आजदेखि खुले घोडेपानी र पुनहिलका होटल – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

आजदेखि खुले घोडेपानी र पुनहिलका होटल

नयाँ विकल्प

वेनी- विगत नौ महिनादेखि बन्द रहेका म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ ।

कोभिड–१९ का कारण बन्द भएका राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल नौ महिनापछि आजदेखि खुला भएका छन् । त्यसैगरी म्याग्दीका गलेश्वरधाम, महारानी थान र अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर बन्द रहेका होटल, रेष्टुरेन्ट र धार्मिकस्थल खुला गर्न लागिएको हो । घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले घोडेपानीमा आन्तरिक पर्यटक आउन थालेका छन् भन्दै लामो समयसम्म होटल बन्द रहँदा व्यवसायमा पनि असर गरेकाले सुरक्षा सतर्कता अपनाएर आजदेखि यहाँका सम्पूर्ण होटल खुला गरिएको जानकारी दिए ।

“जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर होटल सञ्चालन गर्न लागेका हौँ”, पुनले भने , “लामो समयसम्म होटल बन्द हुँदा व्यवसाय पनि चौपट भयो, अब हामी आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि स्वास्थ्य सावधानी अपनाउँदै तम्तयार भएर बसेका छौँ, आजदेखि यहाँका सबै होटल खुला भएका छन् ।”

त्यसैगरी पश्चिम म्याग्दीको पशुपतिनाथका नामले परिचित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम पनि भक्तजनका लागि खुला गरिएको छ । सोमबार विशेष भीड लाग्ने गलेश्वर शिवालयमा उच्च सुरक्षा सतर्कताका साथ भक्तजनलाई दर्शन र पूजाआजाको व्यवस्था मिलाइको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए ।

“आजदेखि भक्तजनका लागि मन्दिर खुला गर्ने भएका छौँ, मन्दिरमा प्रवेश गर्र्न र बाहिर निस्कनका लागि अलग–अलग द्वारको प्रयोग गरिनेछ, मन्दिरको ढोकाबाट प्रवेश गर्दा साबुनपानीले हात धुनुका साथै मास्क लगाउन अनिवार्य गरिएको छ”, बानियाँले भने ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सम्बन्धित मन्त्रालयको निर्णयानुसार तत्तत् क्षेत्रका स्थल खुला गर्न सकिने बताए । त्यसका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनकाे भनाइ थियो । लामो समयदेखि बन्द रहेका होटल तथा धार्मिकस्थल खुला हुन थालेपछि बजार क्षेत्रमा चहलपहल देखिन थालेको छ । रासस

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ पुष १, १३: २८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ पुष १, १३: २८

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ पुष १, १३: २८

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...