तराईमा मङ्सिरमै चिसो, जनजीवन कष्टकर बन्दैं – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

तराईमा मङ्सिरमै चिसो, जनजीवन कष्टकर बन्दैं

नयाँ विकल्प

महाेत्तरी -महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो ।

गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन अत्यन्त कष्टकर बनेको छ । गत आइतबारयता बिहान हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । त्यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि मङ्सिर निगल्दो नै जाडो निकै बढेको हो ।

महोत्तरीको पूर्वपश्चिम राजमार्ग वरपर तुसारोसँगै सिरेटो चलेको छ भने मध्य र दक्षिणी क्षेत्रमा भने बाक्लो हुस्सुले ढाक्दै आएको छ । तुसारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारु चहलपहल स्वात्तै घटेको छ ।

एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर कृषिकार्य पनि प्रभावित भएका छन् । लगातारको चिसो सिरेटोले घरपालुवा पशुवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानको गुनासो छ । “खै उमेरले ६० वर्ष टेक्न लागियो, मङ्सिरमै यसरी लगलगी कमाउने जाडो त त्यति भोगेको सम्झनै छैन”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका ५८ वर्षीय किसान सत्यनारायण यादवले भने ।,

“यसपालि कोरोना कहरले जाडो चाँडै बढाएको त हैन ?” बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको भङ्गाहा–४ कै पलारको दलित बस्तीका ७० वर्षीय चौठी बाँतर बताउँछन् ।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स–साना नानीहरूको स्याहारसम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन आग्रह गरेका छन् ।

आफ्नै घर वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विधानचन्द्र झाले बताए ।

यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने डा झाको भनाइ छ । चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुढा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् ।

मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने आकलनले गरिब बस्तीमा चिन्ता बढेको छ । गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आ–आफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन् । यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ मंसिर ३०, १२: २०

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ मंसिर ३०, १२: २०

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ मंसिर ३०, १२: २०

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...