हेटौँडा औद्योगिक क्षेत्रबाट वार्षिक १२ अर्ब राजश्व संकलन – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

हेटौँडा औद्योगिक क्षेत्रबाट वार्षिक १२ अर्ब राजश्व संकलन

नयाँ विकल्प

हेटाैंडा- सरकारको स्वामित्वमा रहेको हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान/कार्यालयले वार्षिक करिब रु १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएका छन् ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै खाले उद्योग प्रतिष्ठान÷कार्यालयले विभिन्न शीर्षकका नाममा नेपाल सरकारलाई वार्षिक सो बराबरको राजश्व बुझाउँदै आएका हुन् । ती उद्योग, प्रतिष्ठान तथा कार्यालयले नेपाल सरकारलाई मूल्य अभिवृद्धि कर, भन्सार शुल्क, अन्तःशुल्क, आयकर, अग्रिम आयकर, अग्रिम करकट्टीलगायत नेपालमा प्रचलित विविध शीर्षकमा वार्षिक करिब रु १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएको कार्यालय प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए ।

उद्योग, प्रतिष्ठान र कार्यालय गरी हाल कूल १२८ वटा निकाय रहेको हेटैँडा औद्योगिक क्षेत्रभित्र हाल १०३ वटा उद्योग प्रतिष्ठान चालू अवस्थामा छन् । बन्दबन्दीका कारण आजसम्म सञ्चालनमा हुन नसकेका नौ उद्योग रहेका छन् । यसैगरी हेटौँडा कपडा उद्योगसहित तीन उद्योग प्रतिष्ठान वर्षोदेखि बन्द अवस्थामा छन् । औद्योगिक क्षेत्रभित्र अन्य सङ्घ संस्था र कार्यालय गरी १३ वटा रहेका छन् । थप २२ उद्योग प्रतिष्ठान निर्माणाधीन चरणमा रहेका छन् । कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र संरचना निर्माणका लागि साविकको अवस्थामा सरकारी क्षेत्र तर्फबाट रु ९० करोड र निजी क्षेत्रबाट ५५० करोड रकम लगानी भएको देखिन्छ ।

ती उद्योग प्रतिष्ठानमा हाल चार हजार ४०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन् । विसं २०२० मङ्सिर २० गते स्थापना भएको हटौँडा औद्योगिक क्षेत्रमा कूल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रफलमध्ये विकसित दुई हजार ८०१ दशमलब ४८ रोपनी ( भाडामा दिन मिल्ने क्षेत्रफल) र अविकसित तथा ग्रिनवेल्ट ४२६ दशमलब ५२ रोपनी जङ्गल क्षेत्र पर्दछ ।

कूल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६ दशमलब ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल ५९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा रहेका छन् ।

औद्योगिक क्षेत्रभित्र विद्युत् क्षमता १० एमभिए, पानी क्षमता एक हजार १५३ (प्रति दिन) र फोहर पानी प्रशोधन संयन्त्र क्षमता ११ लाख लिटर (प्रति दिन) रहेको छ । औद्योगिक क्षेत्रभित्र हाल २० वटा जग्गा भाडा सम्झौता भएका र निर्माणधीन अवस्थामा रहेकासहित उत्पादनमूलक उद्योग १३२ वटा , गैह्र उत्पादनमूलक ११ वटा र सेवामूलक सङ्घ÷संस्था पाँच रहेका छन् । औद्योगिक क्षेत्रको हातभित्र न्यूनतम दुई÷तीन रोपनीदेखि ७५ रोपनीसम्म उद्योग प्रतिष्ठानले जग्गा भाडामा लिई कारोवार सञ्चालन गर्दै आएका हुन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रहाताभित्र रहेका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ । औद्योगिक क्षेत्रभित्र साविकको पुरानो क्षेत्र र विस्तारी औद्योगिक क्षेत्रमा गैर उत्पादनमूलक उद्योगले फरक–फरक मूल्यमा जग्गा र भवन भाडामा लिँदै आएका छन् ।

४० जना कर्मचारी दरबन्दी रहेको यस हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा हाल ३९ जना कर्मचारी कार्यरत छन् । औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै उद्योग प्रतिष्ठानका लागि बाहिरी व्यवस्थापन कामसहित भाडा लिने काम हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गर्दै आइरहेको छ ।

कार्यालयका अनुसार हेटौँडा औद्योगिक क्षेत्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान जग्गा भाडाबाट वार्षिक करिब रु एक करोड नाफा गर्दै आएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७ ÷७८ मा आम्दानी तर्फ वार्षिक रु ३९ करोड ३१ लाख र खर्च तर्फ ३८ करोड ४७ लाख अनुमान गरिएको छ । कार्यालयका अनुसार आम्दानी करिब रु ३९ करोड ३१ लाख आम्दानीमध्ये जमिन बहालतर्फ रु दुई करोड ३५ लाख, भवन बहाल रु ६२ लाख ३० हजार, विद्युत् वितरण रु ३४ करोड ४ लाख, पानी वितरण रु एक करोड ५० लाख र विविधतर्फ ८० लाख खर्च हुने अनुमान छ ।

यसैगरी खर्च कूल रु ३८ करोड ४७ लाखमध्ये बिजुलीतर्फ रु २९ करोड ६० लाख, मर्मतसम्भारतर्फ ६२ लाख ६६ हजार, कार्यालय सञ्चालन तलब÷भत्तातर्फ रु चार करोड ९३ लाख ७६ हजार र पूँजीगत विकास निमार्ण खर्चतर्फ रु तीन करोड २७ लाख खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

औद्योगिक क्षेत्रभित्र निर्माण सामग्री उद्योग ६, प्लाष्टिक सामग्री तर्फको उद्योग २८, विद्युत् तथा विद्युतीय सामान ३, खाद्यन्न तथा पेयपदार्थ १५, फर्निचार सामान÷काठ चिरान १०, इन्जिनीयरिङ १४, प्याकेजिङ सामान ४, केमिकल सामग्री रङरोगन १०, पाल्ट्री तथा दाना उद्योग २ , टेक्साटाइल्स उद्योग १, खानीजन्य उद्योग १०, अन्य उद्योग चुरोट, ईन्धन, डिपो, बोन प्रोसेसिङ, टायर रिसोलिङ, रेग्जिङ गरी १० हाल ११२ उद्योग प्रतिष्ठान रहेका छन् ।

अन्य कार्यालय तथा सङ्घ संस्था १३, जग्गा सम्झौता र निर्माणाधीन उद्योग २० रहेका छन् । वर्षोैदेखि हेटौँडा कपडा उद्योगसहित अन्य २ वटा उद्योग बन्द छन् । अमेरिका सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते हेटौँडा औद्योगिक क्षेत्रको स्थापना गरिएको थियो ।

सम्बन्धित समाचार

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ पुष २, १४: ३७

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ पुष २, १४: ३७

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ पुष २, १४: ३७

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...