कारागारका कैदीमा कोरोना देखिएपछि उच्च सतर्कता – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

कारागारका कैदीमा कोरोना देखिएपछि उच्च सतर्कता

नयाँ विकल्प,

भरतपुर-चितवनको भरतपुरस्थित कारागारमा एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ ।

कारागार कार्यालय पोखराबाट असोज २७ गते यहाँ स्थानान्तरण गरिएका एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार कर्तव्य ज्यान मुद्दामा कैदी जीवन बिताउँदै आएका गोरखा खोप्लाङ्का ७२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कात्तिक १४ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । प्रमुख काफ्लेले भने “पोखराबाट ल्याउँदा उनको पिसिआर रिर्पोट नेगेटिभ थियो । उपचारका क्रममा क्यान्सर अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।” कैदीमा कोरोना सङ्क्रमण देखिएसंगै कारागारमा उच्च सतर्कता अपनाइएको छ ।

सामान्य रुघा खोकी आएकालाई छुट्टै क्वारेन्टिन निर्माण गरी राखिएको छ । अहिले ४६ जना क्वारेन्टिनमा रहेको उहाँले जानकारी दिनुभयो । कारागारमा ७ सय ९५ जना कैदीबन्दी छन् । क्षमताभन्दा वढी कैदीबन्दी भएकाले कोरोना फैलन सक्ने त्रास बढेको उनकाे भनाइ छ ।

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै अस्पतालमा उपचारका लागि पठाइएका कैदीबन्दीलाई समेत क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गर्दै आएको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर कैदीबन्दीका आफन्तलाई भेटघाट गर्न बन्द गराइएको छ ।

दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दी राख्न सक्ने क्षमताका सो कारागारमा अहिले छ सय ३७ पुरुष र ५८ महिला कैदीबन्दी रहेका छन् । उनीहरुसँगै तीन जना आश्रित वालबालिका समेत छन् । कोरोनाको जोखिसँगै अपराधमा कमी दशैंका वेला हुने आपराधिक घटनामा यो वर्ष कमी आएको छ ।

कोरोना भाइरस सङक्रमणको उच्च जोखिमका कारण बजारमा मानिसको चहलपहल घटेसँगै आपराधिक घटनामा समेत कमी आएको हो । जिल्लामा गत वर्षको दशैंमा विभिन्न अपराधमा ४९ वटा मुद्दा दर्ता भएकोमा यो वर्षको दशैंमा ३९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यवहादुर थापाका अनुसार गत वर्षको दशैंमा दर्ता भएको विभिन्न मुद्दामा ६१ जना पक्राउ परेका थिए भने यो वर्ष दर्ता भएका मुद्दामा ३३ जना पक्राउ परेका छन् । यही कात्तिक १ गतेदेखि १५ गतेसम्म दशैंको अवधिमा १२ जनाले आत्महत्या गरेका छन् ।

गत वर्ष दशैंको अवधिमा ९ जनाले आत्महत्या गरेका थिए । त्यसैगरी सो अवधिमा चार चोरी, चार जुवातास, एक लागुऔषध, दुई सवारीज्यान, चार सार्वजनिक हितविरुद्धको कसुर, सात फुटकर ज्यान, चार भवितव्य ज्यान र एउटा खोटा चलन (नक्कली मुद्रा) का मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

थापाका अनुसनर गत वर्ष सोही अवधिमा सबैभन्दा वढी सवर्जनिक हितविरुद्धको कसुरमा २० वटा मुद्दा दर्ता भएको थियो । त्यसैगरी फुटकर ज्यानमा तीन, सवारी ज्यानमा चार, लागुऔषधमा आठ, जुवामा तीन र कर्तव्य ज्यान, गौवध एबं ज्यान मार्ने उद्योगमा एक÷एक वटा मुद्दा दर्ता भएका थिए ।

दशैंको समयमा कोरोना सङ्क्रमण जोखिमका कारण मानिसको चहलपहल कम भएको तथा सुरक्षा व्यवस्था सबल र प्रभावकारी बनाइएका कारण आपराधिक घटनामा कमी आएको उनकाे भनाइ छ ।

सम्बन्धित समाचार

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
  • २०७७ कार्तिक १९, १५: ४६

काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०७७ कार्तिक १९, १५: ४६

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार २ सय रुपैयाँले घटेर तोलामा...

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
  • २०७७ कार्तिक १९, १५: ४६

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...