नेवार समुदाय यःमरी पुन्ही मनाउँदै – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

नयाँ विकल्प

काठमाडौँ- उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो । ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन् ।

नेवार समुदायमा यःमरीको विशेष महत्व छ । विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो । यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिन (जस्तो दुई वर्ष, चार वर्षको जन्मदिन) को अवसरमा नभई नहुने पकवान भएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताए । “नेवार समुदायमा नयाँ घर निर्माण गरी धुरी पूजा गर्दा, दुई वर्ष, चार वर्ष, छ वर्ष र १२ वर्षको जोडा जन्मदिन मनाउँदा जोडा यःमरी चढाउने, भीमारथारोहण, तान्त्रिक पूजा विधि र चह्रे पूजा, सांस्कृतिक गुठी भोजमा यःमरी राखेर भोज खाने प्रचलन छ ” उनले भने ।

यःमरीलाई कुबेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिइन्छ । पूर्णिमाका दिन यःमरीलाई धानलगायत अन्नका भकारीमा चढाएर खाँदा घरमा अन्नको अभाव नहुने जनविश्वास छ । त्यसैले यस दिन नेवार समुदायले यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु, ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको आकृति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाएर मात्र आफूले खाने चलन रहेको धौभडेलले बताए ।

उनले भने, “यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाउँदा अन्न वृद्धि हुने र त्यसको प्रभावले घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रहिआएको छ ।” यसरी चढाएको यःमरी चार दिनपछि विवाहिता जेठी छोरी बोलाएर उसको हातबाट प्रसाद खाइसकेपछि यःमरी पुन्ही सकिन्छ ।

यःमरी पुन्हीको दिन नेवार समुदायले आफ्ना गाउँ, टोलछिमेकमा यःमरी भाका गाउँदै यःमरी माग्ने चलन छ । तिहारमा देउसीभैलो खेलेजस्तै यस दिन नेवार समुदाय टोलछिमेकमा यमरी भाका गाउँदै यःमरीसँगै सामाजिक कार्यका लागि आर्थिक सङ्कलन गर्ने प्रचलन रहेको छ ।

त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु यःमरी छग ति यः
व्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग व्यूसा काय् वुई छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूम्ह ल्यासेचा, मव्यूम्ह बुरीचा
कुरी कुरी…

दुई माना देऊ, चार माना देऊ, यस वर्षको यःमरी एउटा देऊ, दिएमा तरुनी नदिएमा सितीकुती, दुईवटा दिए छोरा, एउटा दिए छोरी जन्मिन्छ, जसरी दिएनी चुली पारेर देऊ, यःमरी मिठो त्यसभित्र चाकु, दिए तरुनी, नदिए बूढी, कुरी कुरी…।

यःमरी पूर्णिमाको साँझ नेवार समुदायको घरआँगनमा गुन्जिने यो मिठासपूर्ण लोकभाका भने अचेल भक्तपुरमा गुन्जिन छाडेको छ । मौलिक लोकसंस्कृतिलाई आधुनिकताले छोपेसँगै यःमरी माग्ने चलन विस्तारै लोप हुन थालेपछि उल्लेखित लोकभाका नेवार समुदायमा गुन्जिन छाडेको हो ।

यःमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपूर्ण सांस्कृतिक पाटो भएको संस्कृतिविद्को भनाइ छ । संस्कृतिविद् धौभडेलका अनुसार लिच्छवीकालीन समयदेखि नै यःमरी माग्ने प्रचलन चल्दै आएको हो । उहाँले अंशुबर्माको पालादेखि नै यो चलन चलेको वंशावलीमा उल्लेख भएको पाइएको जानकारी दिनुभयो । आधुनिकतासँगै स्थानीय कला, संस्कृति लोप हुने क्रममा यःमरी माग्ने प्रचलन पनि लोपोन्मुख अवस्थामा पुगेको उनको भनाइ छ ।

यस संस्कृतिलाई संरक्षण गर्न मातृभाषाको शिक्षा र संस्कृति नयाँ पुस्तालाई दिनुपर्ने खाँचो रहेको धौभडेलले बताए । उनले यःमरी माग्ने संस्कृतिले नेवारी साहित्यको विकास र विस्तारमा समेत टेवा दिएको बताए । यो प्रचलनले नेवार समुदायमा विभिन्न खाले गीत, सङ्गीत, साहित्यिक लेखनसमेत विकास भएको पाइन्छ ।

यःमरी खाद्य वस्तु मात्र नभई साहित्यसँग समेत जोडिएकाले यःमरी माग्ने प्रचलनले पुष्टि गर्ने संस्कृतिकर्मी धौभडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यछीं त्यः बकछीं त्यः, लातापाता कुलिचा जुछे त्यः, यमरी छगः तिय् भनी गीत गाउँदैं यःमरी माग्ने जुन नेवार समुदायमा छ, यसले नेवार समुदायको साहित्यिक धरातललाई समेत पुष्टि गर्दछ ।”

संस्कृतिकर्मी धौभडेलले यःमरी खाने प्रचलनलाई अन्य समुदायमा समेत विस्तार गर्नसके यसले धार्मिक र सांस्कृतिक पर्यटनको समेत विकासमा टेवा पुग्ने बताए । उनले भने, “यःमरी खाने प्रचलनलाई अरुले पनि अपनाउँदै जान सक्यो भने नेपालको धार्मिक सांस्कृतिक पर्यटनको विकासमा टेवा पुग्न सक्छ ।”

यःमरी पूर्णिमाका बारेमा ऐतिहासिक कथनअनुसार तत्कालीन पाञ्चाल देशमा भगवान् विष्णुका परमभक्त, दानी र धर्मात्मा सुचन्द्र दम्पती बस्दथे । उनीहरुको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुबेर गरिब ब्राम्ह्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राम्ह्णरूपी कुबेरलाई श्रद्धापूर्वक आफूले तयार पारेको यःमरी खुवाइन् । उनको सत्कारदेखि प्रसन्न भई कुबेरले आफ्नो असली रूप देखाई यःमरीको गुण र धानको भकारीमा श्रीगणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । सोही अनुरूप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रूपमा बाँडेर खाएकाले उनीहरुको धन सम्पत्ति अझ वृद्धि भएको खबर जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा यःमरी पूर्णिमाको संस्कृति विकास भएको जनश्रुति रहेको पाइन्छ । रासस

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७७ पुष १५, ११: ४०

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७७ पुष १५, ११: ४०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष १५, ११: ४०

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...