नमूना घलेगाउँमा पर्यटकको चहलपहल बढ्न थाल्याे – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

नमूना घलेगाउँमा पर्यटकको चहलपहल बढ्न थाल्याे

नयाँ विकल्प

लमजुङ- गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमूना घलेगाउँमा यतिबेला पर्यटक आउन थालेका छन् ।

क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिना सकिनै लाग्दा आन्तरिक पर्यटकको चहपल हुन थालेको छ । कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता भने पर्यटकको आगमन हुन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

कोभिडका कारण यहाँका समितिलेसमेत घरबास बन्द गरे पनि गत भदौ १ गतेदेखि घलेगाउँ घरबास पर्यटकका लागि खुला गरेको थियो । घरबास खुला गरिएको केही हप्तापछि कहिलेकाहीँ नौ÷१० जना मुस्किलले आउने गरे पनि यतिबेला भने दैनिक सय देखि १५० जनासम्म आन्तरिक पर्यटक आउन थालेको समितिका सचिव उमलबहादुर विकले बताए । उनले भने , “कोभिडका त्रासले नआएका पर्यटक यतिबेला आउन थालेपछि घरबासमा चहलपहल हुनुका साथै आम्दानीसमेत हुँदा घरबास सञ्चालक हर्षित हुन थालेका छन् ।

प्रकृतिले सिंगारिदिएको घलेगाउँ आफैँमा सुन्दर छ भने घरबास सञ्चालकको मुख्य आम्दानीकै स्रोत पर्यटन हो । यहाँ ३७ घरमा घरबास सञ्चालनमा छ ।” विगतमा यस समयमा दैनिक २००÷३०० सम्म पर्यटक आउने गर्थे । वर्षेनी २५ हजार हाराहारी पर्यटक आउने तथ्याङ्क छ । पर्यटक नआउँदा आम्दानीसमेत रोकिएपछि निराश तथा चिन्तित बनेको झण्डै १० महिनामा पर्यटकको चहलपहल हुन थालेपछि घरबास सञ्चालकको मुहारमा एकाएक चमक आउन थालेको छ ।

समितिका अनुसार अब भने विस्तारै पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै विगतको मौसमको लयमा फर्किने पर्यटन व्यवसायीको अपेक्षा छ । पर्यटकको चहलपहल हुँदा यहाँका प्रतिघरबास सञ्चालकले कम्तीमा पनि ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म मासिक आम्दानी गर्ने गरेको घरबास सञ्चालक दीर्घराज घलेको भनाइ छ । उनले भने , “हामीले प्रतिपर्यटक एक हजार १०० मा खाना बस्न र सुत्न दिने गरेका छौँ ।” विगतमा जसरी यतिबेला कोभिडका कारणले गर्दा स्वागत कार्यक्रम र गुरुङ समुदायको संस्कृतिका कुनै पनि साँस्कृतिक कार्यक्रम भने नगरिएको उनले बताए ।

यसअघि घरबासमा आएका पर्यटकलाई सत्कार सँगसँगै आफ्ना कलासंस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख साँस्कृति नृत्यसमेत प्रस्तुत हुने गरेको थियो । विसं २०५६ बाट शुरु भएको ग्रामीण पर्यटन प्रवद्र्धनका प्रयासबाट घलेगाउँलाई विसं २०७५ पुस १० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्मार्ट भिलेजको शुभारम्भ गरेका थिए ।

यहाँका पर्यटन पूर्वाधार विकासका लागि गत वर्ष गण्डकी प्रदेश सरकारको रु २९ लाख ४६ हजार तथा क्होलासोथर गाउँपालिकाको १५ लाख रुपैयाँ आर्थिक सहयोगमा यहाँका १२५ घरधुरीमै रातो रंगको टिन लगाएको समितिले जनाएको छ । मुलुकमा विसं २०६२÷२०६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रुपमा घोषणा गरेको थियो ।

घलेगाउँ समुन्द्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण नेपाल आदिवासी जनजातिमध्ये गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँसमेत हो । यहाँ घलेराजामध्ये अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । यहाँ आउँने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका र भेडाको मासुलगायतका परिकार खुवाउने गर्दछन् ।

घलेगाउँबाट ६ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल, ७ हजार ९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार ९६३ मिटर उचाइको माछापुच्छ«े हिमाल, ८ हजार १६३ मिटर उचाइको मनास्लु हिमाल, ७ हजार ८९३ मिटर उचाइको हिमालचुली, ७ हजार ८३५ मिटर उचाइको ङादीचुली (डा हर्क हिमाल) र ६ हजा ६७२ मिटर उचाइको बुद्ध हिमाल देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, क्वोइवो धीं, घले राजाको शालिक, सात कुवा, चिया बगान, भीर मौरी र बनझाक्री छहरालगायतका स्थानसमेत घलेगाउँमा देख्न सकिन्छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष २०, १२: ४५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७७ पुष २०, १२: ४५

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७७ पुष २०, १२: ४५

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...