संस्थागत भ्रष्टाचारः विकासको चुनौती – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

संस्थागत भ्रष्टाचारः विकासको चुनौती

विश्वका हरेक मुलुकहरुमा आ–आफ्नो खालका विशेषताहरु तथा समस्याहरु विद्यमान रहेको पाइन्छ । विश्वका अधिकांश मुलुकहरुमा विशिष्ट प्रकृतिको भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक अवस्था विद्यमान रहने गर्दछ ।

यसको प्रमुख कारण विश्वका प्राय मुलुकहरुमा भौगोलिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा राजनैतिक अवस्थाका लागि तयार हुने वा गरिने आधारहरु नै फरक फरक रहनु हो । यसै हुनाले विश्वका सबै मुलुकहरुले झेल्नु पर्ने समस्या पनि एकै प्रकृतिको हुँदैन ।

उक्त कुरा मुलुकको वस्तुस्थिति, भूगोल, सामाजिक, आर्थिक, न्यायिक, शैक्षिक, प्रशासनिक, तथा अन्य गतिविधिद्धारा निर्धारित हुने गर्दछ । तर आज विश्वमा जुनसुकै परिवेश र पृष्ठभूमि भएका मुलुकहरुमा भ्रष्टाचार एक साझा सामाजिक समस्याको रुपमा देखापर्दै आएको छ ।

दर र मात्रा फरक फरक भए पनि यसको जालो बन्ददेखि खुला, विकसित देखि अविकसित हरेक अर्थव्यवस्थामा जेलिएर रहेको छ ।

अतः भ्रष्टाचारको प्रकृति, मात्रा र स्वरुप विश्वका विकसित तथा अविकसित मुलुकहरुमा फरक फरक भए पनि यसको उपस्थिति कुनै न कुनै रुपमा सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, औद्योगिक, व्यापारिक तथा प्रशासनिक क्षेत्रमा पर्यायवाची हुँदै गएको छ ।

हुन त विकसित मुलुकहरुमा भ्रष्टाचारको स्वरुप र प्रकृति दुवै लुप्त प्रकृतिको छ । तर पनि यसले अल्पविकसित तथा विकासोन्मुख मुलुकरुमा जस्तो खुल्ला आम रुपमा सामाजिक सञ्जालकै रुपमा भ्रष्टाचारको ठूलो जालोलाई सामना गर्न नपरेको जस्तो देखिन्छ ।

तथापि यिनीहरुका नीतिगत निर्णयहरुको परीक्षण थलोको रुपमा कम विकसित तथा अविकसित मुलुकहरु दिनानुदिन परिणत हुनुपर्ने अवस्था वा परिस्थितिको सृजनाले भने यी मुलुकहरुमा भ्रष्टाचारको मात्रा फैलिनुमा परोक्ष रुपमा विकसित मुलुकका अल्पविकसित तथा विकासोन्मुख मुलुकहरुप्रति अवलम्बन गरिने नीति तथा कार्यक्रमहरु पनि केही मात्रामा सहयोगी जस्ता देखिन्छ भन्दा त्यति अतिशयोक्ति हुँदैन ।

विश्वका कुनैपनि मुलुकमा विद्यमान रहने भ्रष्टाचारको अवस्थाले सबै भन्दा बढी मार गरिब तथा निम्न आय भएका निमुखा जनताहरुलाई पर्ने गर्दछ ।

भ्रष्टाचारको कारण समाजमा असमानता, कालो बजारी, घुसखोरी, बलत्कार, चोरी, डकैती, वेश्यावृत्ति, न्यायिक तथा प्रशासनिक ढिलासुस्ती, मानव संसाधमा क्षमता तथा योग्यताको ह्रास जस्ता सामाजिक विकृतिका संजालहरु विस्तारित तथा प्रसारित भएर जान्छन् ।

यसैकारण अर्थव्यवस्थामा आर्थिक विकासको गति समेत ठप्प हुन पुग्दछ । फलस्वरुप राज्यप्रति जनताको विश्वास नै गुम हुन गई राज्य वा अर्थ व्यवस्था नै असफलताको संघारमा उभिन पुग्दछ । हुन त अर्थव्यवस्थामा आर्थिक उतारचढावको मूख्य कारण आर्थिक तत्वहरु नै हुने गर्दछन् ।

तर पनि कतिपय सन्दर्भमा भ्रष्टाचार जस्तो गैरआर्थिक सामाजिक विचलनकारी तत्वहरु पनि अर्थव्यवस्थामा मुद्रास्फिती, कृत्रिम अभाव सृजना, बेरोजगारी, आम्दानीको असमाना वितरण, गरिबीको चाप बृद्धि तथा सामाजिक विद्रोह तथा युद्धका लागि आधार सृजना गर्ने औजार बन्न पुग्दछ ।

अतः भ्रष्टाचारले समाजमा केही मुठ्ठीभर तत्वहरुलाई क्षणिक लाभ प्रदान गरे पनि अन्ततोगत्वा यसले समग्रसमाज, समूह तथा राष्ट्रलाई नै कालान्तरमा विघटनको संघारमा उभ्याउँछ ।

त्यसैले बेलैमा समाजलाई अग्रगमनमा लानका लागि क्रियाशील क्षेत्रहरु आर्थिक, राजनैतिक, प्रशासनिक, औद्योगिक, शैक्षिक, स्वास्थ्य आदिमा नीति निर्माता तहदेखि तल्लो सरोकारवाला तहसम्म भ्रष्टाचाको दूरगामी प्रभावका सम्बन्धमा चेत खुल्न सके यसले भ्रष्टाचार नियन्त्रण तथानिवारणका निमित्त थप सामाजिक आधारहरु तय हुन्छन् ।

बेलाबखत भ्रष्टाचार विरुद्ध चलाइएका विश्वव्यापी अभियानहरु तथा भ्रष्टाचार निवारणका लागि क्रियाशील रहेका संघ संस्थाहरुले प्रकाशिशत गर्ने प्रतिवेदनहरुले प्रकाशित गरेका आँकडाहरुलाई हेर्दा विश्वभर नै सार्वजनिक क्षेत्रमा भ्रष्टाचारको मात्रा अन्य क्षेत्रहरुको तुलनामा बढी रहेको देखिन्छ ।

जुन विश्व अर्थव्यवस्थाको समूचित प्रबद्र्धन र विकासका लागि अवरोधका रुपमा चित्रित गर्न सकिन्छ । कुनै पनि समाजमा भ्रष्टाचारको सवाल अन्य सवालहरुसँग अन्तरसम्बन्धित भएर आउने गर्दछ । विश्व इतिहासले राजनैतिक पद्धति भित्र छिपेर रहने भ्रष्टाचारका कारण नै यसले अन्य क्षेत्रहरुमा संस्थागत मौलाउने अवसर प्राप्त गर्ने हो भन्ने देखिन्छ ।

भ्रष्टाचारलाई समाजको समकालिन विकासको तगारो मात्र नभई सामाजिक पद्धतिकै बेथितिको रुपमाचित्रित गरिँदा गरिँदै पनि समाजमा भ्रष्टाचारको जालो माकुराको जाले झैँ फैलिनुले समाजमा धेरै तप्का र वर्गलाई यसले लपेटी सकेको कुरा सजिलै अनुमान गर्न सकिन्छ ।

विश्वका विभिन्न प्रकृतिका आर्थिक पद्धति अवलम्बन भएका हरेक राष्ट्रहरुमा भ्रष्टाचारको जालो फैलिनु साथै यसको मात्रा मुलुकपिच्छे फरक भए पनि प्रकृति प्रायः समान हुने हुँदा यसलाई निन्त्रणका लागि बढी चनाखो हुनुपर्ने देखिन्छ ।

वर्तमान नेपाली अर्थव्यवस्थामा भ्रष्टाचारको कुरा गर्दा यो सामाजिक पद्धतिकै रुपमा विकसित त हुने होइन भन्ने जोखिम बढ्न थालेको देखिन्छ । अन्य मुलुकहरुमा जस्तै नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचारको मात्र धेरै रहेको कुरा भ्रष्टाचार विरुद्धमा क्रियाशील संघसंस्थाहरुले बेलाबखत व्यक्त गरेका विचार तथा प्रतिवेदनहरुलाई हेर्दा सजिलै भान हुन्छ ।

आम नागरिकले सार्वजनिक सेवा प्राप्त गर्ने बखत भोग्नुपर्ने शास्तीलाई हेर्दा त प्रशासनिकक्षेत्रमा विना घुस कुनै काम नै हुँदैन भन्ने जस्तो मानसिकताले काम गरेको देखिन्छ ।

पछिल्लो समय सार्वजनिक क्षेत्रमा क्रियाशील मानिसहरुको पदोन्नती, सेवा प्रवेश, छात्रबृत्ति जस्ता कुराहरुको प्राप्तिका लागि भनसुन र पैसाको चलखेल विभिन्न क्षेत्रमा भईरहेको कुरा सार्वजनिक समाचार बन्नुले पनि नेपाली अर्थव्यवस्थाको विभिन्न क्षेत्रहरु जस्तै उद्योग, कृषि, पर्यटन, शिक्षा, प्रशासनिक सेवा, स्वास्थ्य, कानुनी सेवा आदि जहाँकहँी भ्रष्टाचार व्याप्त गरेको कुरालाई थप पुष्टि गर्दछ ।

विश्वका कम विकसित अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि भ्रष्टाचार एक ठूलो चुनौती बन्न पुगेको छ । नेपाली समाजको तल्लो तहसम्म जरो गाडेर बसेको भ्रष्टाचार दिनानुदिन मुलुकको आर्थिक सुधार, पारदर्शिता, जवाफदेहिता, सुशासन, राजनैतिक सुधार आदि जस्ता विषयवस्तुहरुको लागि थप चुनौतीपूर्ण हुँदै गएको छ ।

भ्रष्टाचारको प्रभाव नेपालको सार्वजनिक तथा निजी क्षेत्र दुवैमा उत्तिकै बलियो रुपमा उपस्थिति हुँदै जानुले अर्थव्यवस्थाको समग्र कार्यपद्धतिका लागि नै यो थप चुनौतीपूर्ण बन्न पुगेको छ । विश्वका उच्च भ्रष्टाचारको दर भएका मुलुकहरुको अग्रहारमा नेपाली अर्थव्यवस्था रहनुले पनि भ्रष्टाचार नेपाली अर्थव्यवस्थाको विकास तथा बृद्धिका लागि एक चुनौतीको रुपमा खडा हुन पुगेको छ ।

वर्तमान नेपाली अर्थव्यवस्थामा आर्थिक, गैरआर्थिक, राजनैतिक, गैरराजनैतिक तथा सामाजिक हर क्षेत्रमा भनसुन र दल तथा व्यक्तिको यो मान्छे र त्यो मान्छे भन्ने प्रबृत्ति र व्यवहारले भ्रष्टाचारलाई थप संस्थागत गर्दै लगेको देखिन्छ ।

वर्तमान समयमा नेपाली अर्थव्यवस्थाको हर क्षेत्रमा सेवाग्राहीहरुले सजिलै सेवा प्राप्त गर्ने परिस्थिति विद्यमान नरहनुले नेपालको न्यायिक, प्रशासनिक, औद्योगिक, शैक्षिक, स्वास्थ्य, पर्यटन, कृषि आदि हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त छ भन्ने कुरालाई थप पुष्टि गर्दछ । राज्यमा सबै कुराहरु नीति, नियम र कानुनद्धारा निर्देशित हुनुपर्दछ ।

तर नेपाली अर्थव्यवस्था विगत लामो समयदेखि तरल राजनैतिक संक्रमणबाट गुज्रिएकाले कतिपय सन्दर्भमा कानुन नीतिगत व्यवहारमा राज्य खरो उत्रिन नसकेको परिस्थिति सिर्जना भई भ्रष्टाचारले थप संस्थागत हुने अवसर प्राप्त गरेको देखिन्छ ।

पछिल्लो समयमा अन्तर्राष्ट्रिय दातृ निकायहरुले नेपालले भ्रष्टाचारको विद्यमान दरलाई कटौती गर्न नसके थप सहयोगहरु विस्तारमा चुनौती हुने कुरा व्यक्त गरिरहेका छन् ।

यसले एकातर्फ विदेशी सामु हाम्रो छबी बिग्रँदै गएको छ भने अर्कोतर्फ समाजका हर क्षेत्रमा भ्रष्टाचारकै कारण बेथितिका श्रृंखलाहरु संस्थागत हुँदै गएका छन् ।

बेलैमा राजनैतिक स्थायित्व सहित भ्रष्टाचार नियन्त्रण तथा निवारणका लागि राष्ट्रिय रुपमा नै अभियान संचालन गर्ने दृढ इच्छा शक्तिको विकास राज्यको नेतृत्वकर्ताले नगर्ने हो भने नेपालको आर्थिक विकास र उन्नतिमा सामाजिक स्तरमा नै संस्गागत हुँदै गएको भ्रष्टाचार ठूलो चुनौती हुनेछ ।

(लेखक आर्य स्कुल सितापाइलाका संस्थापक प्राचार्य हुन्)

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ कार्तिक २४, १५: ००

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ कार्तिक २४, १५: ००

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ कार्तिक २४, १५: ००

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...