कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा, हालसम्म ४ अर्ब ३१ करोड खर्च – Naya Bikalpa
November 7, 2026, Saturday      Epaper

कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा, हालसम्म ४ अर्ब ३१ करोड खर्च


नयाँ विकल्प
रामपुर : राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालुढुंगादेखि पाल्पाको पिपलडाँडा खण्डसम्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिडोरअन्तर्गत बागलुङको मालढुंगादेखि गैँडाकोटसम्मको सडकखण्डमध्ये पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाअन्तर्गत यम्घाको मन्द्रानमा ५०० मिटर सडकको ट्रयाक खुल्ने बाहेक सबै काम अन्तिम चरणमा पुगेको हो ।

यस खण्डमा कडा चट्टाने पहाड भएकाले सामान्य मेसिन र प्रविधिले चट्टान फुटाउन नसक्दा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले त्यसको आवश्यक प्रक्रिया अगाडि बढेको कार्यालयले जनाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पाल्पामा ३० किलोमिटर सडक पर्दछ ।

राम्दीदेखि मालढुंगासम्मको ५०० किलोमिटर सडकको ट्रयाक खोल्ने कामअन्तर्गत पाल्पाको रानीमहल रिडी, दैलातुङ रानीमहल, राम्दी दैलातुङ सडकखण्डमा ठेक्का सम्झौता भए पनि चट्टाने पहाड भएकाले काम गर्न समस्या परेको हो । ट्रयाक खोल्न बाँकी रहेको ५०० मिटर क्षेत्रमा कडा खालको चट्टाने भाग रहेको क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी फुटाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय पाल्पासँग समन्वय गरेर काम गर्न कार्यालयलाई पत्राचार गरिएको आयोजनाका प्रमुख सुवोधकुमार देवकोटाले बताए ।

भारतीय कम्पनीको जिम्मेवारीमा रहेको पाल्पा जिल्लाको राम्दी, गैँडाकोट खण्ड १३१ किलोमिटरमध्ये १२ किलोमिटरमा कालोपत्र भइसकेको छ । हालसम्म यस सडक खण्डमा आठ अर्ब ४५ करोडमध्ये नेपाल सरकारबाट दुई अर्ब ९३ करोडको ठेक्का सम्झौता भएको र २ अर्ब ५२ करोड रकम खर्च भइसकेको आयोजनाले जनाएको छ ।

यस सडक खण्डमा गत कात्तिक मसान्तसम्ममा नेपाल भारत सरकारको गरी चार अर्ब ३१ करोड खर्च भइसकेको करिडोर कार्यालयका प्रमुख देवकोटाले बताए । नेपाल सरकारसँगको सम्झौता अनुरुप भारतको एक्जीम बैंक ऋण सहयोगमा भारतीय निर्माण कम्पनीले साढे ५ अर्बको लागतमा पाल्पाको राम्दीदेखि गैँडाकोटसम्मको १३० किलोमिटर सडकको ट्रयाक खोल्ने, ग्राभेल गर्ने, कालोपत्र गर्ने कार्य तीव्रगतिमा अगाडि बढेको छ ।

यसैगरी, नेपाली सेनाले निर्माणको जिम्मा पाएको रिडीदेखि बागलुङ खण्डमा कालोपत्र गर्ने कार्य बाँकी रहेको छ । बागलुङको मालढुंगासम्म २४५ किलोमिटर र स्याङ्जाको मिर्मी, पर्वतको अमर्दीसम्म ट्रयाक खुलिसकेको छ । मिर्मी रानीपानी खण्डमा कालोपत्रको कार्य बाँकी छ । राम्दीदेखि गैँडाकोट खण्ड भारतीय कम्पनीको जिम्मेवारीमा रहेको छ । यसअन्र्तगत १३१ किलोमिटर सडकमध्ये १२ किलोमिटरमा मात्र कालोपत्र भएको छ ।

यस आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि भारत र चीनसँग जोड्ने छोटो मार्गका रुपमा भएकाले राज्यले ठूलो धन राशि खर्चिएर राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको हो । कालीगण्डकी करिडोर सडकमार्गको काम धमाधम हुन थालेपछि गाउँमा विकासको लहर छाउन थालेको छ ।

उत्तर दक्षिण जोड्ने लोकमार्गका रुपमा लिइएको यस आयोजनासँग जोडिएका स्थानीयवासी धमाधम काम अगाडि बढेपछि गाउँमै बसेर विभिन्न पेशा व्यवसाय सञ्चालन गर्नेको संख्या बढेको छ भने स्थानीय नागरिक हर्षित भएका छन् । सो सडकखण्डको कार्य सम्पन्न भई यातायातका साधन सुचारु भएपछि विकासमा ठूलो परिवर्तन आउने रम्भा गाउँपालिका–१ हुंगीका स्थानीयवासी जगन्नाथ भण्डारीले बताए ।

“करिडोर निर्माण कार्य सुरु हुनुभन्दा अगाडि विकासका दृष्टिकोणले पछाडी परेको यस क्षेत्रका स्थानीयवासी बसाइँसराइको क्रम बढेको थियो, करिडोर निर्माणको कार्य अगाडि बढेपछि अन्यत्र घर बनाउने तयारीमा थिए, अहिले करिडोरको काम दु्रतगतिमा अगाडि बढेको देखेपछि गाउँमै नयाँ घर बनाएर यहीँ बस्ने योजना बनाए, करिडोरको काम सकिएपछि गाउँ नै शहर बन्नेछ” उनले भने ।

यतिखेर कालीगण्डकी करिडोरसँग जोडिएका गाउँ बस्तीमा ठूला ठूला कृषिफार्म, पशुफार्म सुरु गर्न थालिएको छ । स्थानीय उत्पादनलाई बजारीकरणको लागि यातायात सहज हुने भएकाले कालीगण्डकी करिडोरलाई लक्षित गरी व्यावसायिक कृषिमा जोड दिन थालेको स्थानीयवासी रामचन्द्र ढकालले बताए ।

“सडकमार्ग निर्माणको काम अगाडि बढेपछि यस क्षेत्रलाई जिल्लाकै गोलभेँडा जोनको रुपमा विकास गर्न टनेलभित्र गोलभेँडाखेती सुरु गरिएको छ, प्रारम्भिक चरणमा ४ टनेलमा सुरु गरियो भने सडकमार्ग सम्पन्न भएपछि ठूलो संख्यामा टनेल बनाउने योजना छ” । रासस

सम्बन्धित समाचार

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
  • २०७७ पुष २३, १५: ०८

काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
  • २०७७ पुष २३, १५: ०८

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...

कांग्रेसले बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा पुनर्स्थापना अभियान चलाउने
कांग्रेसले बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा पुनर्स्थापना अभियान चलाउने
  • २०७७ पुष २३, १५: ०८

काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको...