
नयाँ बिकल्प,
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले ३० वटा स्टिङ अपरेसन गरी एक सहसचिव, चार उपसचिव र अधिकृत लगायत ४८ जनालाई पक्राउ गरेको छ ।
आयोगले गत साउनदेखि कात्तिकसम्मको चार महिनामा गरेको विभिन्न अपरेसनमा घुस÷रिसवत माग गर्ने सरकारी सेवामा कार्यरत निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक लगायत विभिन्न कार्यालयका कर्मचारीलाई पक्राउ गरिएको जनाएको छ ।
सेवाग्राहीको कृत्रिम समस्या बनाई दुःख दिने र सहजीकरण गरिदिने भन्दै घुस÷रिसवत माग गरी भ्रष्टाचार गर्ने कर्मचारीहरूलाई आयोगले पक्राउ गरेको हो ।
आयोगको कार्यालय इटहरीले चार, बर्दिबासले तीन, हेटौँडाले दुई, पोखराले दुई, बुटवलले आठ, सुर्खेतले एक, कञ्चनपुरले दुई, टङ्गालले छ र नेपालगञ्जले दुई गरी २९ स्टिङ अपरेसनबाट ४८ जना पक्राउ परेका हुन् ।
आयोगको कार्यालय बुटवलले आठवटा अपरेसन गर्दा घुस÷रिसवत माग गरेको आरोपमा उपसचिव वा सो सरहका तीन जना कर्मचारी, अन्य अधिकृत, जनप्रतिनिधिका साथै नेपाल प्रहरीको कर्मचारीलाई समेत पक्राउ गरेको छ ।
गुट्खा तथा चिनी व्यवसायीबाट मासिकरूपमा घुस÷रिसवत लेनदेन गरेको सूचनाका आधारमा आयोगको कार्यालय बुटवलले साउन २० गते राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई पक्राउ गरेको हो ।
रानाले चलाएको बा२ झ १७६७ नम्बरको सरकारी प्लेटको टोयटा हाइलक्स गाडीमा घुसबापतको रकम लुकाइराखेको अवस्थामा आयोगको टोलीले दुई लाख रुपैयाँसहित राना र घुस दिने व्यवसायी अनिलकुमार झालाई नियन्त्रणमा लिएको थियो ।
आयोगको कार्यालय बुटवलले पूर्वाधार विकास कार्यालय, बाँकेमा कार्यरत कार्यालय प्रमुख सिडिई मनिषकुमार अर्याललाई पाँच लाख ३० हजार रुपैयाँ तथा राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई आठ लाख ९८ हजार रुपैयाँ घुसबापतको स्रोत नखुलेको रकमसहित रुपन्देहीबाट नियन्त्रणमा लिएको हो ।
अनुदान स्वरूपको रकम प्रदान गर्न सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिने रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई आयोगको टोली बुटवलले नियन्त्रणमा लिएको थियो ।
सहसचिव सरहको निजामती कर्मचारीसहित टङ्गाल, काठमाडौँले चालु अर्थिक वर्षमा छ वटा स्टिङ अपरेसन गरेको छ । तुलसीपुर उपमहानगरपालिका दाङका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायले स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिई हिँडेको भन्ने सूचनाको आधारमा आयोगको टोली टङ्गालले उपाध्यायलाई साउन १७ गते नागढुङ्गाबाट पक्राउ गरेको थियो ।
उपाध्यायको साथबाट बैंकमा जम्मा गरेको भौचरसहित रु १४ लाख ४८ हजार ३९६ बरामद गरेको आयोगले जानकारी दिएको छ । उनको अहिले अनुसन्धान चलिरहेको छ ।
नेपाल खानेपानी संस्थान रुपन्देहीका कार्यालय प्रमुख इन्जिनीयर सन्तोष साहले खानेपानी शाखा कार्यालयका कर्मचारीहरूसँग घुस उठाई काठमाडौँ जाँदै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोली टङ्गालले साहलाई धादिङबाट नियन्त्रणमा लिएको थियो । (राससबाट)
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...