कुनै पनि शिक्षकहरु पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट वञ्चित गर्नुपर्छ – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

कुनै पनि शिक्षकहरु पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट वञ्चित गर्नुपर्छ

तीनपाटन गाउँपालिकालाई कोरोनाले कत्तिको पिरोलो त ?
कोरोनाले नेपाललाई मात्रै नभएर विश्वलाई नै प्रताडित बनाएको छ । त्यसमा तीनपाट गाउँपालिका अछुतो रहने कुरै भएन । तथापि खुशीका साथ भन्नुपर्छ, यो गाउँपालिकामा अन्तको तुलनामा त्यति धेरै कोरोना संक्रमित देखिएनन् ।

विदेशबाट आउनेमा र घरमै रहेका गरेर ७, ८ जनामा संक्रमण देखियो । त्यसबाहेकमा खासै देखिएको छैन, अहिले लगभग सबैलाई आरामै भइसकेको छ । अहिलेसम्म तीनपाटन गाउँपालिकालाई कोभिडले त्यति धेरै पिरोलेको छैन ।

तपाईको गाउँपालिकामा स्कुल, कलेजहरु सुचारु हुनथाले ?
स्कुल, कलेजको विषयमा शिक्षा मन्त्रालयले परिपत्र जारी गरेको छ । त्यसैलाई टेकेर हामीले सुचारु गरेका छौं । कक्षा १२ को जाँच पनि लगभग सम्पन्न हुन लागेको छ ।

अब पढाइ पनि सुचारु गर्ने भनेर सुरक्षा मापदण्ड अपनाउँदै छौं । सम्भावित संक्रमणलाई मध्यनजर गरेर सुरक्षित ढंगबाट स्कुल, कलेज सुचारु गर्न लागेका छौं ।

चुनावका बेला जनतालाई दिएको आश्वासन अनुसार सन्तुष्ट पार्नुभएको छ त ?
असन्तुष्टि, असन्तुष्टिका कुरा चाहीं उहाँहरुसँगै लिनुपर्ने हुन्छ । तर, मैले गाउँ, टोल, वडामा उपलब्ध साधन, स्रोतको आधारमा आफैसमेत उपस्थित भएर परामर्श गरेर काम गर्ने गरेको छु ।

जहाँसम्म मलाई विश्वास छ, हिजो मैले चुनावका बेलामा बोलेका कुराहरु सकेसम्म पुरा गरेको जस्तो लाग्छ । मैले गाउँ, टोल, वडाहरुमा गएर बुझ्दा मैले बोलेका कुराहरु धेरै पुरा भएको पाएको छु । तीनपाटन गाउँपालिका भूगोलको हिसाबले धेरै भू–भागहरु दूर्गम पनि छन् ।

ती विकटताले गर्दा कतै कमीकमजोरीहरु भएका होलान् । त्यतिहुँदाहुँदै पनि ती ठाउँका जनताहरु पनि धेरै हदसम्म मेरो कामबाट सन्तुष्ट देखिनुहुन्छ ।

अहिले केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार एकमदै बढ्यो, जनप्रतिनिधिहरु आफै योजना बनाउने आफै ठेक्का लिने गर्दछन् भन्ने गुनासो छ नि यसलाई कसरी अनुगमन गर्नुभएको छ ?
केन्द्रको कुरा त हामीलाई थाहा भएन । स्थानीय जनप्रतिनिधिहरु पनि भ्रष्टाचारमा लिप्त भए भनेर मिडियामा आएका कुराले म पनि धेरै दुःखी छु ।

यति हुँदाहुँदै पनि मैले तीनपाटन गाउँपालिकामा कसरी भ्रष्टाचाररहित सुशासन कायम गर्छ सकिन्छ भनेर वडा अध्यक्षहरुसँग छलफल गरेर तपाईंहरु निष्पक्ष ढंगले काम गर्नुहोस् भनेको छु । जसरी तपाईंले जनप्रतिनिधिहरुले आफै ठेकेदार भएर अनियमितता गर्ने काम हुन्छ भन्नुभयो ।

तीनपाटन गाउँपालिकाका कुनै पनि वडाअध्यक्ष तथा जनप्रतिनिधिहरुले त्यस्तो काम गरेको मैले पाएको छुइन ।

तपाईं नेपाली कांग्रेसबाट विजयी प्रमुख हुनुहुन्छ, फरक पार्टीबाट जितेका वडा अध्यक्षबाट कत्तिको सहयोग पाउनुभएको छ ?
तीनपाटन अरुको तुलनामा फरक प्रकृतिको गाउँपालिका हो । यहाँ हिजो चुनावका बेला जुन पार्टीको चिन्ह लिएर जितेको भएपनि सम्पूर्ण जनप्रतिनिधिहरु एकजुट भएर जनताको काममा जुटेका छौं । यहाँ मैले नेपाली कांग्रेसबाट अध्यक्ष जितेको छु भने तत्कालीन एमालेबाट उप–प्रमुख जित्नुभएको छ ।

११ वटा वडामा ४ वटा नेपाली कांग्रेसले जितेको छ भने ६ वटामा नेकपाले जितेको छ । कार्यपालिकामा लगभग दुई तिहाई बहुमत नेकपाको भएको गाउँपालिका हो यो । तर, हिजो जुन पार्टीबाट जितेको भएपनि उहाँहरु जनताको मतबाट निर्वाचन वडा अध्यक्ष, उपाध्यक्ष हुनुहुन्छ भनेर मैले जुनखालको आदर समान्न गरिराखेको छु । त्यसलाई सबैले आदर सम्मानका साथ पालना गर्नुभएको छ । कर्मचारी साथीहरु नयाँ–नयाँ आउनुहुन्छ ।

उहाहरुलाई पनि निष्पक्ष रुपमा जनपक्षीय ढंगले काम गर्न सुझाएको छु । जसरी संरचनागत ढंगले सन्तुलन मिलाएको छु । किन भने कुनै दलगत, पार्टीगत हिसावले तलमाथि हुनेगरी मैले काम गरेको छैन । त्यसैले जुन पार्टीबाट निर्वाचित भएर आउनुभएको जनप्रतिनिधिहरु भएपनि मलाई काम गर्न कुनै अप्ठ्यारो महसुस भएको छैन ।

दुई तिहाई कम्युनिस्टहरु भएको ठाउँमा कांग्रेसबाट चुनाव जित्न कसरी सफल हुनुभयो ?
यसलाई म ‘कर्मको फल’ भन्छु । त्यो भनेको काम हो । हिजो मैले पार्टीको सिद्धान्त अनुसार अनुसासित र इमानदार ढंगले जनताको काम गरेँ । त्यसैको प्रतिफल नै मेरो जितको कडी हो भन्ने लाग्छ । अर्को कुरा तीनपाटन गाउँपालिकाको चकमके बजार कुनै बेला गण्डागर्दीको अखडा भनेर चिनिन्थ्यो ।

जसको कारणले त्यहाँ व्यापारीदेखि लिएर कपाल काट्ने हजाम, जुत्ता सिलाउने र तरकारी पसल गर्नेहरु पनि बस्न नसक्ने अवस्था थियो । मैले सबै दलका साथीहरुसँग समन्वय गरेर त्यसलाई साम्य पार्न जनपक्षीय काम गरेको थिएँ ।

त्यसपछि त्यहाँ ती सबै व्यापार व्यवसाय गर्ने साथीहरुलाई बस्न सक्ने अवस्था बनाएको थिएँ । त्यो अर्को चुनाव जित्ने कडी हो भन्ने मलाई लागेको छ ।

त्यसोभए तपाईंको कामले त्यहाँका जनता सन्तुष्ट छन् हो ?
त्यो मैले महसुस गर्ने कुरा हो । फेरि मनै सर्वैसर्वा भन्ने चाहीं होइन । जहाँ यदाकदा साथीहरुको कुरा सन्दा र अन्य पार्टीका साथीहरुसँग बसेर भलाकुसारी गर्दा, चिया गफ गर्दा र फरक पार्टीका साथीहरु अफिसमा आएर कुरा गर्दा पनि उहाँहरु असन्तुष्ट भएको मैले पाएको छैन ।

तपाईंको गाउँपालिकामा ११ मध्ये कतिवटा विकट छन् ?
दुर्गमको कुरा गर्दा सुगम चाहीं १, २, ५, १० र ११ नम्बरका केही भाग सुगम मानिन्छन् । तीबाहेक अन्य धेरै वडाहरु दूर्गम छन् ।

यो बाहेक सिन्धुली जिल्लाका सबै गाउँपालिकाले अन्य जिल्लालाई छोएको छ । तीनपाटन गाउँपालिका मात्रै हो आन्तरिक भूगोलमा समेटिएको ।

यति हुँदाहुँदै पनि तीनपाटन गाउँपालिकाको कुनै बाटो पिच भएको छैन । त्यसको लागि पनि प्रयास गरिरहेको छु । त्यसकारण मलाई समग्रमा राम्रै काम गरेको जस्तो लाग्छ । साधन, स्रोतअनुसार भौगोलिक बनावटको हिसाबले आफ्नो कामप्रति सन्तुष्ट छु ।

स्वास्थ्य र शिक्षाको अवस्था कस्तो छ ?
स्वास्थ्यको क्षेत्रमा कुरा गर्नुपर्दा हिजो दिनमा ८ गाविसहरु थिए । त्यसताका यहाँ दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र र ६ जटा स्वास्थ्य चौकीहरु थिए । अहिले त्यसलाई विस्तर गरेर नयाँ स्वास्थ्य चौकी स्थापना गरेको छु ।

विभिन्न वडाहरुमा भूगोलको हिसावले पनि स्वास्थ्य चौकीहरु विस्तार गरिएको छ । अहिले १७ वटा स्वास्थ्य संस्थाहरु भएका छन् ।

ती स्वास्थ्य संस्थाहरुबाट बृद्धबृद्धा र महिलाहरुले निःशुल्क उपचारहरु पाइरहनुभएको छ । औषधिहरु पनि पाउनुभएको छ । सुत्केरी आमाहरुले पाउनुपर्ने सुविधाहरु पनि पाइरहनुभएको छ । अहिले १५ बेडको अस्पताल बनाइसकिएको छ ।

शिक्षा क्षेत्रको कुरा गर्नुपर्दा सामुदायिक विद्यालयमा राज्यको लगानी अनुसार अभिभावको आकर्षण घटेको छ ।

विद्यार्थीको पनि विश्वास घट्दो अवस्थामा छ । त्यसलाई कसरी विश्वस्त बनाउने भनेर मैले धेरै विज्ञहरुसँग छलफल पनि गरेको छु । यसलाई एउटा स्थानीय तहले प्रयत्न गरेर मात्रै कन्ट्रोल गर्ने र लाइनमा ल्याउने अवस्था देखिएन ।

यस्तो हुनुमा राज्य र शिक्षक कसको दोष देख्नुहुन्छ ?
यसमा नेपाल सरकारको कानुन नै फितलो भयो । जसको कारण शिक्षण पेशामाथि राजनीतिक हस्तक्षेप भयो । हरेक शिक्षकहरु कुनै न कुनै पार्टीको कमिटिमा सक्रिय सदस्य छन् । पार्टीको सदस्य भएकाले पढाउन छाडेर पार्टीको काममा हिड्नुपर्ने अवस्था देखिन्छ ।

जस्तो सिन्धुली जिल्लाकै कुरा गर्ने हो झन्डै ४० प्रतिशत शिक्षकहरु कुनै न कुनै पार्टीको जिल्ला र क्षेत्रीय कमिटीमा रहेका छन् । अनि कसरी शिक्षा क्षेत्रमा सुधार आउँछ । यसरी राजनीतिक हस्तक्षप भएका कारणले सामुदायिक विद्यालयको पढाइ एकदमै खस्किँदो अवस्थामा छ । तीनपाटन गाउँपालिकामा ३ वटा क्याम्पससहित ८८ वटा शैक्षिक संस्थाहरु छन् ।

३ वटा बोर्डिङ छन्, तर अभिभावकहरुको ती प्राइभेट संस्थामा आकर्षण र विश्वास बड्दो छ, तर सामुदायिक विद्यालयमा बढेन । अहिले तीनपाटन गाउँपालिकाको विकास निर्माणदेखि अन्य गरेर कूल बजेटको ४० प्रतिशतसामुदायिक शिक्षा क्षेत्रमा खर्च भएको छ । यति ठूलो मात्रामा खर्चेको बजेट सदुपयोग नभएकोमा नेपाल सरकारप्रति मेरो गुनासो छ ।

सरकारी शैक्षिक संस्थाप्रति जनआकर्षण बढाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
हामी जनप्रतिनिधि भनेको सरकारको नीतिनिर्देशन पालन गर्ने पालक मात्रै हौं । यसमा सुधार ल्याउन नेपाल सरकारले नीति नै बनाएर अगाडि बढ्नुपर्छ । साच्चिकै शिक्षा क्षेत्रमा सुधार ल्याउने हो भने कुनै पनि शिक्षकहरु राजनीतिमा लगेको हुनुहुँदैन ।

यदि पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट बन्चित गर्नुपर्छ । दोस्रो हरेक शिक्षकले आफ्ना नानी, बाबुहरुलाई आफूले पढाएको विद्यालयमा पढाउनुपर्छ । तेस्रो शिक्षक पेशाका साथीहरुलाई घरपायक कसैलाई राख्नुहुँदैन ।

अर्को शिक्षकहरुलाई दोस्रो व्यापार गर्न दिनुहुँदैन । यी कुरामा सुधार गरियो भने मात्रै सामुदायिक विद्यालयको स्तरोन्नति हुन्छ । यसो गर्न सकिएन भने सामुदायिक विद्यालय धरासायी भएर जान्छ ।

देशकै दोस्रो ठूलो गाउँपालिकामा जनस्वास्थ्यको व्यवस्था कस्तो गर्नुभएको छ ?
यो ठूलो गाउँपालिका हो । यहाँ जनसंख्या पनि तुलनात्मक रुपमा धेरै छन् । उहाँहरुको स्वास्थ्य सेवाको लागि सरकारले स्वास्थ्य बीमा ल्याएको छ । त्यसलाई हामीले विशेष रुपमा लागु गरेका छौं । त्यसले गरीव तथा निमुखा जनतालाई धेरै टेवा पु¥याएको छ ।

अर्को धेरै ठाउँहरु दुर्गम भएकाले मानिसहरु बिरामी हुनेबित्तिकै अस्पताल लागेको अवस्था छैन । गएपनि अस्पतालमा डाक्टर नहुने समस्या हुन्छ । त्यसलाई न्यूनिकरण गर्न भएको मेनपावरलाई परिचालन कसरी गर्ने भनेर तीनपाटन गाउँपालिकाले विभिन्न छलफल र परामर्श अगाडि बढाएको छ ।

नेपाली महिलाहरु धेरै घरमै सुत्केरी हुने चलन थियो । त्यसले आमा र शिशु दुवैलाई नोक्सान पु¥याउने गरेको थियो । त्यो जोखिमबाट जोगाउन र अस्पतालमा सुत्केरी गराउन अभिप्रेरित गरिएको छ ।

अस्पतालमा सुत्केरी गराउँदा नेपाल सरकार २८ सय दिने गरेको थियो । त्यसमा २२ सय थप गरेर मैले अस्पतालमा आएर सुत्केरी हुने महिलालाई ५ हजार दिने व्यवस्था मिलाएको छु् । सुत्केरी गराउन नेपाल अधिराज्यभरि जहाँ लगेपनि निःशुल्क एम्बुलेन्स सुविधा मिलाएको छु ।

दलित, जनजातिहरुको लागि कस्तो प्यकेज कार्यक्रमहरु ल्याउनुभएको छ ?
हामीले दलितहरुको लागि पनि विभिन्न प्याकेज कार्यक्रमहरु ल्याएका छौं । त्यसमा सीपमुलक तालिमहरु छन् । दलित साथै अति गरीव तथा विपन्नको लागि पनि भिन्न कार्यक्रमहरु ल्याएका छौं । मैले जाति, जनजाति, दलित भन्दा पनि वर्गीय आधारमा कार्यक्रमहरु ल्याएका छौं ।

कोही बाबुन हुँदैनमा धनी भइहाल्ने र दलित, जनजाति हुँदैमा गरीव हुने भन्ने हुँदैन । कोही बाहुन पनि गरीव छन् कोही दलित, जनताजाति पनि धनि छन् । त्यसैले जातिगत भन्दा पनि वर्गीय उत्थानका कार्यक्रमहरु हामीले ल्याएका छौं । यी वर्गहरुलाई अनुदान दिने भन्दा काम दिने । जस्तो तरकारी खेती, पशुपालनहरुम आकर्षण गर्ने काम हामीले गरेका छौं ।

तीनपाटन गाउँपालिकामा दलित र जनजातिको बसोबास मात्रै ६० देखि ७० प्रतिशत हाराहारी छ । त्यसकारण उहाँहरुको संख्या पनि ठूलो भएकाले उहाँहरुलाई जीवनोपयोगी कार्यक्रम ल्याउनुपर्छ । त्यसको लागि विभिन्न सीपमुलक कार्यक्रमहरु ल्याएका छौं ।

महिलाहरुलाई पनि ठाउँविशेष विभिन्न सीपमुलक तालिमहरु दिएका छौं । हामीसँग उपलब्ध सीमित साधन, स्रोतबाट दलित, महिला, जनजाति, अल्पसंख्यकहरुलाई विभिन्न खाले सीपमुलक तालिम कार्यक्रमहरु ल्याएका छौं ।

म जाती भन्दा पनि वर्ग उत्थानलाई जोड दिने व्यक्ति हुँ । तर, जनजातिहरु अलिबढी चाडपर्व, रामरमाइलोमा बढी आकर्षित हुने भएकाले यसलाई छोट्याएर उत्पादनमुखी हुन सुझाएको छु ।

कृषि क्षेत्रको स्तरउन्नतिको लागि कस्तो कार्ययोजना ल्याउनुभएको छ ?
तीनपाटन गाउँपालिका कृषि क्षेत्रमा सम्भावना बोकेको ठाउँ हो । यहाँ सबैखाले हावा पानी पाइन्छ । सिंचाईंको लागि खोलानालाहरु बगिराखेका छन् । त्यसकारण मैले युवाहरुलाई विदेश जानबाट रोक्न अथवा विदेशबाट सीप आर्जन गरेर आएका साथीहरुलाई आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर हामीले कृषि क्षेत्रमा विभिन्न खाले प्याकेज कार्यक्रम ल्याएका छौं ।

त्यसमा तरकारी खेतीदेखि पशुपालन कार्यक्रमहरुसम्म पर्दछन् । ती कार्यक्रमहरु सम्पन्न गर्नको लागि गाउँपालिकाको स्रोतले मात्रै अनुदान दिन सक्दैनौं । त्यसको लागि कृषि विकास बैंकसँग पनि समन्वय गरेर सस्तो ब्याजदरमा लोन प्रवाह गर्ने योजनामा छौं ।

किसान, साना व्यवसायीको सस्तो ब्याजदरमा जमानी धितो बसेर लोन प्रवाह गर्न लागिरहेका छौं ।

कृषि उत्पादनमा बजार प्रवद्र्धन छैन, बिचौलियाहरुले खेलेर लगानीसमेत उठ्दैन भन्ने गुनासो किसानहरुको छ नि ?
किसानहरुको यो गुनासोको सम्बन्धमा मलाई जानकारी थियो । कृषि उत्पादनमा बिचौलियाले खेलिदिने । एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन कर लाग्ने जस्तो समस्याहरु थिए ।

त्यसलाई सहज बनाउन कृषि उत्पादनलाई बजारसम्म पु¥याउँदा लाग्ने कर हटाइएको छ । बजारको कुरा गर्नुपर्दा यस गाउँपालिकाको माथिल्लो भेगमा हुने अम्रिसो, अदुवा, अलैंची, चिउरीलगायत विभिन्न किसिमका फलफूल तरकारी उत्पादन हुन्छ ।

त्यसलाई बजारीकरण गर्न विभिन्न व्यवसाय गर्ने साथीहरुसँग समन्वय गरेका छौं । किसानको लागनसमेत नउठ्ने गरी लागेका बिचौलियाहरुलाई न्युनिकरण गरिएको छ ।

अन्त्यमा केन्द्रविन्दुमा रहेको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।

सम्बन्धित समाचार

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ मंसिर १५, १४: ३२

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ मंसिर १५, १४: ३२

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ मंसिर १५, १४: ३२

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...