डिपबोरिङ जडान थालिएपछिमा किसानमा उत्साह – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

डिपबोरिङ जडान थालिएपछिमा किसानमा उत्साह

नयाँ विकल्प

महाेत्तरी- सिँचाइ सुविधा विस्तारका लागि महोत्तरीको बर्दिवासमा एकसाथ सात डिपबोरिङ जडानको काम थालिएको छ । बर्दिवास नगरपालिका–२, ६, ७, ८, ९, १२ र १३ नं वडामा डिपबोरिङ जडानको काम एकसाथ थालिएको हो ।

बोरिङ जडानको शुभारम्भ नगरप्रमुख बिदुरकुमार कार्कीले बर्दिवास–८ हाथीलेटबाट शनिबार गरे । डिपबोरिङ जडान थालिएपछि किसानमा नयाँ उत्साह छाएको छ । पानी वितरण प्रणाली सुव्यवस्थित गर्नसक्दा १० इञ्चको बोरिङ पाइपबाट १०० बिघा जग्गा सिञ्चित हुने विज्ञको भनाइ छ । नेपाल सरकारले तराई समृद्धि कार्यक्रमअन्तर्गत सञ्चालन गरेको यो सिँचाइ कार्यक्रमबाट नहर÷कुलोको पहुँच नभएको जग्गाका किसान लाभान्वित हुने कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा (धनुषा)का इञ्जिनीयर रामेश्वर साहले बताए ।

यो कार्यालयले प्रदेश–२ का महोत्तरी, धनुषा, सिरहा र सप्तरीसहितका चार जिल्लामा तराई समृद्धि कार्यक्रमअन्तर्गतको डिपबोरिङ जडानको संयोजन गर्दै आएको छ । बर्दिवास नगरक्षेत्रमा सिँचाइ सुविधा नभएर अपेक्षित उत्पादन लिन नसकेका किसान सरकारको यो अभियानबाट उत्साहित भएका छन् । शनिबार आफ्नो बस्तीमा डिपबोरिङ जडानको काम थालिएपछि हौसिएका बर्दिवास–८ हाथीलेटका किसान चेतबहादुर राना मगरले बोरिङ जडान सफल भए, आफ्नो ठाउँ कृषि फसलले हराभरा हुने भन्दै खुशी व्यक्त गरे “हामी खेतीपातीमा पानीकै अभावले पीडित थियौँ, अब हाम्रो जीवन फेरिने छ”, रानाले भने ।

बर्दिवास नगर क्षेत्रको कूल ३१५.५७ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ३८.४ प्रतिशतमात्र खेतीयोग्य जग्गा छ । यसमध्ये पनि १० प्रतिशत पुगनपुग जग्गामा मात्र कुलो÷नहरको सुविधा रहेको छ । आफ्नो नगर क्षेत्रको यो अवस्थाभित्र डिपबोरिङ सिँचाइ सुविधा विस्तारका लागि अत्यन्त प्रभावकारी हुने नगरप्रमुख कार्की बताउँछन् । “पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणका भू–भागमा डिपबोरिङ सफल हुने परीक्षणले देखाएको छ, यस भेगमा यो कार्यक्रम सघन बनाउन हामी लागिपरेका छौँ”, नगरप्रमुख कार्कीले भने ।

“राजमार्ग उत्तरका वडा नं ३, ४, ५, १० र ११ का पहाडी काछमा पनि डिपबोरिङ जडानका लागि जियोलोजिकल डाटा (भूमिको तल्लो सतहमा पानीको अवस्था परीक्षण गर्ने प्रणाली) गरेर सम्भावनाबारे अध्ययन गरी रहिएको कार्कीको भनाइ छ । यो काम भूमिगत जलसिँचाइ डिभिजन कार्यालय महोत्तरी जलेश्वरका विज्ञले गर्दै आएका छन् । पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण भेगको बर्दिवास–७ मा गत वर्ष एउटा डिपबोरिङ जडान सफल भएपछि यसपालि सातवटा प्रस्ताव स्वीकृत भएका हुन् ।

अब आउने आव २०७८÷७९ का लागि अहिलेदेखि नै थप जडानका लागि प्रयत्न थालिएको कार्कीले बताए । तराईमा अहिले सञ्चालन गरिएको डिपबोरिङले प्रतिसेकेण्ड ४० लिटर पानी दिने गरेको विज्ञ बताउँछन् । यो पानीको प्रवाह व्यवस्थित गरिँदा सैद्धान्तिकरूपमा एउटा बोरिङले ६० बिघा सिञ्चित हुने मान्यता राखिए पनि १०० बिघासम्म हुनसक्ने कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा (धनुषा) का इञ्जिनीयर साह बताउँछन् ।

भूमिको सतहभित्र १०० देखि १५० मिटरसम्म गहिरोमा पानीको राम्रो सतह भेटिने गरेको साहको भनाइ छ । अहिले यस्ता बोरिङ जडानमा मोटर व्यवस्थापनसहित एउटामा २५ लाखसम्म लागत देखिएको कार्यालयले जनाएको छ । सिँचाइ सुविधाकै अभावले महोत्तरीमा आम किसानले अपेक्षित उत्पादन लिन नसकेका अवस्था छ । डिपबोरिङ जडानको सफलताले खासगरी जिल्लाको उत्तरी क्षेत्रमा कृषि उत्पादनमा नयाँ क्रान्ति नै आउने आम किसानले आस सँगालेका छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ पुष २६, १४: ४०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ पुष २६, १४: ४०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ पुष २६, १४: ४०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...