अपरिचित व्यक्ति देखे तुरून्त हामीलाइ खबर गर्नुः प्रहरी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अपरिचित व्यक्ति देखे तुरून्त हामीलाइ खबर गर्नुः प्रहरी

नयाँ विकल्प

धुन्चे – गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ ।

स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ इलाका क्षेत्रमा स्कूले बालिकाको हत्या भएपछि गम्भीर रहेको रसुवा प्रहरीले यस्ता घटना न्यूनीकरण गर्न सूचनाकोे सहयोगका लागि समुदायसमक्ष सहयोग मागेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाले स्कूले ससाना बालबालिकाको संरक्षण गर्न जनहितकारी १६ बुँदे सूचनासमेत जारी गर्दै प्रहरीले दिएको सुरक्षासम्बन्धी सुझाव कार्यान्वयन गरिदिन आग्रह गरेको छ । जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीका अनुसार कुनै पनि अपरिचित व्यक्ति गाउँमा प्रवेश गरेमा त्यस्तो व्यक्तिको पहिचान गरी नजिककोे सुरक्षाचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवाको फोन नं ०१० ५४०१९९ वा मोबाइल नं ९८५१२७५५५५ तुरुन्त खबर पठाउने कामलाई पहिलो प्राथमिकता दिन पनि जिल्लावासीलाई आग्रह गरिएको हो ।

अभिभावक नभएको मौका छोपी अपरिचित व्यक्तिले खानेकुरा दिई ललाइफकाई अपहरण गर्नसक्ने भएकाले त्यस्ता अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान दिशाबोध गराई सहारा बेगर बालबालिकालाई घरबाट बाहिर नछोड्नसमेत आग्रह गरेको छ ।

खेलमैदानमा खेल खेलाउँदा वा पठनपाठनको समयमा विद्यालय लाने र ल्याउने काम अभिभावकबाटै गर्न गराउन, नातेदारप्रति पनि सजग रहन, नकारात्मक कुरा गरेर त्रसित नगर्न, महँगो गहना नलगाइदिन, मोबाइल खेलाउने काम बन्द गराउन, आफ्नो र बाबुआमाको नाम थर घरको ठेगाना एवं अभिभावकका मोबाइल नम्बर जान्ने अभ्यास गराउनसमेत प्रहरीले अभिभावकसामु सुझाव दिएको छ ।

यसैगरी कोरोना महामारीका कारण सबै बालबालिकालाई मास्कको प्रयोग गर्ने गराउने, ‘तिमी एक्लै छैनौ हामी छौँ’ भन्ने भावको विकास गराई उनीहरूको मनमस्तिष्क निरन्तर प्रफुल्लित बनाइराख्ने, कुट्ने पिट्ने, गाली गर्ने काम बन्द गर्ने गराउने र समाजमा हुने सबै प्रकारका अपराधलाई निरुत्साहित गरी सुरक्षित समाज निर्माणमा सबै क्षेत्रबाट सहयोग मिल्नेमा आफू आशावादी भएको प्रहरी प्रमुख सुवेदीले बताए ।

गत मङ्सिर २१ गते अपरिचित व्यक्तिको अपहरणमा परी ग्राङ क्षेत्रमा हत्या गरिएकी छ वर्षीया बालिका सुमिना तामाङका अभिभावकको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त र प्रहरी प्रमुख सुवेदीले सुरक्षाको सुव्यवस्था मिलाउन प्रहरी प्रशासन सदैव दृढ रहेकाले धैर्य गर्न पीडित पक्षलाई सहानुभूति प्रकट गरेका थिए । यसरी प्रहरी प्रशासनका सरकारी अधिकारी पीडितको घरमा पुगेर दिएको सान्त्वना भने यस क्षेत्रको इतिहासमा पहिलो भएको ग्राङ बासिन्दाले बताएका छन् ।

बालिकाको हत्यापछि त्रसित भएका ग्राङ क्षेत्रका आम अभिभावकसामु स्थानीयस्तरमै प्रजिअ र प्रहरी प्रमुखको उपस्थितिबाट सुरक्षा व्यवस्थामा थप मजबुत पार्ने बचन पाएपछि त्रसित आफ्ना वडामा बसोबास गर्ने बासिन्दाको मन क्रमिकरूपमा उत्साहित बन्दै गएको कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफुर्पा तामाङले जानकारी दिए । रु १० हजार बराबरको सुनका मुद्रा कानमा भएकै कारण हत्याराको हातबाट बालिकाले ज्यान गुमाउनुपरेको थियो ।

अधिकांश समय शान्त रहने रसुवा जिल्लामा फाट्टफुट्ट हुने घटनाले मानिसको ज्यानै जान थालेपछि भावी दिनका लागि आफ्ना सुरक्षा एकाइमार्फत ग्रामीण बस्तीका टोलटोलमा थप सुरक्षा संयन्त्र अपनाइसकिएको प्रहरीले बताएको छ । अपराधीलाई हदैसम्म कारवाही हुनेमा पीडित परिवार आशावादी भएको बताउँदै वडाध्यक्ष तामाङले घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको सहयोग महत्वपूर्ण रहेको जानकारी दिए ।

घटना घटाएको आरोपमा पक्राउ परेकी नुवाकोट किस्पाङ गाउँपालिका–५ की १९ वर्षीया सपना तामाङले ती बालिकाकाको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेकी छिन् । गाउँ समाजमा घटेको घटना वा घटना घट्न सक्ने सम्भावना देखिएमा त्यस्तो सूचना उपलब्ध गराई सुरक्षा व्यवस्था मजबुत पार्ने कार्यमा सहयोग गरिदिन सबै रसुवाली नागरिकसमक्ष आग्रह गरिएकोसमेत जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ पुष २, १२: ५१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ पुष २, १२: ५१

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ पुष २, १२: ५१

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...