म्यान्मार चुनाव: आङ साङ सू चीको दललाई बहुमत,सू ची राष्ट्रपति हुन नपाउँने – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

म्यान्मार चुनाव: आङ साङ सू चीको दललाई बहुमत,सू ची राष्ट्रपति हुन नपाउँने


नयाँ विकल्प
एजेन्सी – भर्खरै सम्पन्न आम निर्वाचनमा म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सू चीको दल नेशनल लीग फर डेमोक्रेसी एनएलडीले बहुमत प्राप्त गरेको छ। देशभित्र सू चीको लोकप्रियता बढ्दै गएकाे देखिएकाे छ । राष्ट्रपति प्रणाली भएको म्यान्मारमा अब एनएलडीले राष्ट्रपतिको चयन र नयाँ सरकार गठन गर्नेछ।

एनएलडीलाई राष्ट्रपतिका चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३२२ सदस्य आवश्यक पर्नेमा एनएलडीले ३६१ स्थानमा विजय प्राप्त गरिसकेको छ। मतगणना जारी रहेको ९५ निर्वाचन क्षेत्रमा पनि एनएलडीका उम्मेदवार अन्य उम्मेदवारभन्दा अगाडि छन्। म्यान्मारभित्र र बाहिर यो चुनावलाई सू चीको लोकप्रियता मापनको रूपमा हेरिएको थियो।

रोहिन्ज्या प्रकरणपछि विश्वभर नै सू चीको आलोचना भएको थियो। सू चीले प्रजातन्त्रको लागि सङ्घर्ष गर्दा पाएका कतिपय सम्मान र पुरस्कार उनीबाट खोसियो पनि तर यसपटकको चुनावी परिणामले देशभित्र भने उनको लोकप्रियता थप बढेको देखियो। हालसम्मको मत परिणामलाई हेर्दा उनको पार्टीले सन् २०१५ मा भन्दा धेरै मत र संसदमा धेरै सिट जित्ने पक्का छ।

सन् २०१७ मा म्यान्मारको रखाइन राज्यमा भएको हिंसापछि लाखौँको सङ्ख्यामा रोहिन्ज्या शरणार्थीहरू देशबाट भागेका थिए। गम्भीर प्रकृतिको मानव अधिकार हनन् भएको भन्दै म्यानमारबाट सात लाखभन्दा धेरै रोहिन्ज्या शरणार्थी बाङ्ग्लादेश पुगेपछि सू चीले राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालत द हेगको यात्रा पनि गर्न पर्‍यो।

म्यान्मारको राजनीति र इतिहासबारे जानकार लेखक थान्ट मिन्ट यु सू चीको यो विजय बर्मेली नागरिकको प्रजातन्त्रप्रतिको रुझान हो भन्छन्। “यो निर्वाचनलाई पनि मतदाताले आङ साङ सू चीको सेनासँगको सङ्घर्षको रूपमा लिए,” थान्ट मिन्ट युले भने, “बर्मेली मतदाताको लागि प्रजातन्त्र महत्वपूर्ण हो भन्ने सन्देश चुनावले दिएको छ।”

म्यान्मारको दोस्रो ठूलो दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी युएसडिपी सेना समर्थित दल हो। पहिलो ठूलो दल एनएलडी र दोस्रो ठूलो युएसडीपीबीच धेरै मतमतान्तर छ। अहिलेसम्म युएसडीपीले जम्मा २१ स्थानमा मात्र विजय हासिल गरेको छ। अमेरिकामा गत साता भएको चुनावका कारण संसारभर म्यान्मारको यो पटकको चुनाव भने छायाँमा पर्‍यो। राष्ट्रपति प्रणालीमा अमेरिका र म्यान्मार दुबै देशमा राष्ट्रपति भन्ने प्रत्यक्ष मतदानबाट चुनिने हैनन्।

अमेरिकामा इलेक्टरल कलेज मार्फत राष्ट्रपति चुनिन्छन् भने म्यान्मारमा संसद्‌को दुबै सदनको बहुमत सांसदको मतदानबाट राष्ट्रपति चुनिन्छन्। अमेरिकामा जस्तै म्यान्मारमा पनि दुबै सदनका सदस्य भने प्रत्यक्ष जननिर्वाचित हुन्। अमेरिकामा दुबै सदनको गरी ५३८ सिट सङ्ख्या छ र म्यान्मारमा दुबै सदनको गरी ६६४ सिट। तर म्यान्मारमा सन् २००८ को संविधान अनुसार सेनाका लागि २५ प्रतिशत अर्थात १६६ सांसद सङ्ख्या सुरक्षित छ।

जहाँ सेना प्रमुखले आफूले मन लागेका बहालवाला सैनिक अधिकारीलाई सांसद बनाएर पठाउँछन्। सैनिक शासनकै बेला लेखिएको संविधान परिवर्तन गर्ने सू ची र उनको दल एनएलडीको प्रमुख माग हो। संविधान परिवर्तन वा संशोधन गर्न ७५ प्रतिशतभन्दा धेरै सांसदको सहमति हुनुपर्छ। पच्चीस प्रतिशत सांसद सैनिक हुने भएकाले सेनाको सहमतिबिना संविधान संशोधन हुँदैन। त्यसैले कोही विश्लेषक म्यान्मारको प्रजातन्त्रलाई ७५ प्रतिशत प्रजातन्त्र भनेर व्यङ्ग्य गर्छन्।

सांसदबाहेक संविधान अनुसार गृह, रक्षा, सीमा सुरक्षासहितका मन्त्री र उपराष्ट्रपतिलगायत महत्वपूर्ण पद सेनाका लागि सुरक्षित छ। प्रमुख प्रतिपक्ष दल युएसडीपी पनि सेनाको समर्थन प्राप्त दल हो, जसले सन् २०१५ को चुनावमा ४१ सिट प्राप्त गरेको थियो। यसपटक केही सांसद सङ्ख्या घटेपनि युएसडीपी नै प्रमुख प्रतिपक्ष दल हुनेछ। चुनाव जिते पनि सू ची राष्ट्रपति हुन पाउँदिनन्।

संविधानमै विदेशीसँग बिहे गरेकालाई म्यान्मारको राष्ट्रपति बन्न नमिल्ने बनाइएको छ। सू चीको बिहे बेलायती नागरिकसँग भएको हो। श्रीमान् मरिसके पनि उनका दुई छोरा बेलायतमा बस्छन्। यो निर्वाचनमा सेनाको लोकप्रियता भने घटेको देखियो। सेना प्रमुख मिन आङ लेङले प्रत्यक्ष वा परोक्ष रुपमा धर्म र देशको सच्चा सेवकलाई मात्र भोट दिन पर्छ भन्दै युएसडीपीको पक्षमा चुनावी माहौल तयार पार्ने कोशिस गरेका थिए।

यसपटक एनएलडीले मुसलमान समुदायका दुई जना उम्मेदवारलाई पहिलोपटक टिकट दिएकोमा कट्टरपन्थी बौद्धमार्गी बर्मेलीले त्यसको विरोध गरेका थिए। ती दुबै उम्मेदवार विजयी भएका छन्। भोटिङको पाँच दिनअघि मात्र सेना प्रमुखले वक्तव्य र अन्तरवार्तामार्फत् चुनावमा अनियमितता भएको बताएका थिए। उनले एनएलडी सरकारले गठन गरेको निर्वाचन आयोगलाई असक्षमको आरोप पनि लगाए। आइतवार भोट खसालेपछि भने संवाददाताको प्रश्नमा सेना प्रमुख मिन आङ लेङले चुनावी परिणामलाई सेनाले स्वीकार गर्ने बताए।

रोहिन्ज्या प्रकरणले सू चीलाई देश भित्र भने लोकप्रिय हुने अवसर दियो। उनले द हेग पुगेर मानव अधिकार उल्लङ्घन गरेको म्यान्मारी सेनाको पक्षमा वक्तव्य दिएपछि उनको लोकप्रियता बढेको आकलन अर्का विश्लेषक फ्यो विन लिन गर्छन्। सेना समर्थकले सू चीलाई देशको र आफ्नो जातिको भन्दा मुसलमानको माया गर्ने भनी चित्रित गर्न खोजेका थिए।

त्यसैलाई चिर्न उनी द हेग पुगेको फ्यो विन लिन विश्वास गर्छन्। यो चुनावमा तीन जना नेपालीभाषी उम्मेदवार पनि थिए। शान प्रदेशका शंकर कँडेल, कचिन प्रदेशका गणेश बस्नेत र छिन प्रान्तका सुन्दर मान। तीनै जना उम्मेदवार एनएलडीका उम्मेदवारसँग पराजित भए। सुन्दर मान निकटतम प्रतिद्वन्द्वी भए। एनएलडीका उम्मेदवारले १५,३१७ ल्याएको ठाउँमा सुन्दर मानले ८,९९२ मत ल्याए। अरू दुई नेपालीभाषी उम्मेदवार बस्नेत र कँडेलले आफ्नो जमानत जोगाउन पनि सकेनन्।

कोभिड -१९ का बेला चुनाव

नेपाली जस्तै करिब ४० लाख म्यान्मारी पनि वैदेशिक रोजगारीका लागि थाइल्याण्ड, सिंगापुर, कोरिया, जापान, दुबई र कतारसहित मध्यपूर्वका देशमा छन्। तिनले उतैबाट बिदाको दिन पारेर ती देशका म्यान्मारस्थित दुतावासमा भोट हाल्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको थियो।

४० देशमा रहेका म्यान्मारीले त्यस व्यवस्था अनुसार भोट हालेका थिए।यस्तै यसपटक कोभिड-१९ का कारण अग्रिम भोट हाल्ने (अर्ली भोटिङ) व्यवस्था पनि आयोगले गरेको थियो। लकडाउनका कारण आफ्नो निर्वाचन क्षेत्रमा जान नसक्नेलाई आफू बसेकै स्थानबाट आम चुनावको १० दिनअगाडि देखि नै भोट हाल्न दिने व्यवस्था निर्वाचन आयोगले मिलाएको थियो।

सू ची र राष्ट्रपति विन मिन्टले पनि अर्ली भोटिङको फाइदा उठाए। त्यस्तै ६० वर्षभन्दा माथिका अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि पनि उनीहरू बसेकै ठाउँमा चुनावी अधिकारी मतपत्र र मत बाकस लिएर पुगेका थिए।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ कार्तिक २६, १३: ३९

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७७ कार्तिक २६, १३: ३९

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७७ कार्तिक २६, १३: ३९

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...