी आम नागरिकलाई तत्काल राहत उपलब्ध गराउन पनि कांग्रेसले आग्रह गरेको छ ।

सरकारका सयदिने प्रतिबद्धता सार्वजनिक गर्न माग

सरकारले कार्यभार सम्हाल्दा सय दिनभित्र सम्पन्न गर्ने भन्दै सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्थाबारे पनि कांग्रेसले प्रश्न उठाएको छ ।

सरकारले विभिन्न समुदाय, समूह तथा आन्दोलनरत पक्षसँग गरेका सम्झौता, अध्ययन तथा छानबिनका लागि गठन गरेका समिति र आयोगको प्रगति विवरण सार्वजनिक नगरेको कांग्रेसको आरोप छ ।

समस्या समाधानका लागि समिति गठन गर्ने, असन्तुष्टि साम्य पार्न सम्झौता गर्ने र तत्काल लोकप्रियता हासिल गर्न घोषणा गर्ने तर कार्यान्वयनमा जिम्मेवारी नलिने प्रवृत्ति देखिएको कांग्रेसले जनाएको छ ।

सरकारले नागरिकसँग गरेका प्रतिबद्धता राज्यका प्रतिबद्धता भएकाले कार्यान्वयन गर्नु सरकारको दायित्व भएको कांग्रेसको भनाइ छ ।

कांग्रेसले सयदिने कार्ययोजनाको उपलब्धि, विभिन्न समुदायसँग भएका सम्झौताको प्रगति तथा गठन गरिएका समिति र आयोगका कानुनबमोजिम सार्वजनिक गर्न मिल्ने प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

विशेषगरी भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित छानबिन, मानव अधिकार आयोगको प्रतिवेदन तथा गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदन कहाँ पुगेको छ भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने कांग्रेसको माग छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिमा स्वागत, सीमाको विषय नउठाएको भन्दै आलोचना

कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई समग्रमा सकारात्मक रूपमा लिए पनि राष्ट्रिय हितसँग जोडिएका केही संवेदनशील विषयले उच्चस्तरीय संवादमा अपेक्षित प्राथमिकता नपाएको भन्दै प्रश्न उठाएको छ ।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षीय भेटवार्ता, विभिन्न विषयमा भएका सहमति र विगतका सहकार्यले निरन्तरता पाएको विषयलाई कांग्रेसले स्वागत गरेको छ ।

विशेषगरी भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौं–भैरहवा–लखनऊ (बी ३४५) हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमतिलाई कांग्रेसले सकारात्मक उपलब्धिका रूपमा लिएको छ । यसले नेपालको पर्यटन तथा आर्थिक विकासमा सहयोग पुग्ने उसको अपेक्षा छ ।

त्यस्तै, भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछिको पुनर्निर्माण, प्रभावित नागरिकको पुनर्स्थापना, ऊर्जा तथा नयाँ पूर्वाधार विकासका लागि भारतले घोषणा गरेको २४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेजलाई पनि कांग्रेसले महत्त्वपूर्ण मानेको छ ।

उक्त प्याकेजमा ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको उल्लेख गर्दै कांग्रेसले सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिएको छ ।

ऊर्जा र सम्पर्क सञ्जालका अतिरिक्त शिक्षा, प्रविधि, स्टार्टअप, नवप्रवर्तन, खेलकुद तथा जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई पनि कांग्रेसले स्वागत गरेको छ ।

तर भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषयले अपेक्षित प्राथमिकता नपाएको कांग्रेसको भनाइ छ ।

प्रधानमन्त्री बन्नुअघि र पदमा रहेपछि भारतसँगको सम्बन्ध तथा सीमाका विषयमा प्रधानमन्त्रीले दिएका अभिव्यक्ति र व्यवहारबीच विरोधाभास देखिएको कांग्रेसले टिप्पणी गरेको छ ।

सीमासम्बन्धी विषयलाई उच्चस्तरीय कूटनीतिक संवादमा प्रवेश नै नगराई फर्किनुले प्रधानमन्त्रीको अपरिपक्वता र कूटनीतिक संवेदनशीलताको अभाव देखाएको कांग्रेसको आरोप छ ।

संयुक्त वक्तव्य र संयुक्त दूरदृष्टि पत्र जारी हुनु आफैँमा उपलब्धिको पर्याप्त आधार नभएको उल्लेख गर्दै कांग्रेसले त्यसमा समेटिएका विषयवस्तु, राष्ट्रिय हितको सम्बोधन र त्यसबाट प्राप्त हुने परिणामका आधारमा उपलब्धिको मूल्याङ्कन हुनुपर्ने जनाएको छ ।

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको सीमा विवादलाई अन्य नियमित द्विपक्षीय विषयसरह सामान्य रूपमा प्रस्तुत गरिएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ ।

भ्रमणबाटै सीमा समस्या समाधान हुनुपर्छ भन्ने आफ्नो अपेक्षा नभएको स्पष्ट पार्दै कांग्रेसले सीमासम्बन्धी विषयलाई समाधानका लागि आवश्यक उच्चस्तरीय संवादमा किन प्राथमिकता दिइएन भन्ने प्रश्न उठाएको छ ।

कांग्रेसले भैरहवा हवाई मार्गको दुईतर्फी सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया कहिलेसम्म पूरा हुन्छ भन्ने स्पष्ट समयसीमा सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ ।

त्यस्तै, भारतबाट प्राप्त अनुदान तथा सहुलियतपूर्ण ऋण कुन क्षेत्रमा र कुन प्राथमिकताका आधारमा परिचालन गरिन्छ भन्ने विवरण सार्वजनिक गर्नुपर्ने उसको माग छ ।

बाढी प्रभावित क्षेत्रमा सरकारको उपस्थिति कमजोर भएको कांग्रेसको आरोप

कांग्रेसले भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकीलगायतका बाढी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी पुनर्स्थापना तथा पुनर्निर्माणको काम अघि बढाउन नसकेको आरोप लगाएको छ ।

भोटेकोशीमा बाढी आएको तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि प्रभावित क्षेत्रका लागि स्पष्ट रणनीति, कार्यक्रम र कार्ययोजना नदेखिनु गम्भीर लापरबाही भएको कांग्रेसको ठहर छ ।

राहत वितरण घोषणा र औपचारिकतामा सीमित भएको, संघीय सरकारको उपस्थिति कमजोर रहेको तथा प्रभावित नागरिकले गोदाममा थन्किएका राहत सामग्रीसमेत पाउन नसकेको कांग्रेसले जनाएको छ ।

बाढी प्रभावित कतिपय परिवार चिसोमा त्रिपालमुनि बस्न बाध्य रहेको, मृतक तथा बेपत्ताको वास्तविक तथ्याङ्कसमेत संकलन हुन नसकेको र घोषणा गरिएको घरभाडा तथा राहत रकम पीडितसम्म नपुगेको कांग्रेसको भनाइ छ ।

बाढीले प्रभावित साना तथा मझौला व्यवसायी, होटल र जलविद्युत् क्षेत्रको पुनर्स्थापनाका लागि आवश्यक नीतिगत सहुलियत र राहत कार्यक्रमसमेत नआएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले प्रभावित परिवारलाई तत्काल सुरक्षित आश्रय र घरभाडा सहायता उपलब्ध गराउन माग गरेको छ । सरकारले जग्गा उपलब्ध गराउन नसके निजी जग्गा खरिद गरेर भए पनि सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने उसको भनाइ छ ।

त्यस्तै, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकीकृत पुनर्लाभ तथा पुनर्निर्माणको योजना बनाउन, विस्थापित नागरिक, साना ऋणी तथा जलविद्युत् र पर्यटन क्षेत्रका व्यवसायीलाई राहत, अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन कांग्रेसले आग्रह गरेको छ ।

पुनर्निर्माणका क्रममा प्रभावित समुदाय र स्थानीय सरोकारवालाको सहभागिता सुनिश्चित गर्न तथा बाढीपीडितको जीविकोपार्जन, मनोसामाजिक परामर्श र आयआर्जनका अवसर सिर्जना गर्ने कार्यक्रम ल्याउन पनि कांग्रेसले माग गरेको छ ।

सुकुम्बासी बस्ती हटाउँदा मानवीय संवेदनशीलता अपनाउन आग्रह

कांग्रेसले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दा नागरिकको आवास अधिकार, सामाजिक न्याय र मानवीय मर्यादालाई प्राथमिकता दिनुपर्ने जनाएको छ ।

सरकारले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्ती हटाउँदा पर्याप्त पूर्वतयारी, वैकल्पिक आवास र पुनर्स्थापनाको व्यवस्था नगरी बल प्रयोग गरेको कांग्रेसको आरोप छ ।

बस्ती हटाउने क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको पीडा, विस्थापनपछि होल्डिङ सेन्टरमा बस्नुपरेको कठिनाइ र आधारभूत सुविधाको अभावका कारण भएका मानवीय क्षतिका घटना दुःखद रहेको कांग्रेसले जनाएको छ ।

सार्वजनिक जग्गाको संरक्षण गर्नु राज्यको दायित्व भए पनि त्यसका नाममा नागरिकको जीवन, आवास, जीविकोपार्जन र मानवीय मर्यादालाई उपेक्षा गर्न नहुने कांग्रेसको भनाइ छ ।

वास्तविक भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत वा व्यावसायिक लाभ लिने व्यक्तिलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने कांग्रेसले स्पष्ट पारेको छ ।

कांग्रेसले भूमिहीनको समस्या समाधानका लागि अध्यादेशको बाटो गलत भएको टिप्पणी गर्दै संसद्बाट स्थायी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

यसका लागि कांग्रेसको पहलमा तत्कालीन कृषि तथा प्राकृतिक स्रोत संसदीय समितिबाट अघि बढाइएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ पारित गरी कार्यान्वयन गर्नुपर्ने उसको माग छ ।

वास्तविक सुकुम्बासीलाई सम्मानजनक आवास उपलब्ध गराउनुपर्ने, सार्वजनिक जग्गा कब्जा गर्ने तथा कानुनविपरीत जग्गा राख्नेहरूलाई कारबाही गर्नुपर्ने र नदी किनार, वन क्षेत्र तथा संवेदनशील क्षेत्रमा रहेका बस्तीको वैज्ञानिक अध्ययन गरी आवश्यक व्यवस्थापन गर्नुपर्ने कांग्रेसले जनाएको छ ।

त्यस्तै, अव्यवस्थित बसोबासीको पहिचान गरी नियमानुसार शुल्क लिएर व्यवस्थापन गर्न तथा भूमिहीनको पुनर्स्थापनासँगै शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने कांग्रेसको धारणा छ ।

लैङ्गिक हिंसाविरुद्ध छुट्टै प्रतिष्ठान गठन गर्ने निर्णय

कांग्रेसले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जनाउँदै पार्टीभित्र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ ।

‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित सञ्चालन भइरहेको अभियानप्रति समर्थन जनाउँदै कांग्रेसले महिलाको अधिकार, सम्मान र सुरक्षाका लागि संस्थागत पहललाई थप प्रभावकारी बनाउने जनाएको छ ।

प्रस्तावित प्रतिष्ठानले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक र यौनिक अल्पसंख्यक समुदायको सम्मान, सुरक्षा, न्याय र समानताका विषयमा पार्टीलाई नीतिगत सुझाव दिनेछ ।

त्यस्तै, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा अध्ययन र अनुसन्धान गर्ने, पार्टीको आन्तरिक संरचनालाई समावेशी बनाउने तथा पार्टीभित्र हुने लैङ्गिक हिंसा र विभेदसम्बन्धी गुनासोको सुनुवाइ गरी आवश्यक सुधारका लागि सिफारिस गर्ने जिम्मेवारी पनि प्रतिष्ठानलाई दिइनेछ ।

कांग्रेसले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई औपचारिक कार्यक्रम र नारामा मात्र सीमित नराखी देशका ६ हजार ७४३ वटै वडामा जनचेतना अभिवृद्धि, हिंसा रोकथाम, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न पार्टीका सबै तहका संरचनालाई निर्देशन दिएको छ ।

पार्टीको नाम, झण्डा र चुनाव चिह्न अनधिकृत प्रयोग नगर्न चेतावनी

बैठकले नेपाली कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न ‘रुख’ तथा अन्य आधिकारिक प्रतीक अनधिकृत रूपमा प्रयोग भइरहेको भन्दै त्यस्ता गतिविधि नगर्न सम्बन्धित व्यक्ति तथा समूहलाई आग्रह गरेको छ ।

गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको र उक्त विवरण निर्वाचन आयोगबाट मंसिर ८ गते अद्यावधिक भइसकेको कांग्रेसले जनाएको छ ।

केही व्यक्ति तथा समूहले पार्टीको नाम, चारतारे झण्डा, ब्यानर र चुनाव चिह्न प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा गतिविधि सञ्चालन गर्दा पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुगेको कांग्रेसको भनाइ छ ।

त्यस्ता गतिविधि सञ्चालन गर्ने वा सामाजिक सञ्जालमार्फत पार्टीका आधिकारिक गतिविधिका रूपमा प्रचार गर्ने व्यक्तिविरुद्ध पार्टीको विधान तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

निर्वाचन आयोगलगायत सम्बन्धित निकायलाई पनि पार्टीको वैधानिक पहिचान संरक्षण गर्न र अनधिकृत प्रयोग रोक्न आवश्यक कदम चाल्न कांग्रेसले आग्रह गरेको छ ।

बैठकले केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन गर्ने अधिकार सभापति गगनकुमार थापालाई प्रत्यायोजन गरेको छ । त्यस्तै, पार्टीले आयोजना गर्ने सार्वजनिक कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ परिमार्जनसहित पारित गरेको छ ।

बैठकले ‘हामी तयार छौँ’ अभियानको अवधारणापत्रसमेत स्वीकृत गरेको छ ।

कांग्रेसले सरकारका राम्रा काममा सहयोग गर्ने तर संविधान, लोकतन्त्र, राष्ट्रिय हित र नागरिकका अधिकारमाथि प्रतिकूल असर पार्ने गतिविधिविरुद्ध संसद् तथा सार्वजनिक मञ्चबाट निरन्तर प्रश्न उठाउने जनाएको छ । सरकारको स्वेच्छाचारिताविरुद्ध निगरानी, खबरदारी र आवश्यक प्रतिरोधलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै बैठकले ती विषय संसद्मा सशक्त रूपमा उठाउन संसदीय दललाई निर्देशन दिएको छ ।

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of map and text

May be an image of text

May be an image of text

May be an illustration of map and text

May be an illustration of map and text

May be an image of text

May be an image of map and text

May be an image of map and text

May be an image of text

May be an image of map and text

May be an illustration of map and text

May be an image of text

May be an image of text

May be an image of text

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ मंसिर १३, १९: ३९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

१०औं राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
१०औं राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
  • २०८३ मंसिर १३, १९: ३९

काठमाडौं : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष...

पार्टीको नाम र चुनाव चिन्ह दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी
पार्टीको नाम र चुनाव चिन्ह दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी
  • २०८३ मंसिर १३, १९: ३९

काठमाडौं : नेपाली कांग्रेस पार्टीको नाम र चुनाव चिन्ह दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । शनिवार पार्टी मुख्यालय...