भोजपुरमा तीतेपातीको व्यावसायिक खेती शुरु – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

भोजपुरमा तीतेपातीको व्यावसायिक खेती शुरु

नयाँ विकल्प

भाेजपुर -भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको शुरुआत गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो ।

अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेती शुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको शुरुआत गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर करिब दुई रोपनी क्षेत्रफलमा करिब आठ हजार तीतेपातीको खेती शुरु गरेका हुन् । अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र राज्यको तर्फबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको कृषक झिलबहादुर राईले जानकारी दिए ।

तीतेपातीलाई प्रत्येक १५ देखि २० दिनमा सङ्कलन गर्न सकिने कृषक राईले बताए । कच्चा पदार्थको रूपमा यसको सुकेको पात तथा डाँठ प्रतिकेजी रु ५० मा बिक्री हुने उनको भनाइ छ । कृषक राईले भने, “हामीले गत भदौ महिनाबाट व्यावसायिक खेती शुरु गरेका छौँ, हामीले आठ हजार बिरुवा लगाएका छौँ, कच्चा पदार्थ प्रतिकेजी रु ५० देखि ६० सम्ममा बिक्री हुन्छ ।” डिभिजन वन कार्यालय भोजपुरले जिल्लामा यसको विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

बाँदरलगायत अन्य वन्यजन्तुको कारण स्थानीय बसाइँ सर्दा धेरै जमिन बाँझिदै गएकाले तीतेपाती खेतीलाई विस्तार गर्न सके स्थानीयवासीको आर्थिक विकासमा टेवा पुग्ने कार्यालयको भनाइ छ । यसको सम्भावनाको विषयमा थप अध्ययन, अनुसन्धान गर्ने र राम्रो हुने देखिएमा पकेट क्षेत्र बनाएर वैकल्पिक खेतीको रूपमा जिल्लाका अन्य स्थानमा समेत विस्तार गर्ने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

प्रमुख घिमिरेले भने , “दुई युवाले तीतेपातीको व्यावसायिक खेती थाल्नुभएको रहेछ, आज हामीले यसको अनुगमन गरेका छौँ, अब यसको उत्पादन तथा बजारीकरण हेरेपश्चात अन्य ठाउँमा पनि पकेट क्षेत्र बनाएर विस्तार गर्ने हाम्रो योजना छ, जसले बाँझो जमिनलाई आयमूलक बनाउन सहयोग पुग्ने छ ।”

बाँदरलगायत अन्य समस्याका कारण धेरै जमिन खेर गएको अवस्थामा तीतेपाती वैकल्पिक खेती हुनसक्नेमा स्थानीयवासी आशावादी देखिएका छन् । जिल्लामा पहिलोपटक खेती शुरु भएकाले आफू पनि यसको खेतीमा लाग्ने तयारीमा रहेको स्थानीय इन्द्रबहादुर कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, “तितेपातीको खेती भइरहेको ठाउँमा गएर मैले पनि अनुगमन गरेँ, यसको लगाउने तरिका तथा अन्य प्राविधिक ज्ञानको विषयमा पनि जानकारी लिएँ, वन कार्यालयले पनि चासो लिएकाले मैले पनि खेती विस्तार गर्ने तयारी गरेको छु,।

वास्तवमा यसले बाँझो जमिनलाई प्रयोगमा ल्याउने देखियो, एकदम उपयोगी पनि लाग्यो ।” धेरै मानिसहरु अन्यत्र जाँदा खेतीयोग्य जमिन बाँझिदै गएकाले यसको विस्तारमा सहयोग गर्ने वडा कार्यालयले जनाएको छ । तीतेपाती खेतीलाई राम्रो ढङ्गले आयआर्जनमा जोड्न सके बाँझो जमिनसमेत प्रयोगमा आउने कार्यालयको भनाइ छ । नमूनाको रूपमा खेती शुरु भएकाले यसको उत्पादन तथा बजारलाई हेरेर अन्य कृषकलाई समेत प्रोत्साहन गर्ने वडाध्यक्ष प्रेमकुमार राईले बताए ।

उनले भने , “विज्ञहरुको कुरा सुन्दा तीतेपाती खेतीको राम्रो सम्भावना देखियो, धेरै लगानी पनि नचाहिने, खेर गइरहेका जमिनलाई प्रयोगमा ल्याउन सकिने भएकाले आगामी दिनमा यसको विस्तारमा कार्यालयको तर्फबाट पनि योजनावद्धरूपमा काम गछौँ ।” तीतेपातीलाई बाँदरले समेत क्षति नगर्ने तथा आम्दानी लिन सकिने भएपछि वैकल्पिक खेतीको रुपमा विस्तार गर्न सके यसले स्थानीयवासीसँगै राज्यलाई समेत टेवा पुग्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ पुष ३, १२: १४

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ पुष ३, १२: १४

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ पुष ३, १२: १४

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...