चार महिनामा चितवन राष्ट्रिय निकुञ्जमा तीन हात्ती मरे – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

चार महिनामा चितवन राष्ट्रिय निकुञ्जमा तीन हात्ती मरे

नयाँ विकल्प

काठमाडाैं- चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार दीपेन्द्र गज, विक्रमप्रसाद र सुन्दरमाला मरेका हुन् ।

दीपेन्द्र क्षयरोगका कारण मरेको आशङ्का गरिएको छ । विक्रमप्रसाद बामपुड्के रहेको थियो । उसको उमेर पुगेर मरेको डा श्रेष्ठले जानकारी दिनुभयो । उनले भने , “बामपुड्के जनावरको आयु अन्यको जस्तो हुँदैन ।” त्यस्तै सुन्दरमाला बूढो भएर मरेको उहाँले जानकारी दिनुभयो । सुनदरमालाको उमेर ७५ वर्ष रहेको थियो ।

दीपेन्द्र र सुन्दरमाला सौराहामा रहेका थिए भने विक्रमप्रसाद बेलशहर पोष्टमा रहेको थियो । सुन्दरमाला पोथी हो भने दीपेन्द्र र विक्रम भाले हात्ती हुन् । निकुञ्जका हात्तीमा क्षयरोगको आशङ्का गरिएसँगै नमूना सङ्कलन गरेर परीक्षणका लागि राखिएको छ । हाल निकुञ्जमा ५९ वटा हात्ती रहेका छन् ।

हात्तीसँगै निकुञ्जमा यसै अवधिमा ५१ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार मरेका वन्यजन्तुमा सबैभन्दा धेरै गैँडा छन् । चालु आवमा मात्रै १७ वटा गैँडा मरेका छन् । जसमा चार वटा चोरी शिकारीबाट मरेका हुन् भने १३ वटा प्राकृतिक कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ । पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले संरक्षणका लागि गम्भीरतापूर्वक अध्ययन थालेको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा तीन सदस्यीय टोलीले गैँडाको मृत्युको कारणको अध्ययन थालेको छ । त्यसैगरी सो अवधिमा १६ वटा चित्तल मरेका छन् । जसमध्ये ११ वटा कुकुरको आक्रमणबाट तथा छ वटा मेसजालीमा अड्किएर र बच्चा जन्माउन नसकेर मरेका हुन् । चितुवाको आक्रमणबाट पाँच वटा बँदेल मरेका छन् ।

त्यस्तै यसै अवधिमा दुई वटा चितुवा, दुई वटा रतुवा, एउटा जरायो, एउटा लगुना, एउटा दुम्सी, एउटा बाँदर र एउटा कछुवा मरेका छन् । यिनीहरुमध्ये केही सडक दुर्घटना, वन्यजन्तुको आक्रमण, चोटपटक लागेर, निकुञ्जको तारमा अल्झेर तथा केही उपचारका क्रममा मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सवारी दुर्घटना र अन्य जनावरको आक्रमणबाट वन्यजन्तु मर्ने गरेकाले संरक्षणका लागि काँडेतार तथा मेसजाली लगाइएको बताए । कतिपय वन्यजन्तु निकुञ्जकै मेसजालीमा ठोक्किएर मर्ने गरेको हुँदा ती जालीलाई पनि व्यवस्थित गर्न लागिएको उनले बताए ।

वन्यजन्तु चोरी शिकार नियन्त्रणका लागि आसपासका बस्तीमा विशेष निगरानीसमेत बढाएको उहाँले बताउनुभयो । निकुञ्जका पोष्टमा खटिएका नेपाली सेना, निकुञ्जका कर्मचारी र मध्यवर्तीका बासिन्दा सबै वन र वन्यजन्तुको सुरक्षामा लागि परेको उनकाे भनाइ छ ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ मंसिर १७, १४: ०१

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ मंसिर १७, १४: ०१

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ मंसिर १७, १४: ०१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...