ओलीले सत्ता आरोहणको ‘हरियो घाँस’ देउवालाई देखाएपछि… – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper
प्रधानमन्त्री– देउवा भेट

ओलीले सत्ता आरोहणको ‘हरियो घाँस’ देउवालाई देखाएपछि…



नयाँ विकल्प

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद चरम उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार दिउँसो भएको करिव डेढ घण्टा लामो भेटमा प्रधानमन्त्री ओलीले पार्टी भित्र देखिएको आन्तरिक कलह र विग्रहले देश नै संकटमा पर्ने भन्दै सहयोगका लागि देउवासँग आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग भेट गरेपछि निकै उत्साहित देखिएका देउवाले भने रिक्त रहेका संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा चासो देखाएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विश्वविद्यालयमा उपकुलपति र संवैधानिक निकायमा नियुक्तिका विषयमा उनीहरूबीच कुराकानी भएको दाबी गरिएको छ । सो विषयमा सिफारिसका लागि कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य रमेश लेखक र सरकारको तर्फबाट सुभाषचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ ।

हाल संवैधानिक निकायमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तसहित अन्य निकाय गरी ४८ पद रिक्त छन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिको सिफारिसका विषयमा छलफल गर्न भनेर बहाना गरे पनि सत्तारुढ दल नेकपा फुटको संघारमा रहेकोले सत्ता सहयात्राका लागि ओलीले देउवालाई आग्रह गरेको स्रोतले जनायो ।

‘संवैधानिक परिषद्ले संवैधानिक निकायमा रिक्त पदको सिफारिसमा मात्र हैन, आवश्यकता परेमा सत्ता सहयात्राको लागि समेत खुल्ला छु, के के मा सहमति खोज्नु पर्ने हो भन्नुस्’, प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै बालुवाटार स्रोतले भन्यो ।

ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरु वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित पाँच नेताले मोर्चाबन्दी गरेर योजनाबद्ध ढंगले अघि बढेपछि ओलीले देउवासँग सत्ता सहयात्राका लागि सहयोग मागेका थिए ।

देउवासँगै केन्द्रीय सदस्य लेखक थिए भने प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल थिए ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीबिरोधी खेमाका नेता स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ओली पक्षधर कार्यकर्ताले शनिबार औपचारिक कार्यक्रम गर्न नदिइ बिथोलेको घटनालाई लिएर बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले आपत्ति जनाई सकेका छन् ।

नेकपा भित्रको बिबाद र बिग्रह जिल्ला तहसम्म पुगेपछि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता देउवासँग सहयाेगी नराखी आधा घण्टा बढी भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
  • २०७७ मंसिर ७, १२: ०२

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय...

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ मंसिर ७, १२: ०२

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ मंसिर ७, १२: ०२

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...