जस्केलाबाट राज्य सत्ता कब्जा गर्ने षडयन्त्र रोक्न संसद विघटन– ओली – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

जस्केलाबाट राज्य सत्ता कब्जा गर्ने षडयन्त्र रोक्न संसद विघटन– ओली


नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलेले झस्केलाबाट सरकारमा छिर्ने अलोकतान्त्रिक प्रबृत्तिलाई रोक्नकै लागि आफूले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने बाटो रोज्नु परेको बताएका छन् ।

सोमबार राष्ट्रको नाममा संवोधन गर्दै ओलीले आफू जस्केलाबाट सत्तामा जान खोज्नेहरुलाई रोक्न मध्यावधी निर्वाचनको बाटो रोजेको बताए । उनले भने ‘राज्य संचालनको अन्तिम निर्णयकर्ता जनता हो । त्यसैले जनताको ताजा जनादेश मैले रोजेँ ।’

उनले सँधै भरी सत्ता, पद र भागबण्डा मागेर सरकारलाई घेराबन्दी गर्ने, आफ्नै साथिहरु प्रतिपक्षी दलको नेताभन्दा बढी असहिष्णु देखिने र नेतृत्व हस्तान्तरणको प्रयास हुँदै गर्दा बाधा अड्चन गर्ने काम हुँदा आफू बाध्य भएर यस्तो बाटो रोजेको दाबी गरे ।

ओलीले मुलुकलाई अकर्मण्य बनाउनबाट बचाउन र प्रतिनिधिसभालाई केही नेताको खेलौना बनाउनबाट बचाउन निर्वाचनमा सहभागी हुन देशवासीलाई आव्हान समेत गरे ।

‘प्रधानमन्त्री बन्न व्यग्र प्रतिक्षा गरेका साथिहरुको लोकप्रियताको परिक्षण गर्ने र प्रतिपक्षी दलको पनि सत्तामा जाने अवसर निर्वाचनले दिन्छ । जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने मैले पुनरावेदन गर्न ठाउँ जनता नै हो । त्यसैले मैले सार्वभौम जनताको ताजा जनादेशको बाटो रोजेको हुँ ।’

बन्दकोठामा अनुचित लाभ र स्वार्थका लागि पार्टीको लागो र लेटरप्याड दुरुपयोग गरि मेरा विरुद्ध आरोप पत्रको विवरण देशव्यापी बाँडेर षडयन्त्र गरिएको भन्दै ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठकमा गत कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रस्तावप्रति असन्तुष्टि जनाए ।

‘केही नेताको जनअपेक्षा विपरितको कार्य भयो । विसंगती भयो । जनादेश विपरित दबाब दिने काम भयो । सरकार बाधा पन्छाउँदै अघि बढ्यो । तर, अस्थिरतका प्रयास जारी गरियो । कुनै नेताले प्रधानमन्त्री देशमा नभएको बेला देश डुब्न लाग्यो भन्नु भयो’, ओलीले बरिष्ठ नेता माधवकुमार नेपालतर्फ संकेत गर्दै भने ।

उनले पद प्रतिष्ठा र प्रतिष्ठा स्वपानमा केन्द्रीत रहने केही नेताका कारण नीति निर्माण र जनपरिचालन गर्नुको सट्टा आफ्ना स्वास्र्थसिद्ध गर्न लागेर सरकारबिरुद्ध अनर्गल प्रचार र हल्ला फैल्याएको गुनासो गरे ।

दुई अध्यक्षबीच एक अध्यक्षले सरकार र अर्कोले पार्टीको जिम्मेवारी वाँडफाँट भए पनि एकीकरणको काम कति भयो ? महाधिवेशनको तयारी कति गरियो ? भन्दै ओलीले जिज्ञासा राखेका छन् ।

उनले भने ‘तर पार्टीलाई चल्न दिइएन् । मन्त्रिपरिषद् पुनर्गठन गर्न दिइएन । महत्वपूर्ण संवैधानिक अंगहरुलाई गठन गर्न खोजियो तर, गठन गर्न दिइएन् । सरकारले युगन्तकारी काम गरेको छ । तर, कतिपय नेता विपक्षीलाई पनि उछिनेर विरोधमा उत्रनु भयो । सरकारको अनन्त विरोध र नकारात्मक मनोविज्ञान प्रस्तुत गर्न उद्धत हुनुभयो ।’

‘प्रधानमन्त्रीको चयन ताजा जनादेशबाट होस र पार्टीको नेतृत्व महाधिवेशनबाट होस भन्ने म चाहन्थें । मैले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने घोषणा पनि गरेँ । नियमित महाधिवेशन गर्न नसकिने हो भने विशेष महाधिवेशन गरौं पनि भनें । तर साथिहरुले ४ महिना पनि कुर्न सक्नु भएन’ ओलीले आफ्नो संवोधनमा भनेका छन् ।

पार्टीको संसदीय दलको नेतालाई थाहै नदिए संसद अधिवेशनको आव्हान गर्न हस्ताक्षर गरिएको दाबी गर्दै ओलीले पुस ४ गते मात्र अर्का अध्यक्ष दाहालको निवास गएर त्यो विभाजनकारी आरोप पत्र फिर्ता लिन र विशेष महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न समेत तयार रहेको अवगत गराएको ओलीले जनाएका छन्।

आफूलाई केही भएको छैन भन्दै अविश्वासको प्रस्ताव अघि बढाइएको भन्दै ओलीले सर्वसम्मतले संविधान संशोधन गरी नेपालको नयाँ नक्सा सार्वजनिक भएको र भारतसँग वार्ता भएको विगषयलाई अ‍ोलीले उपलब्धी भनेर दाबी गरेका छन् ।

‘सरकार विरुद्ध यस्तो घेराबन्दी गर्नु पर्ने कारण के छ र? मुलुकको भूमि समेटेर नक्सा सार्वजनिक भएको छ । नाकाबन्दीलाई साहसका साथ सामना गरेबापत र अश्वीकार गर्दा ४ वर्ष अघि मेरो सरकारलाई यसरी नै षडयन्त्रपूर्ण तरिकाले अपधस्त गरियो’ ओलीले भने, ‘परिस्थिति र समय फरक भए पनि प्रबृत्ति र पात्र उनै हुन भनी आरोप लगाए ।

प्रधानमन्त्री ओलीले मुलुक जनप्रतिनिधिविहिन नरहेको भन्दै राष्ट्रिय सभा, प्रदेश सरकार सबै रहेको, साढे ४ महिनापछि नयाँ नेतृत्व चुनावले दिने तथा अहिलेको पुस्ता नै लोकतन्त्रको सबैभन्दा ठूलो पहरेदार भएको दाबी गरे ।

‘चुनावमा जाँदा लोकतन्त्र र गणतन्त्र कमजोर हुन्छ भन्ने आशंका र भ्रमहरु निराधार हुन् । शान्ति सुरक्षा चुस्त, सुशासन र स्थायीत्वतर्फ मुलुक अघि बढ्दा सरकारलाई धन्यवाद दिनु पने होइन र ?’ ओलीले आफ्नो संवोधनमा प्रश्न गरेका छन् ।

सम्बन्धित समाचार

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७७ पुष ६, १६: १४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष ६, १६: १४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ पुष ६, १६: १४

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...