सुन्तलाका बोट सुक्दै गएपछि तनहुँका कृषक चिन्तित – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

सुन्तलाका बोट सुक्दै गएपछि तनहुँका कृषक चिन्तित

नयाँ विकल्प

काठमाडाैं- तनहुँ सुन्तला खेतीको लागि राम्रो सम्भावना बोकेको जिल्लामध्ये एक हो तर पछिल्लो समय यहाँका अधिकांश क्षेत्रका सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादक कृषक चिन्तित हुँदै गएका छन् ।

जिल्लाको आधा दर्जनभन्दा बढी पालिकामा लगाइएको सुन्तला खेतीको उत्पादनमा क्रमिकरूपमा ह्रास आउन थालेपछि यहाँका कृषक यतिबेला वैकल्पिक बालीको खोजीमा छन् । सुन्तला खेतीका लागि पर्याप्त मात्रामा पानीको स्रोत नहुनु, भएका पानीको स्रोत पनि सुक्दै जानु, विभिन्न किसिमका रोगले आक्रमण गर्नु, आवश्यकरूपमा खाद्यतत्व नपुग्नु र उचित किसिमले बगैँचा व्यवस्थापन नहुनुजस्ता कारणले सुन्तलाका बोट मर्दै गएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

सुन्तला बगैँचा व्यवस्थापन राम्रो हुन नसक्दा क्रमिकरूपमा सुन्तला उत्पादनमा ह्रास आएर अन्ततः बोट नै मर्दै गएको उनले बताए । सुन्तला बगैँचाका बोट मर्दै जान थालेपछि वैकल्पिक बालीको खोजीमा छन् । उनले भने “वैकल्पिक बालीका रूपमा किबी, कागती लगाउने कि फेरि सुन्तला नै लगाउने भन्ने कुरामा कृषक अन्योलमा परेका छन् ।”

जिल्ला कृषि ज्ञान केन्द्रले नयाँ सम्भावित क्षेत्रमा सुन्तला खेती विस्तार कार्य पनि गर्दै आएको जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिकाको उमाचोक र घिरिङ गाउँपालिकाको उवाचोक च्यासुलमा गत वर्ष १० हजार बिरुवा लगाइएको जिल्ला कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए ।

“पुराना सुन्तला बगँैचा व्यवस्थापनको कमीले सुन्तलाका बोट मर्दै गएका छन्”, उनले भने , “जुन क्षेत्रमा सुन्तला मर्दै गएका छन्, त्यस क्षेत्रका कृषक बढी चिन्तित छन् ।” जिल्लाको शुक्लागण्डकी–११ राइपुर, व्यास नगरपालिका–११ र १३ को तनहुँसुर र बेनीकोट, देवघाट गाउँपालिकाको वडा नं २, ३ र ४ छिपछिपे बैदी, कोटबैदी, भिमाद नगरपालिका–९ को भानुमतिलगायतका क्षेत्र सुन्तला खेतीको लागि पकेट क्षेत्र हुन् ।

जिल्लामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएकाले यस वर्ष करिब आठ हजार मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान कार्यालयको रहेको छ । गत वर्ष तनहुँमा रु २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो तर अहिले सुन्तलाको दानासमेत साना रहेकाले उत्पादन वृद्धि हुने सङ्केत कम देखिएको छ ।

गत वर्षको तुलनामा यस वर्ष अत्यधिक वर्षा भएकाले सुन्तला पाक्न ढिलाइ भएको छ । “यतिबेला सुन्तला बिक्री भइसक्ने बेला हो”, उनले भने , “सुन्तला पाक्न ढिलाइ भएकाले झर्ने समस्या पनि आएको छ ।” तनहुँका सुन्तला बगैँचाको सम्बन्धित निकायले समयमै अनुगमन, समस्या र त्यसको निराकरणतर्फ नलाग्ने हो भने ठूलो क्षेत्रमा सुन्तला उत्पादनमा ह्रास आउने सङ्केत देखापरेको छ ।

कृषि अनुसन्धान परिषद्, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र र स्थानीय सरकरका कृषि शाखालगायतका सम्बन्धित निकायले हरेक सुन्तला बगैँचा गएर कृषकलाई जनजागरण गर्ने, नयाँ प्रविधि तथा तालिम प्रदान गर्नुपर्नेलगायतका आवश्यकता देखिएको छ ।

सुन्तला खेतीमा देखिएको समस्याको पहिचान गरी निराकरणका लागि प्राविधिक तथा आर्थिक सहयोगको आवश्यकता पर्ने देखिएकाले बेलैमा सम्बन्धित निकायको यसतर्फ ध्यान पुग्न जरुरी छ । रासस

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ मंसिर २८, १२: ४६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ मंसिर २८, १२: ४६

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ मंसिर २८, १२: ४६

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...