फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

नयाँ विकल्प

पाेखरा

यही मङ्सिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

कोभिड–१९ का महामारीबीच पनि आन्तरिक पर्यटकले निकै रुचाएको प्याराग्लाइडिङ उडानमा अनुभवी प्यारा पाइलट राजु गैरे (नेपाल) को निधन भएपछि दुर्घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरिएको हो । दुर्घटनामा टेन्डम पाइलटको ज्यान गएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्राधिकरणका एयर ट्राफिक सर्भिस अफिसर अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरी छानबिन समिति गठन गरेको हो । समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ ।

त्योसँगै प्राधिकरणले नेपाल हवाई खेलकूद संस्था (एनएए)लाई पनि दुर्घटनाका बारेमा जवाफ मागेको थियो । झण्डै दुई दशकदेखि प्याराग्लाइडिङको क्षेत्रमा क्रियाशील रहेको एनएएले पछिल्लो दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्षसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाएको छ ।

एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिले उक्त दुर्घटनाका विभिन्न पक्षको प्रक्रियागत अध्ययन गरी बुझाएको प्रतिवेदनको अन्तिम निष्कर्षमा ‘पछिल्लो समयमा विकसित भएको अतिरिक्त गतिविधिमध्येको फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा देब्रे हातको ब्रेक छुट्न गएको र ग्लाइडर असन्तुलित हुँदा स्पिन भएको र स्पिडमा झरी दुर्घटना भएको’ उल्लेख गरिएको छ ।

त्यसैगरी प्राधिकरणबाट आठजना प्यारा पाइलटहरु नियम विपरीतको गतिविधिमा संलग्न भएको भन्ने पत्र संस्थामा आएको पराजुलीले जानकारी दिए । उनले भने, “प्राधिकरणले सुरक्षा विपरीत गतिविधिमा संलग्न भएका आठ प्यारा पाइलटको नामसमेत पठाएको छ, उनीहरु प्राधिकरणमा उपस्थित भएर आफ्नो जवाफसमेत दिइसकेका छन् ।”

पराजुलीले प्राधिकरणको छानबिन प्रतिवेदन आएपछि मात्र अन्य थप कुरा थाहा हुने बताए । नागरिक उडड्यन प्राधिकरणअन्तर्गत छानबिन समितिका सदस्यसचिव सुवेदीले उडानको समयमा नियम विपरीतका गतिविधिमा संलग्न केही पाइलट छानबिनमा तानिएको जानकारी दिए ।

प्राधिकरणअन्तर्गत दुर्घटनाको छानबिनसँगै नियम विपरीतका गतिविधि भइरहेको सन्दर्भमा पनि छानबिन भइरहेको छ । सुवेदीले छानबिनमा भएका पाइलटले तत्काल उडान गर्न नमिल्ने जनाउँदै कस्तो खालको कार्वाही हुन्छ भन्ने प्रतिवेदन सार्वजनिक पछि मात्र थाहा हुने बताए । उनका अनुसार प्राधिकरणले आगामी पुसको १० गते प्रतिवेदन सार्वजनिक गर्नेछ ।

हवाई खेलकूद संस्था (ना) २०५९ मा स्थापना भएको र २०७५ साल चैतबाट नागरिक उड्डयन प्राधिकरणले नालाई अनुगमन, लाइसेन्स वितरण र नवीकरण गर्ने अधिकार प्रदान गरेको हो । पोखरामा प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा १२ महिला छन् । पोखरामा ६१ प्याराग्लाइडिङ कम्पनी छन् भने रु एक अर्ब बढीको लगानी रहेको छ ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ मंसिर २७, १५: ५५

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ मंसिर २७, १५: ५५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ मंसिर २७, १५: ५५

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...